कामदार भित्रिएसँगै जोखिमको चिन्ता

कामदार भित्रिएसँगै जोखिमको चिन्ता

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २५, २०७७

मनाङ । लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन् । बन्दाबन्दी खुलेसँगै कोभिड–१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । कामदार मनाङ भित्रिँदै गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासी चिन्तित देखिएका छन् ।

जिल्लामा विभिन्न ठाउँबाट कामका लागि दैनिक ४० देखि ६० जनाका दरले भित्रन थालेका छन् । यहाँ गोरखा, लमजुङ, रुकुम, रोल्पा, रसुवालगायत जिल्लाहरुबाट कामको खोजीमा कामदार भित्रने गरेको सीमा प्रहरी चौकी तालले जनाएको छ । केही स्थानलाई स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको जोखिमयुक्त जिल्ला घोषणा गरिसकेको छ तर कोरोना भाइरस मुक्त भएको मनाङमा कामदार तथा कर्मचारी भित्रिँदै गर्दा जोखिम भने बढेको देखिन्छ ।

मनाङमा कुन ठाउँमा कसले काम गराउने हो, सबैको रेकर्ड राखेर कामदारलाई छाड्ने गरिएको र आरडिटी गरेर गन्तव्यमा जान दिने गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताउनुभयो । घलेका अनुसार आफ्नो पालिकाभित्र आउने कामदारलाई सेल्फ क्वारेन्टिनमा राख्ने र काम क्षेत्रभन्दा बाहिर हिँड्डुल गर्नसमेत रोक लगाइएको बताउनुभयो । अहिले चामे गाउँपालिकाअन्तर्गत जिल्ला अस्पताल र जिल्ला कारागारको भवन निर्माणको काम भइरहेको र यिनै स्थानमा कामदार आएका घलेले जानकारी दिनुभयो । सम्बन्धित ठेकेदारलाई कामदार तथा कर्मचारीको पिसिआरलगायत आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने अनुरोध गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै हाल यस जिल्लामा चामे, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका लागि कामदार भित्रिएको बताइएको छ । देशैभर जोखिम बढ्दै गएको अवस्थामा धेरै मात्रामा बाहिरबाट आएका कामदार जिल्लामा निर्बाध रुपमा भित्रँदा सर्वसाधारणमा त्रास छाएको छ । कामको खोजीमा कामदार नासो गाउँपालिकका हुँदै जिल्ला भित्रन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । स्थानीयवासीका अनुसार यसपटक यार्सा सङ्कलन नभएकाले मनाङमा आर्थिक सङ्कट त छँदैछ, उनीहरुबाट कोरोना सङ्क्रमणको मात्र जोखिम छैन । सुरक्षा थ्रेट पनि उत्तिकै देखिएको छ । काम गर्न आए पनि मनाङका स्थानीय सरकार र प्रशासनको समन्वयमा आरडिटी गरेरमात्र जिल्ला प्रवेशको अनुमति दिएको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बन्दाबन्दी खुलेपछि सर्वसाधारण आवागमन स्वाभाविक रुपमै बढ्ने बताउँदै सुरक्षा सतर्कता पनि अपनाइरहेको बताउनुभयो । काम गर्न आउने मान्छे कहाँबाट आएका हुन्, कता जाने हुन्, कसको जिम्मा जाने हुन्, सम्बन्धित ठेकेदार स्थानीय तहलाई जिम्मा लगाउने गरिएको प्रजिअ पौडेलको भनाइ छ । बर्सेनी गोरखा, धादिङ, रुकुम, नुवाकोट, रसुवालगायत जिल्लाबाट धेरै सङ्ख्यामा कामको खोजीमा मनाङ आउने गर्दछन् तर अधिकांश कामदार कर्मचारीको पिसिआर रिपोर्ट भने नभएको सीमा प्रहरी चौकी तालले जनाएको छ । 

पिसिआर रिपोर्ट नआउँदा आवश्यक कामदार कर्मचारी ल्याउन नसकिएको क्याराभान कन्सल्टेन्सीका फिल्ड मेनेजर सोमनाथ थकालीले बताउनुभयो । नासो गाउँपालिकामा भने बाहिरी कामदार नआएको तर अन्य स्थानीय तहमा कामदार आउने गरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । 'गत वर्षको योजना सकिएकाले बाहिरबाट कामदार ल्याउनुपर्ने छैन, यहाँका साना योजनाहरु भने स्थानीय कामदार प्रयोग गरी निर्माणको काम भइरहेको छ तर गाउँपालिकाकै बाटो भएर प्रवेश गर्ने कामदारबाट भने जोखिम रहेको छ', अध्यक्ष घलेले भन्नुभयो, 'यही गाउँपालिकाअन्तर्गत भएर आउने कामदारलाई सिधै गन्तव्यमा जान अनुरोध गर्ने गरिएको छ ।'

सम्बन्धित क्षेत्रको सेल्फ क्वारेन्टिनमा बसी कामदारले काम गर्दै आएको नार्पाभूमि गाउँपालिकाले जनाएको छ । मनाङमा यार्सागुम्बा सङ्कलन गर्नदेखि विकास निर्माणका काममा समेत गोरखा, लमजुङ, धादिङ, रसुवा र रुकुमकै मान्छेहरु प्रयोग हुने गर्दछन् । मनाङमा हालसम्म एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएकामा उपचारपछि निको भएर घर फर्किसकेका छन् । यसपछि अन्य सङ्क्रमित नभेटिएकाले मनाङ कोरोनामुक्त जिल्लामा सूचीकृत छ ।

नवीन लामिछाने / रासस