अगुवा कृषकलाई अभियानकर्मीको जिम्मेवारी

अगुवा कृषकलाई अभियानकर्मीको जिम्मेवारी

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २१, २०७७

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले कृषि पेशामा किसानको आकर्षण बढाउनका लागि अगुवा कृषकमार्फत अभियान चलाउने नीति लिएको हो । 

नगरक्षेत्रमा रहेका अगुवा कृषकको लगत तयार गरी उनीहरुलाई कृषि अभियन्ताको रुपमा परिचालन गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिका र कृषिका विभिन्न निकायबाट छनोट तथा पुरस्कृत भएका अगुवा कृषकलाई थप क्षमता विकासका कार्यक्रममा सहभागी गराएर अभियानमा खटाइने छ । 

कृषि पेशामा संलग्न व्यक्तिको समूह बनाई त्यसमा आबद्ध भएका कृषकलाई नगरपालिकाबाट खटाइने प्राविधिक कर्मचारी र नगरस्थित अगुवा कृषकबाट घुम्ती तालीम सञ्चालन गर्ने नीति रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । ।  

विगत लामो समयदेखि नगर, जिल्ला र प्रदेशकै उत्कृष्ट अगुवा कृषक भएर सम्मानित भए पनि कृषि अभियानका बारेमा पहिलो पटक जिम्मेवारी पाउने नीति बनेपछि आफूहरु थप उत्साहित भएको अगुवा कृषक जिराकुमारी मगरले बताउनुभयो । नीति कार्यान्वयनमा तदारुकदा देखाउन आवश्यक रहेको उहाँको भनाइ छ । रासायनिक मल र विषादीको प्रयोगलाई दुरुत्साहित गरी प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन तथा प्रयोगलाई प्रोत्साहित गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । 

यसैबीच नगरपालिकाले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने भएको छ । कृषकबाट उत्पादित हरियो तरकारीको बजारीकरणका लागि समर्थन मूल्य तोक्ने र उत्पादनस्थलबाटै खरिद गरी सदरमुकाम बजारलगायत नगरका मुख्य तथा सहायक बजारमा काउन्टर खोलेर बिक्री गर्न सहकारी संस्थाको छनौट गरी जिम्मेवारी दिइने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

'हाम्रो नगरको समृद्धिको एउटा महत्वपूर्ण क्षेत्र कृषि हो, धेरैजसो नागरबासी कृषिमा आबद्ध छन् । त्यसैले कृषिमार्फत किसानको समृद्धि खोजिरहेका छौँ', उहाँले भन्नुभयो, 'किसानलाई मल बीउसहित आर्थिक तथा प्राविधिक सहयोग मात्र होइन, किसानको उत्पादनलाई बजारीकरण गर्न पनि हामी सहकारीमार्फत काम गर्छौं ।' 

कृषिउपजको बजारीकरणका लागि छनोटमा परेका सहकारी संस्थालाई व्यवस्थापन अनुदानको रुपमा निश्चित रकम नगरपालिकाले उपलब्ध गराउने छ । सिद्धिचरण नगरपालिकाका सबै १२ वटै वडामा अन्नबाली तथा फलफूल उत्पादनको लागि सम्भावित क्षेत्रको किटान गरी उन्नत बीउ, बेर्ना, प्रविधि र मलको प्रयोगबाट ‘एक गाउँ एक कृषि उत्पादन’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कोरोना भाइरसका कारण रोजगारीको अवसर गुमाएर गाउँ घर फर्किएका र अन्य बेरोजगार युवालाई करार खेती, चाक्लाबन्दी र सामुदायिक खेती तथा युवा लक्षित पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रममा आबद्ध गराउने नगरपालिकाको नीति छ । यो कार्यक्रम सञ्चालनका लागि युवा स्वरोजगार घुम्ती कोषको स्थापना गरिने नगरपालिकाले जनाएको छ ।