गौमुखी धारा र शिवलिङ्ग स्थापना अधुरो

गौमुखी धारा र शिवलिङ्ग स्थापना अधुरो

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २५, २०७७

पाल्पा । यहाँको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको कम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका–५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना  थियो । बन्दाबन्दीका कारण गत आर्थिक वर्ष २०७६/०७७ मा निर्माण पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

प्रदेश सरकार, डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा २५ लाख रुपैयाँमा खानेपानीको ट्यांकी, धारा, शिवलिङ्ग स्थापना जस्ता पूर्वाधार निर्माण गर्ने योजना थियो । ऐतिहासिक, धार्मिक, पर्यटकीय र सामाजिक सांस्कृतिक महत्वको सो क्षेत्रमा विसं १५७५–१६०० सम्म मुकुन्द सेन प्रथमले शासन गरेको इतिहास(कन्ट्रिब्यशन टु नेप्लिज स्टडिज, टेकबहादुर श्रेष्ठ, त्रिवि, सन् १९८७) छ । 

मुक्तिनाथको झल्को मेटाउने गरी १०८ धारा र शिवलिङ्ग स्थापनाका साथ पर्यटक गन्तव्य बनाउने गाउँपालिकाको योजना छ । गाई आकृतिको धारा र पानी झर्ने जमीनमा शिवलिङ्ग स्थापना गरी आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउन लागिएको मन्दिर व्यवस्थापन समितिका सदस्य शमर गहतराजले बताउनुभयो ।
 
जलेश्वर क्षेत्रभन्दा भण्डै दुई सय मिटर तल खानेपानीको ट्यांकी निर्माण भएको छ । ट्यांकीको पानी मन्दिरभन्दा माथि लिफ्टमार्फत तानेर धारामा पठाउने योजना छ । मुक्तिनाथ जान नसक्ने वृद्धवृद्धा त्यहीँ स्नान गर्ने योजनानुसार धारा जडान गर्ने गरी काम शुरु भए पनि गत आवमा पूरा हुन नसकेको गहतराजले बताउनुभयो । 

आव २०७५।०७६मा प्रदेश सरकारको सहयोगमा शिवलिङ्ग, अखण्ड शिवधुनी र  हिमालय पर्वतमा शिवपार्वतीको मूर्ति स्थापना भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्यालले बताउनुभयो । भौतिक पूर्वाधार निर्माणले सो क्षेत्रले धार्मिक पर्यटकलाई लोभ्याउन थालेको प्रमुख अर्यालको भनाइ छ । वर्षेनी नयाँ नयाँ भौतिक संरचना निर्माण हुँदै गएको छ । शिवपार्वती मूर्ति र शिवलिङ्गको उचाइ ३६ इञ्च छ । 

पछिल्ला वर्ष जलेश्वर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ । पाल्पाको प्रसिद्ध भैरव मन्दिर तानसेनदेखि नौ किलोमिटर पश्चिममा पर्छ । भैरवस्थानदेखि ११ किमी पश्चिममा जलेश्वर मन्दिर पुग्न सकिन्छ । गाउँपालिकाले जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान निर्माण गरी धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अगाडि बढाएको छ । सदस्य गहतराजका अनुसार त्यहाँ झण्डै २० हजारभन्दा बढी जडीबुटी तथा फलफूलका बिरुवा रोपिएको छ । 

उत्तरतर्फ फर्किएको अग्गोडाँडामा निकै महत्वपूर्ण जडीबुटी पाइन्छ । त्यहाँ एक सय आठ पीपलका बिरुवा रोपिएको छ । घिउफल, टिमुर, वर, पीपल, लालीगुराँस, कपुर, धुपी, लप्सी, बोधीचित्त, श्रीखण्ड, तेजपात, लाँकुरीलगायत दश हजार बढी बिरुवा यहाँ लगाइएको सदस्य गहतराजले बताउनुभयो ।

डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलका अनुसार श्रीनगरडाँडाको सास्कृतिक डबली, श्रीनगरको वनस्पति उद्यान, भैरवस्थानको प्रवेशद्वारलगायत काम गत आवमा भएको थियो । गत आवमा डिभिजन वन कार्यालयले १३ पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गर्न रु आठ करोड २५ लाख प्रदेश सरकारको सहयोगमा खर्च गर्ने तयारी भएको थियो ।