चार नेताकाे 'प्रतिरक्षात्मक' अरण्य रोदन र याचना :  लडाई  पदको होइन् !  तर व्यक्ति फेर्ने हाे  !!

चार नेताकाे 'प्रतिरक्षात्मक' अरण्य रोदन र याचना :  लडाई  पदको होइन् !  तर व्यक्ति फेर्ने हाे  !!

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवादले उग्र रूप लिएकै बेला बुधवार दिउसो चार नेताहरूले ५० भन्दा बढी पत्रकारको बिचमा अहिलेको लडाई पदीय भागबन्डाका लागि नभएको 'प्रतिरक्षात्मक' सन्देश दिने कोसिस गरे ।

पार्टी भित्रको आन्तरिक विवाद दिनप्रतिदिन बिग्रँदै गएको  बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अहिलेको विवादलाई पदीय लडाई भएको प्रचारबाजीको जेहाद् छेडेपछि  पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झालनाथ खनाल तथा नारायणकाजी श्रेष्ठले आफूहरू पदको लडाइँमा नलागेको भन्दै याचना  अर्थात् 'प्रतिरक्षात्मक' अनन्ये रोदन गर्नु पर्‍यो ।   उनीहरूले पार्टीको समाचार लेख्ने (बिट) पत्रकारलाई बोलाएर कसैलाई पनि अपशब्द प्रयोग नगरी आफ्ना धारणा राखे । उनीहरूको मुख्य सार भनेकै हामी पदीय लडाइमा छैनौ विधिमा पार्टी चलाउन खोजेका हौ भन्ने नै थियो ।

उनीहरूले ओली र ओली पक्षबाट निरन्तर पार्टीको आन्तरिक विवादलाई पदसँग जोडेको भन्दै असन्तुष्टि व्यक्त गर्ने ठाउँमा पुगेका थिए । तर ओलीमा सुधार नहुने भए पनि व्यक्ति फेरेर पार्टीको पद्धति र विधि जोगाउन लागि परेको भन्न पनि चारै जनाले छुटाएनन् । जती नै लडाई पदीय भागबन्डाका लागि नभएको भने पनि  'व्यक्ति फेरेर'  भन्ने कुराले समग्रमा भन्दा उनीहरूमा पनि पदीय आशक्ति र शक्ति दुवैको मोह झल्किन्थ्यो । तर पनि चार शीर्ष नेताहरूको एउटै स्वर थियो ‘हामीले पदको लडाई गरेको होइन, पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ पदलाई महत्त्व दिइएको छैन प्रवृत्तिका विरुद्ध सङ्घर्ष हो ।’

मूलतः पार्टीभित्र आफूहरूलाई पदको लडाइ हो भन्ने देखाइएको र त्यसले पार्टीको विधान विधिलाई मिच्ने काम भएको उनीहरूको भनाई थियो । कसैले पार्टी एकतालाई भर्‍याङ बनाएका होलान् तर हामीले  भर्‍याङ बनाएको छैन,पार्टी एकतालाई अझ सुदृढ बनाउने कुरामा लागेका छौ  यसका लागि  सबैले पार्टी निर्णय मान्नुपर्छ पार्टीभन्दा ठुलो व्यक्ति होइन । उनीहरूले भनिरहेका थिए । पार्टीका शक्तिशाली नेताहरू नै यसरी आफूलाई लाचार प्रस्तुत गरिरहेका थिए कि मानौँ उनीहरूको अब कुनै वैकल्पिक मार्ग नै बाँकी छैन ।

नेकपाभित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार सञ्चालन गर्ने भन्ने प्रश्न गहिरिँदै गएको छ । सचिवालय सदस्यहरू अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झालनाथ खनाल, नारायणकाजी श्रेष्ठ भने पार्टीले सरकार सञ्चालन गर्नुपर्ने अडानमा छन् । उनीहरूले राखेको अडानमा पार्टी स्थायी  कमिटी बैठकमा बहुमत सदस्यहरू समेत सहमत रहँदा रहँदै पनि अनन्ये रोदन गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

अध्यक्षले नै पार्टी निर्णय नमाने एकता बच्न धौ धौ हुने दाहालको भनाइ थियो । पार्टी एकता कमजोर बनाउन नै स्थायी कमिटी बैठक चलिरहँदा अर्का अध्यक्ष ओलीले नेकपा एमाले दर्ता गराउने पहल गरेकोमा पनि उनीहरूको गुनासो थियो ।  पार्टी एकतालाई जोगाउने कुरा गर्दै उनले राम्रो परिस्थिति निर्माण गर्न लागि परेको पार्टीभित्र राम्रो अवस्था आओस् भनेर नै पाँच वर्षसम्म ओलीलाई प्रधानमन्त्री दिन राजी भएको जस्ता विषयहरू जोडेर अध्यक्ष प्रचण्डले पदीय लडाई नभएको पुष्टि गरिरहेका थिए । ‘मैले एउटा केन्द्रीय कमिटी बैठक, दुई वटा स्थायी कमिटी बैठक र दुई वटा सचिवालय बैठकको अध्यक्षता गरे त्यति बेला सबै साथीहरूले आफूलाई चित्त बुझाउनु भने, बैठकबाट निस्कँदा हाँसी खुसी हुनुभयो त्यसपछि चाहिँ ओलीले आफूलाई तुरुन्तै आफू निकटकालाई बोलाएर ‘पोलिसी सिफ्ट’ गर्नुभयो जसले गर्दा बैठक नै बस्न सक्ने अवस्थामा पुगेन’, दाहालले भने ‘पछिल्लो पटक मैले ओलीजीसँग पटक पटक उठाएको विषय पनि यही हो कि किन 'पोलिसी सिफ्ट' गर्नुभयो जसले गर्दा बैठक बस्न सकिरहेको छैन ?’ । उनका अनुसार ओलीले नै पार्टीको छुट्टै भेला गरेर अराजकतातिर धकेलेका हुन् ।

पालैपालो अन्य नेताहरूले पनि आफ्ना धारणा राख्नेक्रममा यही कुरा दोहोर्‍याइएका थिए । माधव नेपालले भने आफूलाई केही नचाहिको बारेमा थप पुष्टि गर्ने भरमग्दुर प्रयत्न गरे । मलाई कुनै पद चाहिँदैन उनीहरूले 'अर्ली' महाधिवेशनपछि पार्टी अध्यक्ष बन्नुस्, तेस्रो अध्यक्ष बन्नुस् जस्ता प्रस्ताव आएका हुन म विधि र विधानलाई मान्छे भएकाले पार्टीभित्र सुधार गरौँ व्यक्तिवादी चरित्र र प्रवृत्तिको अन्त्य गरौँ भन्ने मानिस परे भन्दै आफूलाई पदीय भागबन्डामा सहभागी नगराउन पनि आग्रह गरे । वरिष्ठ नेताहरू  खनाल र नेपाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र पम्फा भुसालसमेत सहभागी भएको बिट रिपोर्टरहरूलाई पार्टीका चार नेताहरूले पालैपालो सम्बोधन गरेका थिए ।

वरिष्ठ नेता नेपालले पार्टीको विधान अनुसार ओलीले पार्टी सञ्चालन नगरेकोमा गुनासो गरेका थिए ।  नेपालले पार्टीको विधानलाई कागजमा मात्रै सीमित गरेको, महत्त्वपूर्ण विषयहरूमा छलफल नगरेको बैठक छलेको, बैठक सञ्चालन गरिरहेका बेला ओली  उठेर हिँडिदिने, विधान, पद्धति, विधि सबै मै हुँ भन्ने बाहेक उहाँसँग अर्को चिज देखिएन भन्दै अहंमता देखाएकोमा असन्तुष्टि थियो । नेपालले निरन्तर गुटगत राजनीति जारी राखेकोमा पनि उनको असन्तुष्टि थियो । ‘पार्टीलाई विधिबाट सञ्चालन गर्नुपर्छ भन्ने उहाँमा कुनै सोच देखिन विधिलाई कागज मात्रै देख्नुभयो, जनसङ्गठन, निकाय, विभागलाई पूर्णता दिन र एकताको कार्यभार पूरा गर्न नसकेको अवस्था छ,आफूखुसी, मनपरी ढङ्गले, अयोग्य र आफ्नो गुटका मानिसहरूलाई गोजीबाट फुत्त निकालेर नियुक्ति दिएको देखिन्छ, पार्टीभित्र योग्य मानिसको अभाव भएको देखाउन खोजिएकोमा उनको असन्तुष्टि देखिन्थ्यो ।

भलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि पार्टीभित्र प्रवृत्तिगत लडाइ रहेको दाबी गर्दै बाहिरिएका थिए । तर बालुवाटार पक्षले भने यसलाई गुट भेलाको नाम दिए । उनीहरूले नियोजित रूपमै यसलाई प्रचारबाजी गरिरहेको देखियो । प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापाले यसलाई १० वर्ष प्रचण्ड प्रधानमन्त्री हुँदाको बखत प्रचण्डलाई हटाउन गरिएको तत्कालीन माओवादीका नेताहरूसँग जोडेर पनि हेरेका छन् । समग्रमा बुधवारको बिट पत्रकारको भेलामा ओलीलाई गाली गर्ने भन्दा पनि ओलीको यस्ता यस्ता प्रवृत्ति रहे भनेर भ्रम तोड्नका लागि आयोजना गरिएको आभास दिइएको थियो । 

तर बुधवारको पत्रकार भेटघाटपछि ओली पक्षले भने वातावरण झन् बिगारेको भन्दै निहुँ खोज्ने अवसरका रुपमा उपयोग गर्ने प्रयत्न भइरहेको छ । भेला हुनासाथ  ओली विश्वास पात्र नेकपा स्थायी समिति सदस्य तथा प्रदेश न‌ं ५ का मुख्य मन्त्री (एक नेता एक जिम्मेवारीका  सशक्त विरोधी) श‌ंकर पोखरेलले समािजक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै ' पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो । पार्टी एकताको रक्षा गर्न नेताहरू पुनः संवाद र सहमतिमा फर्कनुको विकल्प छैन ।' उल्लेख गरेका छन् । एकतर्फ यसताे भनी समस्या समाधानमा गम्भीर रहेका देखाउने अर्को तर्फ उनीहरूले पत्रकारमाझ सो कुरा गरेको थाह पाएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच हुने भनिएको बुधवार साँझको छलफलसमेत स्थगित गरिदिए । आन्तरिक विवाद समाधानका लागि बुधवार साँझ हुने भनिएको  छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले समय अभाव भन्दै स्थगित गरिदिएका थिए । दुई अध्यक्ष र वरिष्ठ नेता झालनाथ खनाल र सुवास नेम्वाङ सहित विवाद निरूपणको लागि चार दिनदेखि लगातार छलफल भए पनि कुनै टुङ्गोमा पुगेको छैन । 

एकता प्रक्रियादेखि अहिलेसम्म आइपुग्दा ओली दाहालबिच सरकार सञ्चालन र पार्टी  सञ्चालनकै विवादमा कुरा मिल्न सकेको छैन । नेकपाभित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार सञ्चालन गर्ने भन्ने प्रश्न गहिरिँदै गएको छ । सचिवालय सदस्यहरू अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झालनाथ खनाल, नारायणकाजी श्रेष्ठ भने पार्टीले सरकार सञ्चालन गर्नुपर्ने अडानमा छन् । उनीहरूले राखेको अडानमा पार्टी स्थायी  कमिटी बैठकमा बहुमत सदस्यहरू समेत सहमत रहँदा रहँदै पनि अनन्ये रोदन गर्नुपर्ने अवस्थामा पुगेका छन् ।