मर्नु पर्दथ्यो ऊ
श्रावण २४, २०७७

मर्न पनि दिएनन् भगवान् ले
मार्न पनि दिएनन् भगवान् ले
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ ऊ !

भगवान् पनि विचित्रको !
धुन्धुकारी मरेर गयो
तर ऊ भने बाँचेर पनि मरेको छ
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ
सारा नेपाली मार्नलाई
असङ्ख्य मनहरू हार्नलाई
देवको सुन्दर रचना यो धर्तीमा
समानताको गीत गाउँदै
सत्ताको जालभित्र पार्नलाई ।

बोकेर बन्दुक बैरीको
पड्कायो बारुद गाउँगाउँमा
भत्कायो पुल–पुलेसा
विद्यालय बन्यो नरसंहारको केन्द्र
स्वास्थ्यचौकी, पाटी र पौवा बने विक्षिप्त
भोकले रन्थनिएको कर्णाली बन्यो एकै गाँस
एकताको एउटै थियो माला
मेची र महाकाली
बनाइदियो रगतले नुहाउने भद्रकाली
भाइभाइ फुटाइदियो
मातृभूमिको छातीमा बैरी पो जुटाइदियो ।

त्यतिले पुगेन उसलाई
नेपाल आमाको अङ्गअङगमा चुम्दै छ अचेल
कतै लिम्बूवान, कतै खम्बूवान
भन्छ ताम्सालिङ र नेवाः
मधेस बनेको छ बैरीको पेवा
धवलागिरि र माछापुच्छ्रे बनेका छन् तमुवान
मगरातमा मर्नु मर्‍यो नेपाली
हिमालपारिको गाउँ नै छैन
सुन्दै छु अचेल नेपाल र नेपालीको ठाउँ नै छैन ।

चिरेर मातृभूमिलाई
मारेर बन्धु र सखा
भन्छ अझै नयाँनयाँ नेपाल
मर्‍यो धुन्धुकारी
मर्नुपर्दथ्यो ऊ पनि
मर्न पनि दिएनन् भगवान् ले
मार्न पनि दिएनन् भगवान् ले
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ ऊ ।