महिन्द्रा राजापाक्ष श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त, सपथ सम्पन्न

महिन्द्रा राजापाक्ष श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त, सपथ सम्पन्न

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २५, २०७७

काठमाडा‌ैं । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिनु भएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।

राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिनु भएको थियो । सपथ कार्यक्रममा कुटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरुको उपस्थिति थियो ।

राजापाक्षले श्रीलंकामा यो सहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिनु भएको छ । 

राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उहाँको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।

श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो । 

श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगस्ट २० मा शुरु हुनेछ । 

श्रीलंकाली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुग्नु भएको छ ।