मुक्तिनाथ जस्तै त्रिलोकनाथ जहाँ शिव र बुद्ध एउटै मन्दिरमा विराजमान छन्
श्रावण २३, २०७७

४ बजे राघव स्कुलबाट फर्किए, उनको उधारो खाने पसलमा गएर चिया खायौं दुबै जनाले । बिस्तारै मेरो बसको समय हुन लाग्यो, दुबै जना बस स्टैण्डतिर हिड्यौं । बस छुट्ने बेलामा राघवको एउटै भनाई थियो, ‘मित्र फर्किने बेला नभेटी नजानु होला’ ।

मलाई रात्रि बसमा हिँड्ने पर्याप्त अनुभव थियो र रातभरिको यात्राले मलाई थकान पनि हुन्थ्यो । तातो लुगाको नाममा मसँग जम्मा एउटा 'समर ज्याकेट'  र एक जोडी मोजा थियो । यो ज्याकेट पनि हालिनाको थियो । नासिकको  महाकुम्भ प्रवासको अवधिमा मलाई ज्वरो आउँदा उनले आफ्नो ज्याकेट मलाई दिएकी थिइन । जुन मेरै ब्यागमा रहन गएको थियो।

बिहान ६ बजेतिर बस उदयपुरको स्टैण्डमा पुग्यो । तर मेरो यात्रा अझै बाँकी थियो । मैले त्रिलोकनाथ मन्दिरसम्म पुग्नुपर्ने थियो । कन्डक्टरले यहाँ एक-डेढ  घण्टाको विश्राम पछि मात्रै त्रिलोकनाथ जाने भने । मैले यस समयको सदुपयोग ‘फ्रेस’ हुनलाई गरे । चिसोको अनुभूति भयो । ब्यागबाट ज्याकेट झिकेर लाएँ । झन्डै ९  बजेतिर त्रिलोकनाथ पुगियो ।

हिमाचल प्रदेशको लाहौल  स्पीती  घाटीको प्रसिद्ध धार्मिक स्थल त्रिलोकनाथ चन्द्रभागा  नदीको (अगाडि गएर यो नै प्रसिद्ध चेनाब  नदी कहलिन्छ)  किनारमा अवस्थित छ । यो पुरा घाटी नै ६-७ महिना शेष भारतसँग सम्पर्कविहीन रहन्छ । अक्टोबरमा हिउँ पर्न थालेपछि मई महिनासम्म सड्क मार्गबाट यहाँ पुग्ने सुगमता हुन्न।

मुक्तिनाथमा भगवान् नारायण र बुद्धको संयुक्त पूजाआजा गर्ने परम्परा रहे जस्तै त्रिलोकनाथ मन्दिरमा भगवान् शिव र बुद्धको संयुक्त पूजा गरिन्छ । हिन्दु र बौद्ध दुबै परम्परामा यस मन्दिरको विशेष महत्त्व छ । यस मन्दिरको इतिहास झन्डै एक हजार वर्ष पुरानो छ ।

मन्दिर दर्शन उप्रान्त मैले  मान भारतीको खोजी गरे, थाहा भयो यहाँ भएका सन्न्यासी २ दिन पहिला नै बिदाबारी  भएर गए ।

मैले भुंतरमा रवि गिरीको कुटियामा आफूसँग घटेको प्रसंग राघवलाइ भनेको थिइन ।  राघव अझै मेरा मित्र छन, बेला मौका मलाई भेट्न काठमांडो आई राख्छन। उनलाई आजसम्म पनि भुंतरको नारायण  प्रसंगबारे थाहा छैन। हो, हालीनालाइ मैले 'मेल' मा यस प्रसंगबारे जानकारी दिएको थिए। हालीना बाहेक आजसम्म यो प्रसंग कसैलाइ भनेको थिइन।

त्रिलोकनाथ एकदमै सानो बस्ती थियो, त्यहाँ बस्ने खाने कुनै उपाय थिएन । सौभाग्यले उदयपुर फर्किने उपाय भेटे, एउटा स्थानीय  बाइकले  उदयपुर जाँदै थिए । उदयपुर पुगेपछि  कुल्लु र मनाली  जाने बस भोलि बिहान मात्रै उपलब्ध हुने थाहा भयो र दुखद कुरा त्यहाँ पनि कुनै ‘लज’ नभएको थाहा पाए । के गर्ने होला ?

‘आप केलांग चले  जाए, वहाँ रहने के लिए होटेल मिल जाएगा । और शाम को बस भी  मिल सकती है’  चिया पसलेले सुझाव दिए । एउटा ट्रकमा चढी ३ बजेतिर केलागं पुगेँ ।

यो अपेक्षाकृत ठुलो बस्ती थियो । मनालीदेखि लेह र लद्दाख जाने  बाटोमा पर्ने सबैभन्दा ठुलो बस्ती । ३  हजार मिटरभन्दा अग्लो केलागंमा झनै चिसो थियो । ३-४ बजे यत्तिको चिसो छ भने, राती त ज़ीरो  नै पुग्ला ।यसै विचारमा मग्न थिए कि नेपाली बोलेको सुने।  ५-७ जनाको ग्रुप नेपालीमा बोल्दै हिडीँरहेका थियो  । 'यहाँ बस्नलाई सस्तो होटेल कहाँ पाईन्छ?'  मैले नेपालीमा सोधे।

‘कहाँबाट आउनु भएको तपाईँ ’? उमेरले  ५० नाघेको एक जना व्यक्तिले सोधे ।

' म काठमाडौँबाट घुम्दै आएको हो' ।

'ऐ, हामी त यहाँ काम गरेर बस्छौँ बाबु ! हाम्रो ४०-५० जनाको ग्रुप छ । तपाईँलाई मन पर्छ भने हामीसँगै बस्दा पनि हुन्छ' ।
 
'के हो, नारायण त नेपाली बनेर आई पुग्नु भयो ! आफ्नो भाग्य र नारायण कृपा अझै जाँच्नु पर्‍यो  भनेर मनमनै विचार गरे।   मैले भने - राति मेरो एकान्तमा साधना हुन्छ त्यसैले म लजमै बस्छ',बरु तपाईंहरुसँग एक कप चिया खाँउ न’ ।

हाम्रो अहोभाग्य, परदेशमा आफ्नो बंघु बान्धव त्यो पनि सन्यासीसँग भेट हुनु र केही सेवा गर्न पाउनुु !  नेपाली ग्रुपसङ गफ गर्दै चिया खाए पछि  बूढाले  देखाएको बाटोतिर म  लज खोजीमा हिँडे ।

 'यहाँ कोही होटेल  किधर मिलेगा ' ? एक जनाले सोधे ।

 म पनि होटेल  कै खोजीमा गई रहेको छु । यस बाटोमा अगाडि २-३ होटेल र लज  छन्  रे ।

उनी पनि म सँगसँगै हिँड्न थाले । ‘तपाईँ एक्लै हो भने हामीले एउटा कोठा लिँदा हुन्छ , म पनि एक्लै छु ।

‘हुन्छ, यसो गर्दा पनि हुन्छ’ मैले भने ।

तीन सय रुपैयाँमा 'डबल बेड'को कोठा पाइयो । उनले अग्रिम  'पेमेन्ट' गरे ,मैले दिन खोज्दा उनले मानेनन् ।

कोठामा पुगेर उनले भने-तपाईँ ‘माइन्ड’ त गर्नु हुन्न,  मलाई त चिसोले एक दुई प्याग  लिऊँ लिऊँ जस्तो भइरहेको छ ।

 यसमा किन ‘माइन्ड’ गर्नु ? तपाईँले लिँदा हुन्छ ।

उनले आफ्नो ब्यागबाट एक फुल बोतल झिकेर टेबलमा राख्दै भने, म काउन्टरमा गएर केही खाने कुरा र गिलास  लिएर आउँछु  । केही बेरमा उनी एक जग तातो पानी दुई वटा गिलास  र 'स्नैक्स' लिएर आई पुगे ।

आजको हाम्रो यस अभूतपूर्व भेटलाई यादगार बनाउन तपाईँले पनि साथ दिनुपर्छ भन्दै उनले दुबै गिलासमा रक्सी हाले ।

मैले ६ महिना अघि फर्फिङ्गको रालो रिम्पोछे गुम्बाको 'गेस्ट हाउस' मा दुई महिना लामो उपवास साधना उप्रान्त बियर खाएर ‘सेलिब्रेट’ गरेको थिएँ । त्यसपछि चुरोट बाहेक अन्य कुनै नशालु पदार्थ सेवन गरेको थिइन । म खाँउ कि खान्न भनेर ढोङ गरौँ भन्ने दोधार एक पटक त भयो, तर दुई दिनदेखि आफूसँग घटी रहेको  घटनाक्रम सम्झेर मैले प्रकृतिको लीलासँग बग्ने निधो गरे । प्रकृतिले जे घटित गराई रहेको छ त्यसमा लयभंगता गर्ने अपराध म किन गरौँ ? यी मानिसमा पनि त नारायण नै उपस्थित  भएर सबै लीला  गरिरहेका छन् । 'ओम नमो भगवते वासुदेवाय' मनमनै सम्झेर मैले रक्सीको गिलास उठाए ।

नारायण नै भेटिए पछि भोजनको अभाव हुने कुरै भएन । उनले गिलास  लिन जाँदा नै खाना अर्डर गरेर आएका थिए ।

बिहान उनीसँग बिदाबारी  भएर म मनाली जाने बस चढेँ । रोहतांग पास आई पुग्दा मलाई कुनै अज्ञात भावले प्रेरित गर्‍यो । म ४ हजार मिटर अग्लो रोहतांग पासमै  बसबाट ओर्ले  ।

ओर्लिन साथ चिसोले मुटु काम्यो, हत्त न पत्त त्यहाँ रहेका टहरा मध्ये  एउटा टहरामा पसे । चिया पसले दयालु थियो । उसले बलीरहेको स्टोभमा राखेको भाँडा झिकेर मतिर तेर्साई दियो । हात खुट्टा तताएर मैले ब्याग खोली मोजा झिकेर भिरे ।

'चिया खानु हुन्छ'  पसलले सोधे ?

‘खान्छुु।'

 उनले मेरै अगाडि  रहेको स्टोभमा चिया पकाउन थाले।

गजबको मौसम हुँदो  रहेछ रोहतांग  पासमा । टलक्क घाम लागेको हुन्छ, तुरुन्तै बाक्लो कुहिरो मडारिएर साँझ परेकै भान हुन्छ । भेडेटारको सम्झना आयो, भेडेटारमा पनि घाम छायाँको लुकामारी चली रहन्छ । तर भेडेटारको 'हाइट' बढी न भएकोले त्यति चिसो भइ हाल्दैन।

 व्यास नदीको मुहान रोहतांग  पासमै छ । वास्तवमा यो डाँडा उत्तरतिर चन्द्रा नदीले र दक्षिणतिर व्यास नदीको मध्यमा अवस्थित विशाल शिलाखण्ड झैं रहेको छ । ७ महीना पुरै हिउँले सेताम्मे रहने यो डाँडा नै कुल्लु भ्याली र लाहौल स्पिती भ्याली जोड्ने माध्यम हो । भनाईको अर्थ उदयपुर, केलागं र सम्पूर्ण लाहौल स्पिती भ्याली ७ महिना शेष भारतसँग सम्पर्कविहीन अवस्थामा रहन्छ ।

चिया खाएपछि व्यास नदीको मुहान हेर्न गए । यो के यति सानो मुहान, यति थोरै पानी ! तर यही नदी भुुन्तरमा कति विशाल थियो ?

मैले गंगा बाहेक मुहानमै पुगेर हेरेको नदी व्यास, नर्मदा , बाग्मती सबै नै मुहानमा अति साना रहेको पाएँ । पत्याउनै गाह्रो ! समतलमा बगीरहेको दीर्घकाय नदी जन्मस्थलमा यत्तिको लघु ! बडो गजबको जीवन रहस्य र जीवन दर्शन छैनन् र नदी हाम्रा लागि ? उद्गम स्थलमा जति साना भए पनि आफ्नो नाम र परिचयले चिनिदै  अघि बढ्दै क्रमशः  आकारमा बढ्दै जाने  तर यसरी  विशाल हुने क्रममा अन्ततः विशालतम भई आफ्नो परिचय गुमाउन पुग्छन्, सागर कहलिन पुग्छन् ।

फेरी त्यै टहरामा आई  चिया खाए । पैसा तिरेपछि आफुसँग रहेको पैसा गने, पुग नपुग तीन सय बाँकी थियो । अब यहाँबाट बस चढेर कुल्लु गए भने भोली चुरोट खाने पैसा हुँदैन भन्ने ब्रह्मज्ञान भयो मलाई  ।

पसलेसँग सोधे, मनाली कति टाढा छ यहाँबाट ?

 ‘झण्डै ५० किमी’ उसले भन्यो ।

मैले अब आफ्नो यात्रा हिडेर गर्ने निधो गरे । पिठ्युमा ब्याग बोकी म मनालीतिर हिडे । दिउँसोको एक-दुई बीचको समय थियो । बाटोमा ढलान मात्रै छ, हिड्न गाह्रो छैन । घण्टामा ६ किलोमिटर हिडे पनि झण्डै आठ घण्टामा (९ बजेसम्म) मनाली पुगिन्छ । बीच बाटोमै कही सित्तैमा सुत्ने ठाँउ पाईयो भने झनै राम्रो । नारायणले बाटोमा अथवा मनालीमा केही न केही व्यवस्था त गर्नु नै हुन्छ होला ।

३०-४० मिनेट हिडे पछि पछाडिबाट हर्नको ठूलो आवाज आयो । म रोडको झनै छेउबाट हिड्न थाले । मालवाहक ट्रक रहेछ, मलाई 'क्रस' गरी केही पर गएर ट्रक रोकियो। ड्राइभरले झ्यालबाट आधी जिउ बाहिर निकाल्दै हातले इशारा गर्दै सोधे ‘कता’ ?

मैले पनि हातकै इशाराले मनालीतिर जबाफ दिए । केही मिनेटमै म ट्रकको छेउ पुगे । ड्राइभरले हातको इशाराले ट्रकमा बस्न भने ।

‘कहाँसम्म जानु हुन्छ’?

‘म कुल्लुसम्म जान्छु’ ।

ठीक  छ, म मंडीसम्म जान्छु। तपाईंलाई कुल्लुमा ओराली दिउँला  । बाटोमा उनले नै चिया-चुरोट ख्वाए   । मैले मनमनै सोचे,  हे प्रभू मेरा लागि तपाईंले ड्राइभर बनी आउनु पर्यो ! कता कता आफ्नो मूर्खतामा ग्लानि भयो । कुनै  शक्ति तपाईको मद्द गर्दैछ भने तपाई जानी जानी खतरा मोलेर उसलाई बारम्बार आफ्नो सहायतार्थ उपस्थित हुन बाध्य बनाउन अधिकार राख्नु हुन्न। योगानंद लिखित पुस्तकको समझना आयो।  लाहिड़ी महाशयले पनि प्रदर्शन गर्न अवतार बाबालाइ बोलाएका थिए। तर, आए पछि अवतार बाबाले रिसाउदै भने -तिम्रा लागि मलाई बोलाउनु खेल भयो ? अब तिमीले बोलाउँदैमा म आउदिन ,जुन बेला मलाई आवश्यक लाग्छ त्यही बेला मात्रै आउँछु।
 
कुल्लु पुग्नुभन्दा पहिला त्यै बिजुली महादेव जाने पुलको छेउमा नपुग्दै  ट्रकको चक्का पन्चर भयो । ड्राइभरले भने-मलाई चक्का फेर्न समय लाग्छ, ढीलो हुन्छ।  अँध्यारो हुन लागि सक्यो । तपाईं अब हिडेरै २०-२५ मिनेटमा कुल्लु पुग्नुहुन्छ,तपाई जादाँ हुन्छ  । म उनलाई धन्यवाद भनी ट्रकबाट ओर्लिएर कुल्लुतिर हिड्न थाले ।

२ मिनेटमै रोडको छेवैमा रहेको पहाडमा १५-२० मीटर  माथि त्रिपाल लाएर केही जोगीहरु बसेको हेरें । आफ्नो बुद्धिले होइन, कुनै अज्ञात भावले वशीभूत भइ म त्रिपालतिर उकालो चढ़न  थाले । कुल्लुमा राघवको कोठामा मेरो बस्ने खाने प्रवन्ध थियो । म जोगीहरु बसेको त्रिपालतिर किन लागे ? मसँग यसको जबाफ त्यो बेला पनि थिएन, झण्डै १७ वर्ष पछि आजका दिनसम्म पनि  छैन ।

त्रिपाल बाहिरपट्टि नै मान भारती चिलिम तानी रहेका थिए । मलाई हेर्न साथ अक्क न वक्क भएर सोझै अंगालो हाले, ‘अरे गुरुभाई आप यहाँ ! ’

 मैले उनको खोजीमा भुन्तरदेखि उदयपुर सम्मको यात्रा वृतांत  भने । मान भारतीले त्यही बस्न आग्रह गरे, तर म उनलाई भोलि भेट्न आउने भनेर राघवको कोठातिर लागे ।

म हालिनालाई मान भारती भेटिएको खबर गर्न अति नै आतुर  थिए । राघवको कोठा नपुग्दै  पहिला  कुल्लु बजारमा  एउटा 'साईबर क्याफे' भित्र पसे ।

हालिनाको ‘मेल’ थियो , 'आइ विकम क्रेजी हियर विद आउट यू ! सो प्लीज फरगेट अल एण्ड कम ब्याक सुन' ।

मैले प्रत्युत्तरमा भुन्तरदेखि उदयपुर हुँदै रोहतांग पास र मानभारतीलाई भेटेको घटना विवरण लेखे । आफु अहिले कुल्लुमा रहेको र आफुसँग काठमाडौँ आउने पैसा नभएको स्पष्ट गरे । साथै मानभारती भेटीएपछि  अब मेरो चिन्ता नलिन पनि उल्लेख गरे ।

 मलाई फर्केर आएको हेरेर राघव अति प्रसन्न भए र फर्केर आउँदा कुल्लुमै मान भारती भेट भएको सुनेर उनको प्रतिक्रिया थियो- तपाईंलाई ‘डिभाइन एनर्जी’ ले डोर्‍याई रहेको छ । अन्यथा मनालीसम्मको टिकिट हुँदा र आँफुसँग पैसाको अभाव हुँदा रोहतांग  पासमा ओर्लिने कल्पना पनि गर्न सकिन्न । रोहतांग  पासबाट पैदल मनालीतिर नहिडेको भए, ट्रक ड्राइभर भेटिने थिएन र ट्रकको  टायर पन्चर हुने महासंयोग पनि मान भारती  भएको १० मीटर वर !  मलाई यो सब सपना जस्तै, कुनै काल्पनिक उपन्यासको कथा जस्तै लागि रहेको छ ।

तर राघव सपना भने पनि काल्पनिक कथानक भने पनि यो मेरो बीतेका ४८-५० घण्टाको भोगाई हो ।

निश्चय पनि अरुका लागि यो कथा, कल्पना, सपना जे भए पनि यो तपाईको आफ्नो भोगाई हो।  ' बट आई डिडन्ट अंडरस्टैंड हाउ यु हयाभ दिस  मच करेज' ? केलांगमा नेपाली ग्रुपले आफुसँग बस्ने प्रस्ताव दिदा पनि तपाई कसरी अस्वीकार गरी अगाडि बढ्नु भयो ? तपाईको सट्टा म भएको भए नेपाली ग्रुपसँगै बस्ने थि‌ंए। ३ हज़ार मीटर अग्लो चिसो ठाउँमा, खल्तीमा पैसाको अभाव हुँदा कोही पनि पाएको अवसरलाई त्यागेर अगाडि बढ़न सक्छ ?

मैले भुंतरमा रवि गिरीको कुटियामा आफूसँग घटेको प्रसंग राघवलाइ भनेको थिइन ।  राघव अझै मेरा मित्र छन, बेला मौका मलाई भेट्न काठमांडो आई राख्छन। उनलाई आजसम्म पनि भुंतरको नारायण  प्रसंगबारे थाहा छैन। हो, हालीनालाइ मैले 'मेल' मा यस प्रसंगबारे जानकारी दिएको थिए। हालीना बाहेक आजसम्म यो प्रसंग कसैलाइ भनेको थिइन।

मैले हाँस्दै  राघवलाइ भने- यार त्यों मानिस मेरा लागि रक्सीको बोतल ब्यागमा हालेर हिडीरहेको थियो, मैले नेपाली ग्रुपको प्रस्ताव स्वीकार गरेको भए 'व्हिस्कीब्रह्मुसँग मेरो साक्षात्कार कसरी हुन्थ्यो ? 'जीवन में कुछ पाने के लिए कुछ न कुछ तो छोड़ना ही पड़ता है '।

उनलाई के थाहा, मैले आफ्ना लागि 'लक्ष्मी स्वरूपा' हालीनालाइ दिल्लीमा कुन र कस्तो अवस्थामा छाडेर आफ्नो बाटो रोजेको थिए।

अनि   रोहतांग पासमा बिनसित्ति ओर्लिनुको के कारण थियो नि ! राघवले कटाक्ष गर्दै सोधे ?

'यार जीवन में कभी कभी कुछ काम बगैर सोचे, बिना किसी कारण भी कर लेने चाहिए।  रोहतांग पास में उतरना ऐसा ही समझ लो '।
 
'इसे ही इंट्यूशन कहते है मित्र !

अहा, उनको यस भनाइले मलाई दक्षिणकाली मंदिर मास्तिरको आमा मन्दिरमा घटेको छर्लङ्ग भयो...

 निरन्तर

याे पनि 

हर्मन हेस लिखित  कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा

न कमला न कामास्वामी न वासुदेव , कलियुगको सिद्धार्थलाई सोझै नारायणदर्शन !

 


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।