प्रम ओलीबाट श्रीलङ्काली प्रम राजपाक्षलाई बधाई
श्रावण २३, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन गरेर बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै देशका प्रधानमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गर्दै भावी दिनमा त्यसलाई अझ सुदृढ बनाउने इच्छा दोहोर्‍याउनुभएको थियो ।  टेलिफोन वार्ताका क्रममा उहाँहरुले कोभिड–१९ विरुद्धका राष्ट्रिय अनुभव र दुवै देशका सरकारले त्यसका कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न गरेका प्रयास र अनुभव आदानप्रदान गर्नुभएको थियो ।  

परिस्थिति सामान्य बनेपछि उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने अभिलाषा पनि प्रधानमन्त्रीद्वयले व्यक्त गर्नुभएको थियो । भूकम्पपछि दुई सांस्कृतिकस्थलको पुनःनिर्माणका निम्ति सहयोग गरेकामा श्रीलङ्का सरकारप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको थियो ।