हिलेजात्रा रोकियो

हिलेजात्रा रोकियो

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २२, २०७७

टिस्टुङ । नेवार समुदायको इतिहास बोकेको परम्परागत हिलेजात्रा मकवानपुरको थाहा नगरपालिकामा रोकिएको छ । गाईजात्राको पर्सिपल्ट थाहा नगरपालिकाको घट्टेचौरमा पालुङका चार गाउँका नेवार समुदायको झाँकी, प्रहसन, रोपाइँ र नाचसहित मनाइने हिलेजात्रा यो वर्षका लागि स्थगन भएको हो ।

यसअघि आजका दिन थाहा नगरपालिका–३ घट्टेचौरमा भव्यरूपमा हिलेजात्रा लाग्ने गर्दथ्यो । मल्लकालदेखिको उक्त जात्रा यसअघि कहिल्यै नरोकिएकामा यस वर्ष कोरोना भाइरसको जोखिमका कारण स्थगन गर्नुपरेको इन्द्रायणी–भगवती–कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताउनुभयो ।

हिलेजात्रा थाहा नगरपालिका–१ ओखरबजार, वडा नं २ पालुङ शहर र इन्द्रायणी बस्ती तथा वडा नं ३ गोपालीगाउँका नेवार समुदायले परम्परागत झाँकी, नाच र बाजासहित प्रदर्शन गर्ने गर्दछन् । गाउँगाउँबाट निकालिएको जात्राले घट्टेचौरमा पुगेपछि भव्य मेलाको रूप लिने गर्दछ । जात्रामा हजारौँ दर्शकका बीच खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखेनाच र धान रोपाइँको अभिनय र प्रहसन गरिन्छ । भीडभाड गर्दा कोरोनाको सङ्क्रमण हुनसक्ने भएकाले हिलेजात्रा रोकिए पनि नेवार समुदायले परम्परागतरूपमा देवीदेउताको पूजाआजा भने गरेका छन् ।–––