भूतहरूको उत्पत्तिकर्ता र ससीमकी आमा
श्रावण २५, २०७७

नवमोऽध्यायः
श्री भगवानुवाच –

 इदन्तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्षसेऽशुभात् ।। १ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = श्री भगवान्ले भन्नु भयो, इदं = यो जुन ब्रम्हज्ञान, तु = किन्तु, गुह्यतमं = परम गुह्य, विज्ञानसहितं = अनुभव युक्त, ज्ञानं = ज्ञान, अनसूयवे = दोषदृष्टि रहित, ते (तुभ्यं) = तिमीलाई, प्रवक्ष्यामि = बताउनेछु, यत् = जुन यथार्थ ज्ञान, ज्ञात्वा = जानेर, अशुभात् = अशुभ (जन्म मरणरूप संसार) देखि, मोक्षसे = मुक्तहुने छौ ।

भावार्थ – श्री भगवान्ले भन्नुभयो –तिमी असूया विहीन भएका छौ, अतः तिमीलाई यो अत्यन्त गुह्य विज्ञान सहित ज्ञान बताउने छु, जसलाई जानेपछि तिमीले अशुभदेखि मुक्तिलाभ गर्ने छौ ।

विशिष्टार्थ – साधक ! हेर, आठौं अध्यायमा प्रथम दीक्षाको उपदेशदेखि प्रारम्भ गरेर शेष पर्यन्त कसरी शरीर त्याग गरेर परम स्थान प्राप्त हुन्छ, त्यसको बारेमा उपदेश गरिएको छ, अव जीवन मुक्ति कस्तो हो अर्थात् शरीर धारण गरेर पंक (हिलो) भित्र रहेको पंकज (कमल) जस्तै प्रकृतिभित्र रहेर पनि कसरी निर्लिप्त रहनुपर्छ भन्ने विषयमा उपदेश गरिन्छ ।

'इदं तु ते' इत्यादि–यो उपदेश अत्यन्त गुप्त छ, भाषामा यो व्यक्त (प्राप्त) हुन सक्दैन । तिमीले डुवकी लगाएर पानी भित्र प्रवेश गरे जस्तै डुब्न सिकेका छौ त्यसकारण उपदेशको लागि अधिकारी बनेका छौ । अतएव विज्ञानका साथ ज्ञानलाई वुझ, संझ । ज्ञान हो 'म'  को बोधक र विज्ञान हो मेरो भन्दा जे जति आउँछ ती सबैको वा प्रकृतिको बोधन । ज्ञान= ज+ञ+आ+न, ज= जायमान अर्थात् उत्पत्ति–स्थिति–नाश विशिष्ट जे जति छ । ञ= गन्धानु अर्थात् शब्द स्पर्श–रूप–रस–गन्ध जसमा छ । आको अर्थ आसक्ति र नको अर्थ नास्ति हो । यसरी उत्पत्ति, स्थिति, नाशवान् यस दृष्य जगत्को कुनै कसैमा आसक्ति जुन अवस्थामा रहदैन, अथवा मूच्र्छा, मृत्यु वा निद्रारूप अज्ञानताको आश्रय नलिंदा जुन स्थिति हुन्छ त्यही ज्ञान अवस्था हो । विज्ञान– जगत्लाई जान्नु बुझनु छ भने ब्राम्ही स्थितिमा हुँदैन, अलिकति तल ओर्लेर प्रकृतिसंग मिलेर जान्नु बुझनु पर्दछ । त्यसो भएपछि नै ब्राम्ही स्थितिको एक स्तर र प्राकृतिक स्थितिको एक स्तर भयो । ब्राम्ही स्थितिमा उपसर्गको मात्र अभाव छ र प्रकृतिमा सबैनै उपसर्ग छ, अतः वि उपसर्ग दिएर विशेषताको प्रतिपादन गरिएको छ । यी दुबै परस्पर अत्यन्त भिन्न पदार्थ हुन् । यस विज्ञान सहित ज्ञानलाई जान्नाले नै निर्लिप्तताको बाधा अरू आउने छैन, किन कि प्रकृतिको फन्दामा परेर प्रकृतिलाई नबुझेर नै जीव बनेको थियो, जसै बुझयो तत्क्षणात्  'ज्ञान' भयो, शिव पनि भयो, अतएव ब्राम्ही स्थितिको लागि बाधा केही रहेन, र जीवन्मुक्ति पनि भयो ।

'म' जुन यस्तो व्यक्त छु, मेरो ज्योति लिएर नै ती अव्यक्त वा अप्रकाश परिणामीहरू आफनो आफ्नो जे जस्तो जडत्व छ, त्यसलाई त्याग गरेर चैतन्य जस्तो अभिनय देखाउंछन् – जस्तै त्यो सबै अव्यक्त वा जड हैन, व्यक्त चैतन्य हो । परन्तु  'म' विना जे छ त्यो सम्पूर्ण अप्रकाश – अव्यक्त हो ।

 राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
 प्रत्यक्षावगमं धम्र्यं सुसुखं कर्तुमव्ययम् ।। २ ।।

अन्वय र अर्थ – इदं = यो ज्ञान, राजविद्या = समस्त विद्याको राजा, राजगुह्यं = समस्त गुप्त राख्न योग्य भावहरूको राजा, उत्तमं = सभैभन्दा उत्तम, पवित्रं = अत्यन्त पवित्र, प्रत्यक्षावगमं = प्रत्यक्ष अनुभवमा आउने, अव्ययं = कहिल्यै नाश नहुने, धम्र्यं = धर्मयुक्त, कर्तुं = गर्नमा, सुसुखं = अत्यन्त सुगम छ ।

भावार्थ – यो ज्ञान सवै विद्याको राजा, अति गुह्य, सर्वोत्कृष्ट, अत्यन्त पवित्र, प्रत्यक्ष प्रमाण सिद्ध (निजबोध रूप), अक्षय, धर्म सम्मत र सुख साध्य छ ।

विशिष्टार्थ – यो जुन ज्ञान हो राज विद्या अर्थात् श्रेष्ठ विद्या हो, किन कि यसले ब्रम्हज्ञान दिन्छ । यो सबै भन्दा माथि रहन्छ त्यसैले अत्यन्त गुप्त छ, किन कि त्यति माथि नपुगिकन यसलाई जान्न सकिन्न । यो उत्तम अर्थात् उत् (ऊध्र्वमा) तम (स्थिति) लाभ हुन्छ । पवित्र = ग्लानि शून्यः; प्रत्यक्ष = जाज्वल्यमान आँखाको दृक् शक्तिको अगाडि, धम्र्यं = अविरोधी –जसबाट  कसैसंग पनि विरोध उत्पन्न हुँदैन त्यसैलाई धर्म भन्दछन् । धर्म धारयते प्रजाः । प्रजा– प्रकृष्ट रूपले जसको उत्पत्ति हुन्छ, यसो हुनाले नै उत्पत्ति, स्थिति र लय जसमा छ त्यही प्रजा हो अर्थात् परिणामी जो हो उही प्रजा हो । यस परिणमनतालाई जसले धारण गर्दैन जुन स्वयं अपरिणामी छ त्यही धर्म हो । यस धर्ममा जसरी पुगिन्छ त्यसैलाई  'अवगम' भन्दछन् । यो जुन धर्म हो त्यो अव्यय अर्थात् नित्य छ । यसलाई सजिलैसंग राम्ररी गर्न सकिन्छ र यसैबाट अव्ययत्वमा संयुक्त पनि भइन्छ ।

  अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
  अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवत्र्मनि ।। ३ ।।

अन्वय र अर्थ – परन्तप = हे परन्तप ! अस्य = यस, धर्मस्य = धर्मको स्वरूपमा, अश्रद्दधानाः = श्रघा नराख्ने, पुरुषाः = पुरुषहरू, मां = मलाई, अप्राप्य = प्राप्त नगरेर, मृत्युसंसारवत्र्मनि = मृत्युयुक्त संसारको बाटोमा, निवर्तन्ते = फर्कन्छन् ।

भावार्थ – हे परन्तप ! यस धर्म प्रति श्रद्धा विहीन पुरुषहरू मलाई नपाएर जन्म मृत्युरूप संसार पथमा नै प्रत्यावर्तन गर्दछन् ।

विशिष्टार्थ – कुनै बाधा अड्चन नभइकन गुरु वाक्य पालन गरेर जानुको नाम श्रद्धा हो । जुन महाशक्तिद्वारा गुरुवाक्य पालन गरेर सबै प्रकारका विध्न बाधाहरू नाश हुन्छन्, त्यही श्रद्धा हो । जसमा यो महाशक्तिको अभाव छ त्यो नै अश्रद्दधान वा कापुरुष हो । यो कापुरुष त्यो पूर्व कथित द्रष्टा स्वरूपमा वा धर्ममा रहेर प्राकृतिक दृश्यको खेल देख्न पाउंदैन,  अतः 'म'लाई अर्थात् ब्राम्हीस्थितिलाई प्राप्त नगरेर मृत्यु रूप संसार मार्गमा आउंछ, अर्थात् जम्न मृत्यु भोग गरिरहन्छ ।

    मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
    मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ।। ४ ।।

अन्वय र अर्थ – मया = मेरो, अव्यक्तमूर्तिना = करण अगोचर स्वरूपद्वारा , इदं = यो, सर्वं = समस्त, जगत् = जगत्, ततं = व्याप्त छ, सर्वभूतानि = सकल भूत, मत्स्थानि = ममानै अवस्थित छ, अहं च = म भने, तेषु = तिनीहरूमा, न अवस्थितः = अवस्थित छैन ।

भावार्थ – म अव्यक्तरूपले यस समस्त जगतमा व्याप्त छु, सम्पूर्ण प्राणी जगत् ममा नै अवस्थित छ, परन्तु म ती सबैमा अवस्थित छैन ।

विशिष्टार्थ – त्यो जुन मैले ब्राह्मी स्थितिले जगत् माथि लक्ष्य गरिरहको छु यो ठीक त्यस्तै हो जस्तो सूर्य र पृथ्वी छन् । पृथ्वी अप्रकाश छ, सूर्य स्वप्रकाश, दुबै अलग अलग छन्  परस्परमा एक अर्कोसंग धेरै टाढा छन्, परन्तु  सूर्यको किरण पृथ्वीमा परेर जुन जुनमा अधिक मेल जुल गर्दछन्, उसैको जस्तो अधिक प्रकाश हुन्छ, परन्तु मेलजुल गरेर पनि परस्पर लिप्त हुँदैनन्, त्यस्तै म परिणामी प्रकृतिका भूतादिहरूका साथ ओतप्रोत भावमा मिलेर पनि मिल्दिन, अतः ममा भूतादि रहेर पनि  'म' माथि तिनीहरूको लक्ष्य रहदैन, अतः 'म' हुन सक्दैनन् । 'म' जुन यस्तो व्यक्त छु, मेरो ज्योति लिएर नै ती अव्यक्त वा अप्रकाश परिणामीहरू आफनो आफ्नो जे जस्तो जडत्व छ, त्यसलाई त्याग गरेर चैतन्य जस्तो अभिनय देखाउंछन् – जस्तै त्यो सबै अव्यक्त वा जड हैन, व्यक्त चैतन्य हो । परन्तु  'म' विना जे छ त्यो सम्पूर्ण अप्रकाश – अव्यक्त हो ।

    नच मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम् ।
    भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः ।। ५ ।।

अन्वय र अर्थ – मे = मेरो, ऐश्वरं = ईश्वरीय, योगं = असाधारण माहात्म्यलाई, पश्य = हेर, भूतानि = ब्रम्हादि समस्त प्राणी, न च मत्स्थानि = ममा अवस्थित छैनन्, मम = मेरो आत्मा = म, भूतभृत् = भूतहरूको भरण पोषण गर्ने, भूतभावनः (सन् अपि) = भूतहरूलाई उत्पादन गर्ने (भएर पनि), न च भूतस्थ = भूत सकलमा अवस्थित छैन ।

भावार्थ – मेरो ईश्वरीय योग (महात्म्य) लाई हेर, भूत सकल पनि ममा अवस्थित छैन, म भूत धारक तथा भूतहरूको उत्पादक भएर पनि भूत सकलमा अवस्थित छैन ।

विशिष्टार्थ – अव मेरो योगैश्वर्य हेर । एक वस्तु अरू एक वस्तुसँग मिल्नुको नाम योग हो । एक माथि अर्को एकले प्रभुत्व गर्नुको नाम 'एश्वर्य' हो । यस प्रकृति वा माया र 'म' को संयोग स्थललाई  हेर । प्रकृति भूतको रानी हो, अनि 'म' निरूपाधिक म हुँ । मेरो र प्रकृतिको जहाँ संयोग हुन्छ त्यस सन्धिस्थलमा प्रकृतिले मलाई स्पर्श गर्नासाथ विभोर हुन्छ, परन्तु मको हुनु नहुनु केही छैन । अतः प्रकृतिमाथि मेरो प्रभुत्व स्वतः हुन्छ । यस्तो अन्जान भावले यसको संक्रमण हुन्छ कि प्रकृतिले पनि थाहा पाउदैन, उसैको शक्तिले यो हुन्छ कि 'म' को शक्तिले हुन्छ । अतः भनिएको छ–'न च मत्स्थानि भूतानि' । प्रकृति भन्दा ज्यादा मेरो निकट अरू कुनै छैन, अतः म भूतमृत् अर्थात् भूतहरूको पोषक भए पनि  'भूतस्थ' छैन किन कि, मेरो असीमितता व्याप्य व्यापकता शून्य भएर पहिले देखिनै विस्तृत छ । यस असीमिताका भित्र जो कुनै  ससीमता छ त्यसले पहिले नै रहने ठाउँ पाइसकेको छ । कुनै कसैलाई  नवीन गर्ने आवश्यकता छैन । त्यसकारण, फेरि पनि म भूतहरूको उत्पत्तिकर्ता भएँ । जसको पेटमा जसले जन्म लिन्छ त्यसैकी माता हो त्यो, यसरी नै ससीमकी आमा असीम हो ।

    यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
    तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ।। ६ ।।

क्रमश:

साधक मुमुक्षु भएर आत्मयोग गर्दा शरीरका नवद्वारहरू बन्दको सन्दर्भ

वेदको अर्थ हो ज्ञान : वेदविद् कसलाई भन्ने ?

सूर्यकोष भित्रका चाैध भुवनवासीले पुनर्जन्म लिन नपर्ने अवस्था

परिवर्तन र विनाशकाे तुलना : पानी र समय जस्तै हाे जन्म-मृत्यु पनि !

शरीर त्याग तथा काल के हो ? पुनरावृत्ति अर्थात् पुनर्जन्म बारेमा उपदेश !