वृक्षरोपण

वृक्षरोपण

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १९, २०७७

बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसर र आसपासमा वर–पीपल, स्वामी र रुद्राक्षलगायत गरी १०८ वृक्ष रोपिएको छ ।

धार्मिक महत्वका साथै पर्यावरणीय स्वच्छता बढाउन आइतबार वृक्षरोपण गरिएको सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । मन्दिर हुँदै पाण्डुकेशरी गुफा जोड्ने बाटोको सौन्दर्यीकरणका लागि धुपी, पारिजात, कल्की र कपुर पनि रोपिएको छ । वृक्षरोपण गर्दा मन्दिर परिसर र लाम्दारा सामुदायिक वन क्षेत्रलाई समेटिएको हो ।

'शिवालय मन्दिर र पाण्डुकेशरी गुफालाई जोडेर धार्मिक गन्तव्यस्थल बनाउने लक्ष्य लिएका छौँ', उहाँले भन्नुभयो  । वृक्षरोपणमा स्थानीय वन, कृषि, आमा समूह, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारण सहभागी भएका थिए । धार्मिक महत्व राख्ने वर–पीपलका बोट नासिँदै गएका बेला तिनको संरक्षणसमेत हुने विश्वास लिइएको छ ।

विसं १८१० मा निर्मित सिद्धेश्वर शिवालय मन्दिरको पुनःनिर्माणसहित बृहत्तर विकास योजना अगाडि सारिएको छ । संरक्षण अभावमा ऐतिहासिक मन्दिरको अस्तित्व नासिने स्थितिमा पुगेको थियो । वडाध्यक्ष टीकाबहादुर थापाले शिवालय मन्दिर, पाण्डुकेशरी गुफा र नाच्नेडाँडालाई समेटेर धार्मिक एवं सांस्कृतिक महत्वको स्थलका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

समितिले मन्दिरको दश वर्षे गुरुयोजना बनाएर काम थालेको छ । जीर्ण अवस्थामा पुगेको मन्दिरलाई पुरातात्विक कला, कौशल झल्कने गरी पुनःनिर्माण गरिने भएको छ । एक सय आठ शिवलिङ्गका मूर्ति प्रतिस्थापनको काम शुरु भएको छ । शिवलिङ्गसहित द्वादश, एकादश रुद्र, गणेश, हनुमान, नवग्रहकोसमेत गरी १३८ वटा मूर्ति राखिने जनाइएको छ ।

पवित्र कालीगण्डकी नदीका शिलाबाट बनेका शिवलिङ्ग प्रतिस्थापन गर्ने कार्य भइरहेको सर्वसिद्धी शिवलिङ्ग मण्डप निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष राज थापाले भन्नुभयो । मन्दिर पुनःनिर्माणको काम यही वर्षबाट शुरु हुने जनाइएको छ ।

झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदशी पर्वमा मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यस ठाउँमा बस्न थालेपछि शिवालय मन्दिर स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।