पुस्तैनी लाहुरेका सन्तान पिएचडी प्राध्यापक

पुस्तैनी लाहुरेका सन्तान पिएचडी प्राध्यापक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण २४, २०७७

खोटाङको माझ किराँतको राई ।  त्यो पनि लाहुरे परिवारको । अझै तीन पुस्ते लाहुरेको पेन्सन थाप्दै हुनुहुन्छ । उहाँका बाजे प्रथम विश्वयुद्धको सेनानी । हवल्दार । बखतलाल राई । बहादूरी लिएर फर्केको । ब्रिटिश इष्ट इण्डिया कम्पनीको । 

बाजे २००७ सालमा बित्नु भयो । तर, पेन्सन अझै निरन्तर छ । त्यो रहेछ तीन पुस्ते पेन्सन । लाहुरेको तीन पुस्ते पेन्सन थाप्ने प्राध्यापक । लाहुरेकाे सन्तान मानव शास्त्रमा  पिएचडी  अर्थात  प्रा.डा. विष्णु राई ।

बाल्यकाल 

खोटाङ जिल्ला स्थित चिप्रिङ हालको खोटेहाङ गाउँपालिका । जन्म २०१३ साल । तर, हेडसरले बनाइदिनु भयो २०१२ साल कार्तिक १९ । एसएलसीको फर्म भर्दा । धनीपूर्जा देखि नागरिकतामा ०१२ साल नै कायम रहयो । 

तीन भाई । दुई दिदी बहिनी । पाँच मध्य उहाँ जेठो सन्तान । ०१७ सालमा खुलेको गाउँको सप्तकन्या प्राविमा उहाँले अक्षर चिन्ने काम भयो । 

माध्यामिक शिक्षाका लागि घरबाट तीनघण्टा हिंडेर जानुपर्ने । त्यसकारण कोठा लिएर उतै बस्नुभएको थियो उहाँ । शनिबार भयो कि दाजुहरुसँग माछा मार्न पौडी खेल्न ‘खी’ खोलामा । खी खोलाको ढुंगाले खुट्टामा काटेको डोब देखाउँदै उहाँले आफ्नो बचपनको स्मरण गर्नुभयो । 

माध्यामिक शिक्षा भगवती मावि खोटाङबजारमा । त्यहींबाट स्कूले जीवन टुंग्याउनु भएको हो उहाँले । २०२८ सालमा । एसएलसी पास गरेर । 

त्यसपछि उहाँको यात्रा मोडियो झापातर्फ । आइए पढ्नका लागि । ०३४ सालमा पूरा गर्नुभएको हो आइए उहाँले । 

अब बिएका लागि सोझै काठमाडौं । त्रिचन्द्र कलेजमा । ०३५ सालमा । 

केही समय उहाँ रमिते नै भएर बस्नुभयो । त्यसबेलाका काँग्रेस एमालेको ‘राप ताप  केहीले पनि छोएन उहाँलाई । एक पटकको घटना हो गाउँमा काँग्रेसले आमसभा गर्न नपाएपछि त्यसो गर्नु हुन्न भनेर उहाँले आफ्नो घरको माइक दिएर आमसभा गर्न लगाउनुभयो । आखिर प्रजातन्त्रमा सबैले आफ्नो हक अधिकार बराबरी उपयोग गर्न पाउनुपर्छ भन्ने उहाँको सोच थियो । 

पहिलो काठमाडौं यात्रा 

उहाँको पहिलो काठमाडौं यात्रा भने ०३२ सालमा । गायन प्रतियोगिताका लागि । उहाँ काठमाडौं आउनुभएको थियो । रेडियो नेपालमा । जन्मका हिसावले सगरमाथाको भएपनि मेची अञ्चलको प्रतिनिधित्व गर्दै । आधुनिक गीतका लागि । 

चार दिन लगाएर काठमाडौं आउनुपर्ने थियो त्यसबखत । त्यसबखत कमला नदीमा पुल थिएन । उताको गाडी उतै । नदी पारी आएर फेरि अर्को गाडी चढेर आउनुु पर्दथ्यो । 

त्यसपछि फेरि पथलैयामा बास बस्नुपर्ने थियो । फेरि गाडी आएर टिस्टुङ पालुङमा बास बस्थ्यो । चौथो दिन अहिलेको दशरथ रंगशाला अगाडी आएर गाडी रोकिन्थ्यो । यसरी चौथो दिनमा बल्ल बल्ल काठमाडौं आइपुगिन्थ्यो । त्यसबेलको काठमाडौंको यात्रामा हराउनु भयो उहाँ । 

अहिलेको आँखा अस्पतालको आडैमा एउटा गेष्ट हाउस थियो । कोठामा ४ वटा बेड हुन्थ्यो । एकरात बास बसेको ५ रुपैयाँ । उहाँको काठमाडौं बसाइ यस्तो रह्यो । खाना भने खानुभएन । उस्तै साथीभाई भेट भएका कारण समोसा र यस्तै खानेकुराले भरियो पेट । रेडियो नेपालको कौतुहलले बित्यो त्यो रात । 

रेडियो नेपालको यात्रा

सातै बजे निद्राले छोड्यो, उहाँ सम्झनुहुन्छ । रेडियो नेपाल भनेको कहाँ छ भनेर निस्कनु भयो उहाँ । सडकमा मान्छे नै देखिंदैन थियो । साइकलमात्र चल्थे । कसैले घुम्दै थापाथली आउनु भन्यो । त्यहाँबाट सिधै हिंडेर गएपछि सिंहदरबार पुगिन्छ भने । गेटमा राइफल बोकेको मान्छे हुन्छ भनेर पनि भनेका थिए । 

पुग्न त पुगियो । तर, बोल्नै सकिएन ! कसरी पस्ने होला ? समस्या पर्‍यो । सातै बजे पुगेको मान्छे साँढे नौ बजेसम्म सिंहदरबार बाहिर हेर्दैमा बित्यो । 

साँढे नौ बजेदेखि भने कर्मचारीहरु भित्र बाहिर गर्दा रहेछन् । कर्मचारी नबोली छिर्दा रहेछन् । नबोली छिर्दा सैनिकले केही नगर्ने रहेछ । त्यसपछि उहाँ पनि डराइ डराइ नबोली छिर्नुभयो । 

रेडियो नेपाल देखियो । करिब दशबजे त चार पाँचसय मान्छेको लाइन भयो । गाउनलाई त्यो दिनको समय दिएको थियो रेडियोले उहाँलाई । संगीत जान्नेलाइ त राम्रै थियो । तर, उहाँ जस्तो रहरीया गीत गाउँनेलाइ भने समस्या पर्‍यो । 

लाइनमा उभिंदा गर्दै पालो आयो । एउटा कोठामा हारमोनियम बजाउने मान्छे रहेछन् । ल गीत गाउन जाउ भनेर पठाइयो । 

गायक फत्तेमानको यस्तो पनि हुँदो रैछ भन्ने गीत गाउन भनियो । दुई लाइन के गाएको थिएँ, ल यस्तो पनि हुन्छ गाएक । ल गइहाल भनेर पठाए । उहाँ रेडियो नेपालमा गायक बन्न आएको पहिलो काठमाडौं यात्राको स्मरण गर्दै हुनुहुन्थ्यो । 

फेरि रेडियो नेपाल 

०३२ सालको गायक हुने त्यो रहर मरेको थिएन उहाँमा । ०३४ सालमा काठमाडौं आएपछि फेरि रेडियो नेपालले तान्यो उहाँलाइ । फेरि घुम्दै लाग्नुभयो रेडियो नेपालतिर । 

रेडियो नेपाल जाँदा उहाँलाई पहिले फेल गराउने मान्छे भेटियो । उहाँ त पाण्डव सुनुवार पो हुनुहुँदो रहेछ । उहाँले पहिलेको त्यो तितो स्मरण पोख्नुभयो सुनुवार समक्ष । सुनुवारले ल ठीक छ,  तपाईँ आउनुस न त गीत गाउन फेरि भन्नुभएछ । 

तर, ०३४ सालसम्म आइपुग्दा उहाँको परिचय फेरिइ सकेको थियो । यो गीत गाएर पार नलाग्ने रैछ भनेर उहाँ गीत लेख्ने  कार्य गरेर गीतकार बनिसक्नुु भएको थियो । उहाँका दुईचारवटा कविता झापामा प्रकाशित पनि भैसकेको थिए । 

रेडियो नेपालको घुमाइ भने यथावत जारी राख्नु भयो । विस्तारै धेरै कलाकारसँग परिचय बढ्उँदै जानुभयो । 

गीतमा पहिलो स्वर 

०३८ सालको कुरा हो उहाँले लेख्नु भएको गीत पहिलो पटक अरुण थापाले गाउनु भयो । गीतको बोल थियो– ‘जिन्दगिको यात्रामा हिंड्दै जाँदा जिन्दगि नै छोटिएको थाहा भएन’ । अब त्यो बेला अरुण थापाले गीत गाएपछि त्यो गीतकारको शान कहाँ पुग्यो होला ! उहाँको भनाई छ– ‘गाएक हुन रेडियो छिरेको मान्छे गीतकार बनेर निस्कनु  पर्‍यो’ । उही रेडियो नेपालबाट । 

काठमाडौँको बसाई 

०३४ सालमा त्रिचन्द्र कलेजमा बिए पढ्न आउँदा उहाँको बसाई थियो बागबजारमा । बीस रुपैयाँमा राम्रो कोठा पाइन्थ्यो । उहाँ सम्झनुहुन्छ । लामो समय बित्यो उहाँको बागबजारको त्यो डेरामा । 

०३८ सालमा किर्तिपुरमा विश्वविद्यालयमा एमए पढ्ने बेलासम्म पनि उहाँ त्यही डेरामा बस्नुहुन्थ्यो । त्यसबेला रत्नपार्कबाट साझा बस चल्थ्यो किर्तिपुरसम्म ।  उहाँले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा एमए गर्नुभएको हो । 

विद्यावारिधी पनि मानवशास्त्रमै हो उहाँको । २०६२ सालमा । १५ वर्ष अगाडी । 

पहिलो जागिर 

उहाँको पहिलो जागिर थियो हवाई विभागमा । ०३४ सालमा । खरिदार । विज्ञापन माग भएको रहेछ । अन्तरवार्तामा के गर्नुहुन्छ भनेर सोधियो । 

गीत कविता लेख्छु भनेपछि उहाँलाई भूपि शेरचनको कविता आउँछ भनेर सोध्नुभयो हाकिमसापले ! उहाँले अलि अलि आउँछ भनेपछि ‘ल भन् !’ भनेपछि भन्नु भएछ उहाँले । त्यसबेला निकै चर्चित यो चार लाइन सुनाउनु भयो उहाँले, ‘मैले पिएकोमा रिसाउने मेरा साथीहरु यहाँ पिएर त हेर पिउन कति गाह्रो छ ।’ ल केटो काइदाको रैछ भनेर हाकिमसापले भनेपछि जागिर पक्का भयो त्यसबखतमा । 

खरिदारको त्यसबेलाको तलब थियो एकसय पन्चान्नब्बे रुपैयाँ । बीस रुपैयाँ भाडामा बस्ने एक्लो केटोलाइ त्यो छेलोखेलो भैगयो । 

पहिलो तलबले के गर्ने त भन्दा भोजपुरको एकजना साथी दामोदर भट्टराईले मःमः र छ्याङ खानुपर्छ भनेपछि पुतलीसडक गएर मःम र छ्याङ खाएको सम्झनुहुन्छ उहाँ । 
भट्टराई उहाँको डेराको छिमेकी । वल्लो पल्लो कोठा । हाल उहाँ उपसचिव भएर सेवानिवृत्त हुनुभएको छ । 

अर्को जागिर भने उहाँको नगर विकास समितिमा रहयो । नायब सुब्बा । आठ वर्ष खानुभयो नायब सुब्बाको जागिर पनि । तलब थियो दुईसय पैंतालिस । 

फेरि अर्को जागिर उद्योग विभागमा अस्थायी शाखा अधिकृत । उद्योग विभाग अन्र्तगतको प्रशिक्षण विभागमा । रुकुम, रोल्पा, सल्यान, संखुवासभा, तेह्रथुम धनकुटा लगायतका जिल्लामा गएर अनुगमन गर्नुपर्ने थियो काम चाँही । 

जिल्लामा गएर जिल्लाका हाकिमहरुसँग सम्पर्क गर्दै के कस्ता काम भए । कसरी सम्पन्न गरियो । बजेट । लगानी । जिल्लामा कस्ता उद्यमी छन् आदि विषयमा अनुगमन गरेर 'रिर्पोटिङ' गर्ने जिम्मेवारी थियो त्यसतर्फ । 

राजनीति तर्फको यात्रा 

अब भने उहाँको बाटो मोडियो । उहाँ राजनीतितर्फ लहसिनु थाल्नु भयो । ०४२ को राष्ट्रिय पञ्चायतको चुनावमा । राजनीतिले जागिरमा निकै सकस बनाएको थियो । उहाँलाइ लाग्यो यो पो रैछ त ठाउँ । उहाँ राष्ट्रिय पञ्चायतको उम्मेद्वार बन्नुभयो । ०४२ मा उम्मेद्वार भएपनि ०४७ को चुनाव जित्ने लक्ष्य लिएर चुनावमा होमिनुभएको थियो । 

उहाँले ७६ वटा गाउँको भ्रमण त्यहीबेला गर्नुभयो । साथीभाईसँग भाइचारा वृद्धि गर्नुभयो । तर, यो भाइचारा उहाँको राजनीतिक जीवनका लागि उपयोगी सावित हुन सकेन । ०४६ को आन्दोलनले पञ्चायत नै समाप्त गरिदियो । 

केही समय उहाँ रमिते नै भएर बस्नुभयो । त्यसबेलाका काँग्रेस एमालेको ‘राप ताप  केहीले पनि छोएन उहाँलाई । एक पटकको घटना हो गाउँमा काँग्रेसले आमसभा गर्न नपाएपछि त्यसो गर्नु हुन्न भनेर उहाँले आफ्नो घरको माइक दिएर आमसभा गर्न लगाउनुभयो । आखिर प्रजातन्त्रमा सबैले आफ्नो हक अधिकार बराबरी उपयोग गर्न पाउनुपर्छ भन्ने उहाँको सोच थियो । 

शायद काठमाण्डौको बसाइले उहाँलाइ त्यो उदारता प्रदान गरेको  हो कि ! उहाँ  ठान्नु हुन्छ । 

त्यसपछि ०५३ सालसम्म उहाँ गाउँमा नै रहनुभयो । 

राजनीतिक माहौल फेरियो । आफूले सोचेजस्तो भएन् । राजनीतिले तरंगित उहाँको मन त्यसपछि मोडियो माओवादीतर्फ । ‘प्रत्यक्ष संलग्न नभएपनि परोक्ष रुपमा साथीभाईलाई सहयोग गर्ने काममा सरिक भइयो ’ उहाँ भन्नुहुन्छ । 

त्यसपछि उहाँ ०५४ सालमा फेरि काठमाडौं फर्कनुभयो । ०५८ सालमा उहाँ माओवादीको केन्द्रीय सल्लाहकारको रुपमा मनोनित समेत हुनुभयो । 

०५५ देखि निरन्तर प्राध्यापन 

०५४ मा काठमाडौँ फर्किएपछि उहाँले प्राध्यापन सुरु गर्नुभयो । ०५५ सालदेखि हालसम्म पनि उहाँको प्राध्यापन यात्रा निरन्तर जारी छ । 

हरेक वर्ष स्नातकोत्तरमा नयाँ विद्यार्थी आउँछन् । नयाँ विद्यार्थीलाई पढाउनुको एउटा बेग्लै चुनौती छ । त्यसको सामना गरिरहनु भएको छ ।  

प्रत्येक साल नयाँ आउने विद्यार्थी पुरानोको तुलनामा चेतना, अध्ययन र प्रविधिका हिसाबले चुस्त हुन्छन् । यसले प्राध्यापकलाई पनि थप मेहनत गर्न बाध्य बनाउँछ । उहाँको अनुभवले भन्छ । 

एक थरी विद्यार्थी म केवल पढ्छु मात्र भनेर आएको हुन्छ । अर्को थरी पढ्दै जागिर खाने हुन्छन् । 

पढ्ने नै मात्र उद्देश्यका साथ आएका विद्यार्थी वर्तमान अवस्थाको राजनीतिक, आर्थिक र सामाजिक समस्याको खरो विश्लेषण गर्ने खालका पनि हुन्छन् । 

जागिर खाँदै पढ्दै गरेका विद्यार्थी भने गम्भीर, धैर्यवान् अरूका कुरा सुन्ने खालका हुन्छन् । यो वर्गका विद्यार्थीमा परिस्थिति अनुरूप आफूलाई ढाल्ने गहिरो विश्लेषण गर्ने क्षमता हुन्छ । उहाँको लामो प्राध्यापन यात्राको अनुभव हो यो । 

अहिलेको हाम्रो समाज भन्दा विद्यार्थी धेरै त होइन तीन चार स्टेप अगाडी छन्, उहाँ भन्नुहुन्छ । हामीले सोचेभन्दा विद्यार्थी धेरै अगाडी भएका कारण पनि देशमा छिटो छिटो परिवर्तन हुने सम्भावना देख्नुहुन्छ उहाँ । 

समाज सेवाका आयाम

राजनीति मार्फत समाज, जिल्ला र देशको सेवा गर्ने कुरामा खशै उपलब्धि नभए पनि समाज सेवाको अर्को पाटोलाई  भने उहाँले निरन्तरता दिनुभयो विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय भएर । जिल्लामा दुई दुई स्थानमा विमानस्थल भएर पनि सदरमुकाममा एयरपोर्ट नहुँदा जनस्तरबाट खानी डाँडा विमानस्थल निर्माणको लागि पहल भयो । त्यस बेला  काठमाडौँमा सहयोग जुटाउने कार्यको लागि प्रमुख जिल्ला अधिकारीले तोकेको जिम्मेवारी लिएर सबैलाई जोड्ने कामको जस उहाँलाई जान्छ । 

खोटाङे स्रष्टाहरूको संस्था रावासावा प्राज्ञिक समाजको त संस्थापक अध्यक्ष नै हुनुभयो भने सम्पूर्ण खोटाङेहरुको साझा संस्था खोटाङ सेवा समाजमा रहेर जिल्ला र जिल्लावासीका सेवा गर्नु भयो एक कार्यकाल अध्यक्ष भएर ।

त्यसै गरी सम्पूर्ण खोटङेहरुको बलबुतामा सञ्चालन गरेको सबैभन्दा बढी शेयर सदस्य रहेको सामुदायिक रेडियो ‘रुपाकोट’ को काठमाडौँ संयोजकमा रहेर रेडियो सञ्चालनमा महत्त्वपूर्ण भूमिका रह्यो ।  

साहित्यिक यात्रा

उहाँको साहित्यिक यात्रा स्कुले जीवनदेखि नै प्रारम्भ भएको हो । त्यस बेला प्रत्येक शुक्रवार वादविवाद, अन्तरक्रिया, हाजिरी जवाफ जस्ता कार्यक्रम हुने गर्थ्याे । कक्षा आठको कुरो हो यो । 

कविता कसले लेख्न लगायो हेक्का छैन उहाँलाई । तर, सरले ल यो कविता प्रथम भयो भनेर उहाँको कवितालाई घोषणा गरिदिनु भयो । यो ०२६ साल तिरको कुरा हो । 

पुरस्कार वितरण भने त्यस बेलाका खोटाङका चर्चित व्यक्तित्वको हातबाट भयो । उहाँ हुनुहुन्थ्यो महाप्रसाद आचार्य । उहाँको जत्तिको व्यक्तित्व खोटाङमा बिरलै थियो त्यस बेला । 

आचार्यले उहाँको कविताको बारेमा ठुलो गुणगान गाउनु भयो । सारा खोटाङ हल्लियो आचार्यको यो प्रशंसाले । कक्षा नौ र दशमा पनि उहाँले राम्रो कविता लेख्नुभयो । अब सरहरूले पनि उहाँलाई तँ राम्रो कविता लेख्छस् ! लेख्दै जा भनेर हौस्याउनु भयो । त्यही बिन्दुबाट प्रारम्भ भएको हो उहाँको साहित्यिक यात्रा । 

गुरुले राम्रो भनिदियो भने त्यो मार्गदर्शक बन्ने उहाँको बुझाइ छ । त्यसैले उहाँ पनि विद्यार्थीलाई राम्रो गरिनस् भनेर भन्नुहुन्न ।  पछि मेची क्याम्पसमा आएपछि गुरुका रुपमा भेटिनुभयो साहित्यकार मोहनराज शर्मा । उहाँले नेपाली पढाउनुहुन्थ्यो । 

कवि विष्णु विभु घिमिरे, कृष्ण प्रधानसँगै हुनुहुन्थ्यो । पछि काठमाण्डौं आएपछि त अर्कै माहौल नै खडा भइहाल्यो । यसरी नै निरन्तरता भइरह्यो । उहाँ भन्नुहुन्छ । 

प्रकाशित कृति 

उहाँका तीन चार वटा कविता सङ्ग्रह प्रकाशमा आएका छन् । कथा सङ्ग्रह पनि छ दुई वटा । गीतको एल्बम पनि छन् दुई वटा । म्युजिक नेपालले निकालेको । 

रामकृष्ण ढकालले उहाँको गीतबाटै गाउन सुरु गरेको बताउनुहुन्छ उहाँ । गीत थियो, बाँधिन लाग्दा मायाको बन्धन तीन तारा झरेछ । ढकालको पहिलो एल्बममा पनि यही गीत रहेको बताउनुहुन्छ उहाँ । 

पहिले त जागिरबाट यसो समय निकालेर हप्ताको एक पटक त रेडियो नेपाल घुम्न गइन्थ्यो । अहिले पो जताततै स्टुडियो खुलेको भए पो !  त्यो बेला रेडियो नेपाल गएपछि सबै कलाकार भेट भइहाल्थ्यो । अनि राम्रा गीत छन् भने त गाउने कलाकार तयार भइहाल्थे । 

छेकेर बाटो जुनले सोध्यो कहाँ हिँडेको ओम विक्रम विष्टले गाएको गीत हो उहाँको । मन्दिरमा फूल चढाइ ढोगेँ तिमिलाई भन्ने गीत कुन्ती मोक्तानले गाउनुभएको छ । ओम गुरुङले गाएको कसरी बोलाऊँ मान्छेको भिडमा आजै हो देखेको । यो गीत अहिले बिएको ऐच्छिक नेपालीको पाठ्यक्रममा पनि  समावेश गरिएको छ । 

वाणी प्रकाशनबाट वाणी स्रष्टा सम्मान पनि प्राप्त गर्नुभएको छ उहाँले ०५९ सालमा । 

उहाँले राजा वीरेन्द्रबाट समाज सेवा पदक पनि प्राप्त गर्नुभएको छ । ०४५ सालमा गएको भूकम्पमा उहाँले गरेको कामका लागि दिइएको हो यो पदक । 

अलि राम्रो दिएको भए हुन्थ्यो । किटको भएको कारण अक्षर पनि मेटिइसक्यो । उहाँको गुनासो थियो । भित्तामा झुन्डिएको समाज सेवा पदक देखाउँदै उहाँले भन्नुभयो । 

कहिलेकाहीँ विद्यार्थीले कक्षा कविताबाट सुरु गरौँ भनेर भन्छन् । आफू पनि सर्जक मान्छे नाइँ भन्न सकिंदैन् । अनि आफ्ना एकदुईवटा कविता भन्यो । विद्यार्थी पनि उत्सुक भएर मेरा पनि एक दुई कविता भन्दा भन्दै समय गएको पत्तै पाइँदैन । अनि घण्टी लागेको पनि थाहा हुँदैन । आफ्नो कक्षा त गयो गयो अरूको कक्षाको पनि केही समय त्यसै जान्छ । त्यस्तो सात आठ पटक भइसक्यो ।

विवाह 

उहाँको विवाह २०३८ सालमा भएको हो । मागी विवाह । उहाँको घरबाट दुइघण्टाको बाटो । इन्द्रेणी पोखरी । एमए पढ्दै हुनुहुन्थ्यो । जेठो छोरो भएका कारण विवाह गर्नुपर्छ भन्ने दबाब नै त नभनूँ कर चाहिँ थियो । 

घरबाट काठमाण्डौं फकिँदा ल अब बिहे गर्नुपर्छ खोजेर लेरा भनेर तल्लो घर माथ्लो घर सबैले भन्थे । 

काठमाडौँ हिँड्ने बेलामा धरानसम्मतसँगै जाने भिनाजु पनि हुनुहुन्थ्यो त्यति बेला । हिँड्दै गर्दा बाटोमा भिनाजुले बिहे गर्ने जोड धेरै छ त्यहाँ बाटोमा मैले चिनेको एक जना केटी छ पसौँ त भनेर भन्नु भयो । उहाँले पनि ठिकै छ नि त भनेर सही मिलाउनुभयो । 

मूलबाटो छोडेर दुई घण्टाको बाटो केटीको घरतर्फ लागियो उहाँ सम्झनुहुन्छ । उहाँले सम्झनुभयो ठिकै छ हेर्दैमा के बिग्रेला र ! केटी के गर्छिन् भनेर भिनाजुलाई सोध्दा धरानमा साइन्स पढ्छिन् भन्नुभयो । अहिले घर आएकी होलिन् पनि भन्नुभयो । 

हेर्न त गइयो । तर, हेरेपछि बडो समस्या हुँदो रहेछ । अर्काको छोरीचेली हेरेपछि के कारणले मन परेन भन्ने प्रश्न पनि उठ्ने रहेछ । केटी पनि राम्रै रहिछन् । खोट लाउने ठाउँ देखिएन । ठिकै छ भनेर हिँडियो । त्यसपछि बिहेको साइत जुराएर विवाह गरियो । हाल जनकल्याण माविको प्रधानअध्यापिका हुनुहुन्छ उहाँ । बिहेको रमाइलो प्रसङ्ग यसरी स्मरण गर्नुभयो उहाँले । 

उहाँको एक छोरा मात्रै हो । हाल अमेरिकामा आइटी म्यानेजमेन्टमा कार्यरत । 

पिके कलेजको वरिपरि डेरा लिएर बसेको भए पनि एउटा उद्देश्य बोकेर हिँडेका कारण प्रेमको चक्करमा भने परिएन उहाँ सम्झनुहुन्छ । जतिसक्दो चाँडो पढाइ सक्ने र जागिर खाने यो नै एक मात्र उद्देश्य रह्यो  उहाँ सम्झनुहुन्छ । 

त्यस बेला पूर्वका अधिकांश मान्छे बस्ने भनेकै पुतलीसडक, बागबजार र डिल्लीबजार । मैतीदेवीमा पनि मान्छे आउन मान्दैन थिए । उति बेलाको मैतीदेवी सम्झँदै हुनुहुन्थ्यो उहाँ । ४ बजेपछि मैतीदेवीको पुल वरपर पकेटमार र लुटेरा हुन्छ भनेर कोही पनि जानै मान्दैन थिए । उहाँले विगत कोट्टाउनु भयो । 

साहित्यले घण्टी आउट 

कहिलेकाहीँ विद्यार्थीले कक्षा कविताबाट सुरु गरौँ भनेर भन्छन् । आफू पनि सर्जक मान्छे नाइँ भन्न सकिंदैन् । अनि आफ्ना एकदुईवटा कविता भन्यो । विद्यार्थी पनि उत्सुक भएर मेरा पनि एक दुई कविता भन्दा भन्दै समय गएको पत्तै पाइँदैन । अनि घण्टी लागेको पनि थाहा हुँदैन । आफ्नो कक्षा त गयो गयो अरूको कक्षाको पनि केही समय त्यसै जान्छ । त्यस्तो सात आठ पटक भइसक्यो । त्यसपछि भने यो साहित्यको कुरा चाहिँ कक्षामा नगरौँ भनेर आफैँले भन्ने गर्नुभएको छ उहाँले । 

पुस्तकालय  स्थापना

चार वर्ष अघि उहाँले आफू पढेको स्कुलमा एउटा पुस्तकालय स्थापना गर्नुभएको छ । दुइलाख रुपैयाँ राखेर । १२ प्रतिशत ब्याज आउँछ । वर्षको एकमुष्ट २४ हजार बैङ्कले पैसा पठाइदिन्छ पुस्तकालय चलाउन । 

उहाँले करिब १२, १५ हजारको दराज र २०, २५ हजारको पुस्तक पनि उपलब्ध गराइ दिनुभएको छ पुस्तकालयका लागि । 

उहाँ गाउँमा जाँदा पुस्तकालयको विद्यार्थीले कत्तिको उपयोग गरे भनेर केही लेखेर ल्याऊ भनेर भन्नहुन्छ । विद्यार्थीले लेखेर ल्याएको ५०, ६० वटामा छानेर १० वटा मुना पत्रिकामा पनि प्रकाशित भएका रहेछन् ।  

विद्यार्थीका लागि शिक्षा 

०३२ सालको गायक हुने रहरमा उहाँको मनमा एउटा खड्को पसेको रहेछ । पाण्डव सुनुवारले हैट यस्तो पनि गायक हुन्छ भनेर भनेको कुरोले उहाँलाई बिझाएछ । हुन त पछि पाण्डव सुनुवारले गाउन अनुरोध नगर्नु भएको होइन । तर, सुरुवाती रहरमा जुन नकारात्मक चोट पुग्यो त्यसले उहाँलाई फेरि गायक हुने उत्साह प्रदान गर्न सकेन । शायद ठिकै छ मात्र भन्दिएको भए पनि अर्को पटक कोसिस गरिन्थ्यो कि ! उहाँ भन्नुहुन्छ । यो उहाँको लागि ठुलो शिक्षा भएको रहेछ । यही शिक्षाले होला उहाँ आफ्ना विद्यार्थीलाई कहिले पनि हुँदैन, भएन, सक्दैनौ भनेर भन्ने गर्नुहुन्न । बरु यो भन्दा राम्रो गर्न सक्छौ, राम्रो छ भनेर उनीहरूलाई उत्साह प्रदान गर्दै अगाडी बढ्न प्रेरणा दिइरहनु हुन्छ । यसरी प्रथम विश्वयुद्धका सेनानी लाहुरे बाजेको तीन पुस्ते पेन्सन थाप्ने नाती भने अरूलाई शिक्षा दीक्षा दिने अलग बाटोमा रमाइ रहनु भएको छ । यस्तै हो जिन्दगी । उहाँले  कुराकानीको बिट मार्नुभयो ।