पाउँदी मोटरेवल पुल सम्पन्न

पाउँदी मोटरेवल पुल सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २३, २०७७

लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने पाउँदी मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ र तनहुँको भानु नगरपालिका–११ मानेचौका जोड्ने मोटरेबल पुलको निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । 

कार्यालयका अनुसार सपना निर्माण सेवा कम्पनीले १८६ दशमलव आठ सेन्टिमिटर लम्बाइ र ११ मिटर चौडाइ लामो उक्त पुलको निर्माण सम्पन्न गरेको हो । सो कम्पनीले करिब तीन वर्षभित्रै निर्माण सक्ने गरी उक्त कार्यालयसँग विसं २०७४ असार १८ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार गत पुस मसान्तभित्र पुलको निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गर्दै यही साउन मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । २० करोड ९७ लाख रुपैयाँ को लागतमा निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर नारायण पौडेलले बताउनुभयो । 

कम्पनीले निर्माण जिम्मा लिएर फम बिछ्याउने, पुलको जग हाल्ने, दुवैतर्फमा एक÷एक वटा पिलर, बीचमा चार वटा पिलर, स्टिक्चर, वर्डर, ग्याविन जालीलगायतका काम लकडाउन अघि सम्पन्न गरे पनि पुलमाथि ढलान गर्ने कार्य केही दिन अघि मात्र सम्पन्न गरेको हो । 

नाउँदी र पाउँदी खोला मिसिएको उक्त स्थानमा मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन आवतजावत रोकिँदै आएको थियो । पुल सम्पन्न भएपछि यतिबेला दुई जिल्लाबीच सहज आवतजावत हुन थालेको छ । यसअघि सो स्थान नजिकै रहेको झोलुङ्गे पुलबाट मान्छे र मोटरसाइकल आवतजावत गर्ने गरेका थिए । अन्य सवारी साधन भने हिउँदको बेलामा खोलाबाटै गुड्दै आएका थिए ।