सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए

सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७७

बुटवल । बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर आज भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो । 

सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन पटकपटक घरधनीलाई आग्रह गरिए पनि अटेर गरेपछि डोजर चलाउनु परेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।  उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो । सडक क्षेत्रका अधिकांश घर हटाए पनि केही घरधनीले अटेरी गर्दै आएका थिए ।

प्रवक्ता रेग्मीका अनुसार सडकको क्षेत्राधिकार मिचेका घर भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाइएको उहाँले बताउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालसहित सात जनाको घर आज  भत्काइएको हो । कालिका पथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना बनाएको छ । पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ । 

यो सडकको विस्तारका लागि प्रदेश नं ५ सरकारले बजेट व्यवस्था गर्नेछ । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदनमा यो सडक विस्तारको काम सम्पन्न हुन झण्डै रु एक अर्ब खर्च हुने उल्लेख छ । 

विसं २०५४ मै यो सडकलाई ८२ फुट ९२५ मिटर० कायम गरी विस्तारको योजना बनाइएको थियो । केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन । अहिले अधिकांश स्थानीयवासीको साथ पाएपछि मूल सडकजस्तै भित्री सडक पनि स्तरोन्नति गर्न लागिएको हो । 

सडक यो आर्थिक वर्षमै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । 'केही घरधनीले अटेर गर्दा सडक विस्तारको काममा अवरोध आएको थियो तर अब काम दु्रत गतिमा अघि बढ्छ', उपमहानगरपालिकाका प्रवक्ता रेग्मीले भन्नुभयो, ' भदौमा नाली सम्पन्न भई आगामी असारसम्म सडक विस्तारले पूर्णता पाउँछ ।'