‘छमछम काँचको चुरा’ बजारमा

‘छमछम काँचको चुरा’ बजारमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण २५, २०७७

गण्डकी । गायिका सावित्री गिरीको ‘छमछम काँचको चुरा’ म्युजिक भिडियोसहितको तीज गीत बजारमा आएको छ । दर्जनौँ गीतको रचनाका साथै गायन क्षेत्रमा क्रियाशील गायिका गिरीले ‘छमछम काँचको चुरा, चुलठी धागोले जेलेको, सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकाको गीत बजारमा ल्याउनुभएको हो ।

महेन्द्र गिरीको निर्माण र सावित्रीको प्रस्तुति रहेको गीतमा शब्द तथा लयमा कविराज खनाल, छायाङ्कनमा प्रदीपकुमार नापित, नृत्य निर्देशनमा प्रिती गुरुङ र अभिनयमा प्रार्थना श्रेष्ठ रहनुभएको छ । पुकार श्रेष्ठको निर्देशनमा रहेको गीतमा सरगम सांस्कृतिक कला केन्द्रका कलाकारको साथ छ ।

म्युजिक भिडियोकोे वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शनिबार विमोचन गर्नुभयो । कोइरालाले तीज गीतको आफ्नै मौलिकता भएको उल्लेख गर्दै परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई तीज गीतमा समेटिनुपर्ने बताउनुभयो । चेलीका दुःखसुखलगायत जीवनका भोगाइलाई समेटेर तीजका गीत बनाइने उहाँले बताउनुभयो । 

कलासाहित्यको संरक्षणबाट हाम्रा चालचलन र संस्कृतको पनि जगेर्ना हुने उल्लेख गर्दै उहाँले तीजको नाममा मौलिकता हराउने गरी भित्रिएका विकृति र विसङ्गति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । गायिका गिरीले  आफूले छिट्टै तीजको भाकाको कोरोना भाइरसको अर्को गीत पनि बजारमा ल्याउन लागेको जानकारी दिनुभयो ।