प्रेम, लोभ, डर र कर्मको कसीमा असल कि खराब छुट्ट्याउने चुनौती ?

प्रेम, लोभ,  डर र  कर्मको कसीमा  असल कि खराब  छुट्ट्याउने चुनौती ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  श्रावण २०, २०७७

प्राय गरी सबै मानिसलाई लाग्ने गर्दछ, भरसक खराब मानिससँग कुनै काम कुरो गर्न नपरे हुन्थ्यो । खराब मानिससँग सङ्गत नै गर्न नपरे हुन्थ्यो । यस्ता मानिससँग सधैँ टाढा रहने कोसिस हरेक मानिसले गर्ने गर्छन् । तर कहिलेकाहीँ परिस्थितिले नै यस्तो बनाउँछ कि ! खराब मानिससँग पनि सँगै काम गर्नु पर्ने स्थिति सिर्जना हुन सक्छ । को मानिस असल ? अनि को मानिस खराब ? सङ्गत र व्यवहार गरेपछि मात्र थाहा हुने कुरा हो । कसैका लागि राम्रो लाग्ने व्यक्ति अर्को कसैका लागि नराम्रो पनि लाग्न सक्छ । कसैलाई नराम्रो लाग्ने व्यक्ति कसैका लागि राम्रो पनि लाग्ने पनि हुन सक्छ । तर असल व्यक्ति छ कि छैन भन्ने कुरा व्यवहार गरेरै मात्र थाहा हुन्छ । 

मानिस असल छ कि अथवा कस्तो छ भन्ने कुरा हामी मानिसको बाहिरी रूप हेरेरै चिन्ने प्रयास गर्छौ । राम्रा लुगा लगाएका अनि मिठा कुरा गर्ने व्यक्तिलाई हामीले असल नै होला भनी अनुमान लगाउँछौँ । पहिरन र मिठा कुरा गरेकै भरमा मानिस असल र खराब भनेर छुट्ट्याउनु मूर्खतापूर्ण काम गर्ने गर्छौँ  । रुपैंया हुनेका लागि राम्रा लुगा किन्नु भनेको कुनै कठिन विषय हुँदैन । उसले सजिलै नयाँ नयाँ र फेसन अनुसारको लुगा खरिद गरेर राम्रा लुगा लगाउन सक्छ । मानिसमा अचम्मैको रूप फेर्न सक्ने क्षमता हुन्छ । चाह्यो भने र आफ्नो उद्देश्य परिपूर्ति गर्नु छ भने मानिस स्वार्थी पनि बन्न सक्छ । त्यसैले एक भेटमै मानिस असल हो कि खराब भनेर छुटाउन नै मुस्किल हुने गर्दछ । 

धेरै जसो आमाहरूलाई लाग्ने गर्छ, बुहारी घरमा भित्रिँदा असल बुहारी भित्रियोस् । बिहेको लागि केटी हेर्दा खेरी नै असल छन् कि कस्ती छिन् यही प्रश्न मै धेरै आमाहरू घोत्ली रहेको पाइन्छ ।  सायद ! असल र खराब गुणका विशेषता अनुसार मानिसमा ती गुणहरू पाइने भए र भोलि गएर परिवर्तन नहुने भए आमाहरूलाई यति धेरै यो प्रश्नमा घोत्ली रहनु पर्ने नै थिएन । मानिस स्वभावैले परिर्वतनशिल हुन्छन् । आज आफूलाई असल लागेको मानिस भोलिका दिनमा असल नलाग्न पनि सक्छ । त्यसैले मानिसको बाहिरी रूप हेरेर असल खराब छुटाउन मुस्किल पर्ने गर्छ । देख्दा नरम स्वभावकी हो कि ? लटरपटर बोली रहने हो कि ? लजालु हो कि ? सबैलाई टक्र्याउने स्वभावकी हो कि ? उनीसँग केही बेर कुराकानी गरेपछि हामी आकलन मात्र गर्न सक्छौँ । 

अरूका कुराले हामीहरू प्रायजसो निकै दुःखी हुने गर्छौ । फलानोले मलाई यसो भन्यो ! यस्तो व्यवहार गर्‍यो ? आदी कुराले हामीलाई अति नै दुःखी बनाइरहेको हुन्छ । हामी आफ्नो कुराले भन्दा अरूका कुराले बढी चिन्तित हुने गर्छौ । यसो गर्नु गलत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामीले दुःखी भइरहेका हुन्छौँ । परिवार भित्र होस् वा साथीभाइसँग । अरूले भनेका कुराहरूलाई लिएर हामी निकै दिन दुःखी र हाम्रो मन भित्रभित्रै भतभती पोलिरहेको हुन्छ ।

कोही व्यक्ति देख्दा त्यत्ति राम्रा देखिंदैनन । तर उसको राम्रो बानी ब्यहोराले उसलाई अप्सरा जत्तिकै राम्रो देखाउन मद्दत गरिरहेको हुन्छ । बानी राम्रो भएपछि सबैको प्रिय पात्र बन्न समय लाग्दैन । उसका केही कमजोरीलाई समेत यही राम्रो बानी व्यवहारले गर्दा मानिसहरू भुलिदिने गर्छन् । 

 अरूका कुराले हामीहरू प्रायजसो निकै दुःखी हुने गर्छौ । फलानोले मलाई यसो भन्यो ! यस्तो व्यवहार गर्‍यो ? आदी कुराले हामीलाई अति नै दुःखी बनाइरहेको हुन्छ । हामी आफ्नो कुराले भन्दा अरूका कुराले बढी चिन्तित हुने गर्छौ । यसो गर्नु गलत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामीले दुःखी भइरहेका हुन्छौँ । परिवार भित्र होस् वा साथीभाइसँग । अरूले भनेका कुराहरूलाई लिएर हामी निकै दिन दुःखी र हाम्रो मन भित्रभित्रै भतभती पोलिरहेको हुन्छ ।

सबैसँग मित्रवत् व्यवहार गर्ने र  मिठो बोल्ने मानिस निकै कम मात्रामा भेट्ने गरिन्छ । अरूले भनेका नराम्रा कुरालाई कसैले, विषयको रूप पनि धारण गर्न सक्छन् ।  कसैले आफूलाई गरेको दूर व्यवहार जिन्दगीभर बिर्सन नसक्ने खालका हुन्छन् । यही दूर व्यवहारलाई कसैले प्रतिशोधको रुपमा पनि लिने पनि गरेको पाइन्छ । त्यसैले व्यवहार राम्रो हुने व्यक्तिका मित्र धेरै हुन्छन् र शत्रु कम हुने गर्छ । मित्रवत् व्यवहार गर्नेलाई प्रायगरि सबैले मन पनि पराउने गर्दछन् ।

रूपको आधारमा अथवा मानिसको जीउ डाल हेरेर मानिस राम्रो छ कि छैन ? भनेर छुट्ट्याउने कोसिस गर्नु मूर्खता हो । रूप राम्रा देखिने मानिसमा अहङ्कार पनि बढी हुन सक्छ । त्यसो त मानिसले धेरै प्रगति यही अहम् कै कारणबाट गरेको दाबी गर्नेको पनि कमी छैन समाजमा । पख म तँलाई पढेर देखाउँछु, पख म तँलाई जागिर खाएर देखाउँछु । देखाउन र देखासिकीको लागि व्यायाम गर्ने गरिन्छ । देखाउनकै लागि योगा  गर्ने गरिन्छ ।  अहङ्कारले गर्दा नै उसले केही न केही काम गरेर देखाउँछ । तर अहङ्कार निर्देशित कर्म गर्दा आफूलाई सन्तुष्टि र खुसी भने मिलिरहेको हुँदैन । 

कोही मानिस बढी नै लोभ केन्द्रित हुने गर्छन् । केही पाउने आशामा उसले कर्म गरिरहेको हुन्छ । लोभ केन्द्रित मानिसहरू अरूलाई सहयोग गर्दा पनि मलाई के फाइदा हुन्छ ? भनेर सोच्ने गर्छन् । अर्को कर्म हो डरबाट निर्देशित । ओहो मैले काम गरिन भने समाजले के भन्छ ? बाबुको डरले जागिर खानेहरू धेरै हुन्छन् । कोही मानिसहरू प्रेम निर्देशित काम गरिरहेका हुन्छन् । मानिसलाई लोभ र डर देखाएर नै धेरैले काम गराइरहेका हुन्छन् । यसरी यहाँ मानिसले गर्ने कर्मलाई किन व्याख्या गर्न खोजिएको हो भने उसले गर्ने कर्मको आधारबाट नै मानिस स्वभाव कस्तो हो भनी छुटाउन मद्दत पुग्दछ । त्यसैले मानिसको व्यवहार नहेरी असल छ कि खराब भनेर छुट्ट्याउने काम त्यति सजिलो भने छैन ।