लागुऔषधसहित एक पक्राउ

लागुऔषधसहित एक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २०, २०७७

दार्चुला । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । 
 
पुल खुला भएका समयमा  भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुन  पुल सञ्चालनमा ल्याइएको थियो ।  पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीयवासीको पुलमा आवतजावत बढेको थियो । 

यसैबीच प्रहरीले  नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ । यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संलग्न रहेको अभियोग उहाँमाथि लगाइएको छ । यसअघि प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताप वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो ।