रिसको विपक्षमा
श्रावण २४, २०७७

रिस त मलाई पनि उठ्छ...

तर, रिस उठ्यो भन्दैमा
तिमीले जसरी
झोँस्न सक्दिनँ म
आफ्नै घरको छानोमा आगो
दुखाउन सक्दिन म आमाको छाती
शिशुजूनहरू पढ्ने पाठशालामा
देखाउन सक्दिनँ भूतनाच
छिराएर बगैँचामा बाँदरको हुल
गराउन सक्दिनँ सृष्टिको सत्यनास !

रिस त मलाई पनि उठ्छ...

रिस उठेको बेला
लाग्छ, फ्याँकिदिऊँ उखेलेर
हलक्क हुर्केको यो लोकतन्त्रको वृक्ष
लाग्छ, मकाईदिऊँ
यो नाथे गणतन्त्रको वलिष्ट घाँटी
तर, सक्दिनँ म यसो गर्न !

किनभने
यो मेरो युगौँको सपना हो
जो भर्खर त हुर्किरहेको छ
जसलाई स्याहार्न मैले
चढाउने गरेको छु वर्षेनी स्वप्न बली
र, त्यही बली खाएर यो प्रिय वृक्ष
यत्तिको हुर्कन सकेको हो ...! 

म चाहन्छु—
यो वृक्ष हुर्कियोस्
यो वृक्ष मौलाओस्
यो वृक्ष झाङ्गियोस्
र, बनोस् विशाल....विशाल
फुलोस् ढकमक्क भएर
फलोस् लटरम्म भएर.... !
 
लोकतन्त्रको यही अद्भुत वृक्षमा
बस्न सकून् आनन्दले पंक्षीहरू बास
जसको शीतल छहारीमा मानव–स्वप्नहरू
खेल्न सकून् निर्भयताका साथ लुकामारी
र, गाउन सकून् निर्धक्क भएर राष्ट्रगान ।

मेरो प्रिय साथी !
के तिमीलाई राष्ट्रगान मन पर्दैन र ?