पहिचान संरक्षणमा लगानी गरिँदै

पहिचान संरक्षणमा लगानी गरिँदै

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २३, २०७७

बागलुङ । बागलुङको गलकोट नगरपालिकाले आफ्नो क्षेत्र चिनाएका दुई ठाउँको संरक्षणको योजना बनाएको छ । चालू वर्ष नगरपालिकाले गलकोट चिनाउने थिरबम मल्लको पार्क र शालिक निर्माण गर्ने योजना तथा बजेट विनियोजन गरेको हो । 

शालिक निर्माण र पार्क कुन स्थानमा बनाउने भन्ने यकिन नभए पनि चालू वर्षका लागि रु सात लाख बजेट विनियोजन गरिएको हो । नगरपालिकाले उपयुक्त स्थानमा जग्गा छनोट गरेर मल्लको मूर्ति बनाउने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

विसं २००७ को आन्दोलनमा मल्लको मृत्यु भएको थियो । उहाँलाई प्रजातान्त्रिक आन्दोलनका शहीदका रुपमा चिनिने गरिएको छ । यसअघि बागलुङ नगरपालिका–१ को शहीद स्मृति पार्कमा चार शहीदसँगै थिरबमको अर्धकदको मूर्ति राखिएको छ । गलकोटमा शालिक निर्माण गर्दा पुरानो गलकोट राज्यको ऐतिहासिक बुझ्ने मौका मिल्ने भएकाले बजेट विनियोजन गरिएको उपप्रमुख रेणुका काउचाले बताउनुभयो । 

गलकोटलाई चिनाउने असला माछा पनि हो । गलकोटका असला माछाको पहिचान बनाउन राजमार्गसमेत रहेको हटिया बजारमा असला माछाको प्रतिमा बनाउने भएको हो । चालू वर्ष नै निर्माण थाल्ने योजनासहित  दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । पर्यटनको विकासका लागि माछाको प्रतिमाले पनि राम्रो सन्देश पुग्ने वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । गलकोको पर्यटन विकासका लागि योजना बनाउने क्रममा माछाको विषयले प्राथमिकता पाएको हो ।

गलकोटमा हालै सम्पन्न मूर्तिकला कार्यशालाबाट तयार बन्दै गरेको सङ्ग्रहालयको व्यवस्थापनमा पनि नगरपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । दश देशका १५ कलाकारले २१ दिन लगाएर बनाएको मूर्तिकलाले वडा नं ५ को टेउवामा पर्यटकीय गन्तव्य बनाएको छ । निर्माणकै क्रममा लकडाउनले असर गरेकाले चाहेर पनि धेरै मानिस रोकिएका छन् । नपाले पर्यटन गुरुयोजनासमेत बनाउने तयारी गरेको छ । तीन लाख रुपैयाँ विनियोजन गरेर गुरुयोजनाको कामसमेत थालिएकाले योजनानुसारका पर्यटन विकासका कार्यक्रम सञ्चालन गर्नेसमेत काउचाले जानकारी दिनुभयो ।