छायादत्त न्यौपाने : साइनोकारका रुपमा केही साइनोहरू

छायादत्त न्यौपाने :  साइनोकारका रुपमा केही साइनोहरू

शेखर अर्याल  |  साहित्य  |  श्रावण २६, २०७७

विषय प्रवेश

छायादत्त न्यौपाने ‘बगर’ नेपाली वाङ्मयमा कलिला मुनादेखि भरिला फाँटमा अनि हिमालका काखमा सलबलाएर सिर्जनाका थुँगाहरू सजाउने सिर्जनशील योद्धा हुनुहुन्छ । साइनोको प्रार्दुभाव गराउनुका साथै यसको सैद्धान्तिक पक्षलाई अगाडि बढाई नेपाली साहित्यमा थप उपविधाको भण्डारण गर्नु भएकाे । ‘बगर’ उपनामबाट परिचित छायादत्त न्यौपाने वि.सं. २०२२ साल असार १६ गते पर्वत जिल्लाको हुवास अमलडाँडामा आमा देवरूपा न्यौपाने र बुबा कमलप्रसाद न्यौपानेका पुत्रका रूपमा जन्मिनु भएकाे हाे ।  घरमै बुबाबाट अक्षरारम्भ गर्नु भएका न्यौपाने संस्कृतमा शास्त्री, नेपालीमा एमए र बिएडसम्मको औपचारिक शिक्षा हासिल  गर्नु भएको छ । साहित्य सिर्जनासँगै प्राध्यापन, लेखन, सम्पादन, प्रशिक्षकजस्ता विविध क्षेत्रमा संलग्न भई सामाजिक, साहित्यक, शैक्षिक क्षेत्रमा रही सेवामूलक काम गर्दै आउनुभएका उहाँका धेरै कृतिहरू विविध विधामा प्रकाशित छन् । साइनोमा बढी रुचि राख्ने न्यौपाने वि.सं. २०७६/४/१६ मा साइनो सिर्जना गरी साइनोको सुरुवात गर्ने व्यक्ति हुनुहुन्छ । 

   मान्छे छैन इमानी
   न सहरमा छ धन
  न त झोपडीमा पिसानी ।
 यो उहाँको पहिलो साइनो हो । साइनोको आरम्भ गरी एक वर्षमा ३६५ साइनो विभिन्न पत्रपत्रिका र अनुहार पुस्तिकामा प्रकाशित गराउनु उहाँको साइनोप्रतिको विशिष्ट पहिचान हो । उहाँका साइनोमा सामाजिक बेथितिप्रति प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक,  शैक्षिक र सांस्कृतिक विषयलाई बढी आत्मसाथ गर्नु,  प्रकृति चित्रण गर्नु, मनोरञ्जन अर्थात् प्रेमिल भाव अभिव्यक्त हुनु, कटाक्ष रूपमा व्यङ्ग्य प्रहार गर्नु, श्रमप्रतिको सम्मान अभिव्यक्त हुनु र भूगोल तथा मानवताको पक्ष अगाल्नु जस्ता विशेषता देखिन्छन् । उच्च भाव, अनुप्रास, रसको परिपाक, अलङ्कारयुक्त भाषा, संरचना, भाव, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, प्रेमिल र आध्यात्मिक पक्षले बगरका साइनो बढी तेजिला र गर्भिला बनेका छन् । 

सैद्धान्तिक आधार

साहित्यका विविध विधामध्ये साइनो कविता विधाअन्तर्गत पर्ने नवीनतम उपविधा हो । साइनो मानव मनबाट सर्जित सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, ऐतिहासकि, प्राकृतिक आदि पक्षमा व्यङ्ग्य गर्दै सचेतताको खवरदारी गर्ने सात, आठ र नौ अक्षरको शब्दगुच्छामा तीन पङ्क्ति भएको स्वतन्त्र भाव प्रकट गर्ने सूत्रात्मक अभिव्यक्ति हो । साइनो कविताको लघु रूप भए पनि यसमा प्रस्तुत हुने संरचना वा तत्वका हिसाबले यो आफैमा पूर्ण छ । साइनो नवप्रवर्तन नेपाली माटोमा उब्जिएको विधा भएकाले यसको लेखनका लागि संरचना, विषयवस्तु, भाव र लय, रस, अलङ्कार र ध्वनि, भाषाशैली र उद्येश्य आवश्यक साधन हुन् । साइनोलाई तत्वगत तथा अन्य भाव र भावका पक्षका आधारमा पनि विश्लेषण गर्न सकिन्छ । साइनोमा आउने विविध विषयमध्ये यस लेखनीमा संरचना, भाव/विचार, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, रसनिष्पत्ति र व्यङ्ग्यलाई आधार मानी छायादत्त न्यौपानेका केही साइनोहरूको अध्ययन गरिएको छ ।

श्रमप्रतिको सम्मानलाई जोड दिई श्रमजीवी वर्गको उत्थानका लागि आवाज उठाइएको छ । चिह्न प्रयोगमा कतै विचलन देखिए पनि साइनोमा सशक्त व्यङ्ग्य प्रहार गरी चोटिलो सन्देश प्रदान गरेको छ । यसरी न्यौपानेका साइनोलाई हेर्दा संरचना, भाव, मानवता, राष्ट्रियता, रसनिष्पत्ति, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान र व्यङ्ग्यका आधारमा सफल अनि पठनीय रहेका देखिन्छन् ।

क. संरचना

संरचनाका हिसाबले साइनो आफैमा पूर्ण छ । नेपाली माटोमा उब्जिएर मौलिक अस्तित्व कायम गर्ने साइनो सूत्रात्मक गद्य कविताको एक रूप हो । छायादत्त न्यौपाने साइनोका सर्जक भएकाले संरचनागत हिसाबले हेर्दा प्रभावशाली देखिनुहुन्छ । साइनोको आफ्नै विधान छ । विधान आफै बनिबनाउ हुँदैन । त्यो कहीँ न कहीँबाट सुरु भई त्यसको विकास हुन्छ । त्यसैले साइनोको संरचना अरु विधाभन्दा छुट्टै खालको छ । संरचनागत रूपमा बगरका साइनोलाई हेर्दा पहिलो लहर सात अक्षरको, दोस्रो लहर आठ अक्षरको र तेस्रो लहर नौ अक्षरको गरी जम्मा २४ अक्षरको पूर्णतामा रहेका छन् । 

मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !

प्रस्तुत साइनो छायादत्तको पहिलो साइनो हो । यो ७, ८, ९ को संरचनामा संरचित छ । पहिलो लहरको अर्थ आफैमा स्वतन्त्र छ । जसले मान्छे इमानदार नभएको कुरा सङ्केत गरेको छ । दोस्रो लहरमा धन सहरमा नभएको भाव व्यक्त छ भने तेस्रो लहरमा गरिबको झोपडीमा खाने खर्च नभएको कुरा अभिव्यक्त छ । यी तीनओटै लहरले स्वतन्त्र अर्थ प्रदान गरेका छन् । यस साइनोको समग्र अर्थ मान्छे इमानदार बन्न नसक्दा सहरमा श्रम गर्दा पनि धन नहुँदा अन्न नभई छटपटिनु परेको व्यङ्ग्यभाव अभिव्यक्त भएको छ । साइनोका तीन लहर आफैमा स्वतन्त्र भई साइनोको पूर्ण अर्थलाई आश्चर्यवाचक चिह्नले सङ्केत गरेको छ । स्वतन्त्र अर्थसहितको लहर छुट्याउन कुनै न कुनै भावअनुसारको चिह्नको सङ्केत दिइएमा त्यो अझ सरल र सहज बन्न जान्छ । बाह्य संरचनाका हिसाबले हेर्दा छायादत्तका साइनोमा गुण, लय र अक्षर गुच्छाको संयोजन छ । आन्तरिक संरचनालाई हेर्दा भाव, कला, भाषिक संरचना स्वतन्त्र अर्थ र समुच्चय अर्थको पूर्णता रहेको छ । 

ख‍. भाव/विचार

न्यौपानेकाे साइनोमा भाव पक्ष सबल छ । कलात्मक वा बिम्बका सहायताले अभिव्यक्त हुने साइनो उत्कृष्ट हुन्छन् । त्यो स्वरूप न्यौपानेका साइनोगत कवितामा पाइन्छ । भाव वा विचारका हिसाबले हेर्दा उनका साइनोमा प्रायः सूत्रात्मक प्रस्तुतिमा सामाजिक बेथितिप्रति प्रहार, राष्ट्रिय चेतना, देशप्रेम, संस्कृतिप्रतिको मोह, मानवीय संवेदना, श्रमप्रतिको सम्मान अभिव्यक्त भएको देखिन्छ ।

हम्रो सिर्जना सूत्र
मन–माटोको सम्बन्ध
जनजीवनको सुगन्ध ।

त्रिपदमा आबद्ध प्रस्तुत साइनोमा हरेक लहर वा गुच्छामा स्वतन्त्र अर्थ रहेको छ । पहिलो गुच्छामा हामीमा सिर्जनाको सूत्र भएकाले त्यसबाट अगाडि बढ्न सक्ने सङ्केत गरेको छ । दोस्रो लहरले मानिस र माटोबिच सम्बन्ध रहने कुराको जानकारी गराएको छ भने तेस्रो लहरले जनजीवनको सम्बन्ध मिठो हुने भाव व्यक्त गरेको छ । समग्रमा साइनोले हाम्रो सिर्जना भनेको मन र माटोको सम्बन्ध हो, जसले मानव जीवनमा सुगन्ध बर्षाउँछ भन्ने भाव व्यक्त गरेको छ । मन र माटोसँगको सम्बन्ध अनि मायाले जीवनमा सुगन्ध आउने भाव अभिव्यक्त गरेकाले यो साइनो प्रकृति र मानवबिचको प्रेम उत्पन्न भई शृङ्गारिकतर्फ गएको छ ।

धमिलो सरकार
बेथिति ओढ्छ समाज
खडेरी ताप्न बाध्य मान्छे !

प्रस्तुत साइनोमा आश्चर्य भाव प्रकट भएको छ । देशमा सरकारले स्वच्छ र सङ्लो काम गर्न नसकेको विषय पहिलो पङ्क्तिमा अभिव्यक्त छ । समाजले बेथितिलाई संरक्षण गरेको विषय दोस्रो पङ्क्तिमा व्यक्त भएको छ भने मानिस बाध्य र विवश भएपछि कष्ट झेल्न बाध्य भएको विषय तेस्रो पङ्क्तिमा अभिव्यक्त भएको छ । स्वच्छ नभएको सरकारले समाजमा बेथिति फैलाएर मान्छेलाई बाध्य बनाई अभाव बनाएको व्यङ्ग्य भाव प्रकट भएको छ । यसरी न्यौपानेका साइनोमा भाव/वचिार सबल रहेको छ ।

ग‍. मानवता
साइनोलाई हेर्ने विविध पक्षमध्ये मानवता पनि एक हो । छायादत्त न्यौपानेका साइनोमा मानवताको उच्च प्रयोग पाइन्छ । मानव बन्नका लागि चाहिने आवश्यक गुण उल्लेख भएको साइनो मानवतामा आधारित हुन्छ । 

झोला नबोकौँ मान्छे !
कर्मयोगी बाँचौँ मान्छे  !!
पौरखी सान उठौँ मान्छे !!!

प्रस्तुत सूत्रात्मक साइनोमा मानवीय भाव अभिव्यक्त भएको छ । पहिलो लहरमा मानव भएर मानवीय गुण बिर्सेर अरुको झोला बोक्न नहुने भाव छ । दोस्रो लहरमा मानव मानवीय स्वभावमा रही कर्मयोगी बनी बाँच्नुपर्ने भाव प्रकट भएको छ भने तेस्रो लहरमा मान्छे आफ्नै पौरखी सानमा उठ्नुपर्छ भन्ने विचार प्रकट भएको छ । साइननोले व्यङ्ग्य गर्दै मानवले मानवीय गुण बिर्सेर झोला बोक्दा राम्रो हुँदैन । मानव भएर जीवन निर्वाह गर्नका लागि कर्मयोगी भएर बाँच्नु नै मानवीय गुण हो भन्ने समग्र भाव अभिव्यक्त भएको छ । मान्छेले मान्छेलाई मान्छेका रूपमा हेरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने भाव प्रकट भएकाले मानवताका हिसाबले न्यौपानेका साइनो सफल छन् ।

ए स्वतन्त्र जिन्दगी !
भारी लगाम कर्तव्य
तानातान निजी रहर ।

यस साइनोमा मानवताको बोध सामान्य रूपले गरिएको छ । उच्च मानवतालाई पूर्णता प्रदान गर्न नसके पनि मानवीय गुणलाई भने सङ्केत गरेको छ । मानवको स्वतन्त्र जिन्दगीमा विविध पक्षले लगाम लगाएको हुँदा मानिसका निजी रहर तानातानमा परेको भाव यस साइनोमा प्रकट भएको छ । मानवीय जीवनमा स्वतन्त्र भएर सहयोगमा जुट्नुको साटो तानातान गर्ने प्रवृत्तिप्रति प्रहार भएको छ । मानवताका पक्षबाट हेर्दा प्रस्तुत साइनो मध्यम भएर आएको छ । व्यङ्ग्य, संरचना, रसनिस्पत्तिका हिसाबले भने साइनो प्रवल बनेका छन् ।

घ. राष्ट्रियता

राष्ट्र र राष्ट्रियताप्रतिको सद्भाव व्यङ्ग्यात्मक ढङ्गबाट अभिव्यक्त गर्ने गद्य कवितात्मक लघु रूप साइनो हो । न्यौपानेका साइनोमा राष्ट्र र राष्ट्रियताप्रतिको सद्भाव अभिव्यक्त छ । उनका साइनोमा राष्ट्रिय चेतना सम्प्रेषण भएको हुन्छ । सुसङ्गत समाजको निर्माणबाट राष्ट्रको उन्नति हुने विषय उनका साइनोमा रहेको छ ।

अस्तव्यस्त सर्वत्र
सरकारी खलपात्र
शासनशैली अलपत्र ।

त्रिपदमा रहेको प्रस्तुत साइनोमा राष्ट्रप्रतिको सचेतता प्रकट भएको छ । पहिलो सात अक्षरको लहरमा जताततै अस्तव्यस्त भएको भाव प्रकट भएको छ । दोस्रो आठ अक्षरको लहरमा सरकार चलाउने व्यक्ति खलपात्र भएको भाव प्रकट छ भने तेस्रो नौ अक्षरको लहरमा देश चलाउने शासनशैली अलपत्र भएको व्यङ्ग्य प्रहार छ । राष्ट्र र राष्ट्रियताप्रति चासो दिई अस्तव्यस्त होइन सरकारले सही ढङ्गबाट शासन चलाई जनतामा सेवासुविधा प्रदान गर्नुपर्ने चेतना प्रकट भएको छ । यस साइनोमार्फत न्यौपानेले शासनशैली अलपत्र बनाउने खलपात्रले देशलाई अस्तव्यस्त बनाएको भाव अभिव्यक्त गरेका छन् ।  

ङ‍. रसनिष्पत्ति

कसिलो अनि चोटिलो कवितात्मक साइनोमा रसनिष्पत्ति प्रकट हुन्छ । छायादत्तका साइनोलाई हेर्दा रसनिष्पत्ति भएको देखिन्छ । उनका साइनोमा व्यञ्जना शब्दशक्तिका माध्यमबाट व्यङ्ग्य चेतका सहायताले रसास्वादन गराउँछ । 

धमिलो सरकार
बेथिति ओढ्छ समाज 
खडेरी ताप्न बाध्य मान्छे ।

प्रस्तुत साइनो त्रिपदमा रहेको छ । ७, ८, ९ को संरचनामा रहेको २४ अक्षरे यस साइनोमा आश्चर्य भाव प्रकट भएको छ । देशमा सरकारले स्वच्छ र सङ्लो काम गर्न नसकेको कुरा पहिलो लहरमा व्यक्त छ । दोस्रो लहरमा समाजले बेथितिलाई संरक्षण गरेको विषय प्रकट भएको छ भने तेस्रो लहरमा बाध्य र विवश भएर मान्छे अप्ठ्यारो खेप्न परेको भाव अभिव्यक्त भएको छ । स्वच्छ नभएको सरकारले समाजमा बेथिति ओढाएर मान्छेलाई बाध्य बनाई मान्छेलाई अप्ठ्यारो खेप्न बाध्य बनाइएको विषयले आश्चर्यमा पारेको छ । यस साइनोमा धमिलो, बेथिति र खडेरीको समिश्रणले सञ्चारी भाव प्रकट भई विश्मय/आश्चर्य स्थायी भाव उत्पन्न गराएको छ । प्रत्यक्ष नभई अप्रत्यक्ष रूपमा साइनोमा र सनिष्पन्न भएको छ । त्यसैले न्यौपानेका साइनोमा भाव, संरचना र रसनिष्पत्ति  उपयुक्त छ ।

च.प्रकृति चित्रण

साइनामो समस्त प्राणीबिच सम्बन्ध हुने हुनाले जीव र प्रकृतिसँग आत्मीय सम्बन्ध कायम गर्छ । यसले प्रकृति चित्रण गरी मानव जीवन र भूगोलजन्य गतिविधिलाई पछ्याउँछ । छायादत्त न्यौपानेका साइनोमा प्रचुर मात्रामा प्रकृतिको चित्रण गरिएको छ ।

नेपाली मन माटो
हावापानी श्रमसिप
उर्भरभूमि आफ्नै खुट्टा ।

प्रस्तुत साइनो प्रकृति चित्रणका आधारमा हेर्दा सबल छ । यसले प्रकृतिको चित्रण गर्दै मानवलाई सन्देश प्रवाह गरेको छ । साइनोका हरेक लहरले स्वतन्त्र अर्थ प्रदान गरी समग्र भाव प्रकट गरेको छ । पहिलो सात अक्षरले मनलाई माटोसँग आबद्ध बनाएको छ । दोस्रो लहरको आठ अक्षरले प्रकृतिमा रहेको हावापानी नै श्रमसिप हो भन्ने कुरा व्यक्त गरेको छ भने तेस्रो लहरको नौ अक्षरले प्रकृतिले प्रदान गरेको उर्भरभूमि उपयोग गरी आफ्नै खुट्टामा उभिन सक्ने अभिप्राय बोकेको छ । यसले समग्र रूपमा हाम्रो सिर्जना भनेको मनमाटोको सम्बन्ध हो यसले मानव जीवनमा सुगन्ध बर्षाउँछ । नेपाली माटोमा श्रमसिप खर्चिन सके यहाँको उर्भरभूमिबाट जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव व्यक्त भएको छ । यसरी प्रकृति र मानवबिच सम्बन्ध कायम गरी प्रकृतिको सफल चित्रण भएको छ ।

छ‍. श्रमप्रतिको सम्मान
नवीनतम कविताको उपविधा साइनोमा देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रति चेष्ठा, मानवता, व्यङ्ग्य चेतनासहित श्रमप्रतिको सम्मान रहन्छ । न्यौपानेका साइनोमा श्रमप्रतिको सम्मान अभिव्यक्त भएको देखिन्छ । श्रमसिपलाई जोडेर त्यसप्रति सम्मान जनाउँदै श्रमसिपमा लाग्नका लागि उत्प्रेरणा र हौसला प्रदान गरेको छ । न्यौपानेका साइनोमा श्रमप्रतिको सम्मान यसरी प्रकट हुन्छ ।

गजब राम्रो बानी,
गरेर खान बिर्सियो
क्या स्वाद छ कमिसनमा !!!

प्रस्तुत साइनोमा श्रमप्रति हुने सम्मानमा कमी आएको अनि श्रमसिप गरेर खाने प्रवृत्ति कम भई कमिसनमा रमाउने कुरा अभिव्यक्त छ । वर्तमान समयमा श्रमप्रतिको मनोभाव घट्दै गई मिहिनेत गरेर जीवन निर्वाह गर्ने अवस्था बिर्सेर कमिसन खाई जीवन निर्वाहमा स्वाद भएको व्यङ्ग्य भाव व्यक्त गरिएको यस साइनोमा श्रमप्रति निष्ठावान् भई आफ्नै श्रममा जीवन निर्वाह गर्नुपर्ने श्रमप्रतिको सम्मान मध्यम रूपमा अभिव्यक्त भएको छ । 

नेपाली मन माटो
हावापानी श्रमसिप
उर्भरभूमि आफ्नै खुट्टा ।

यस साइनोमा छायादत्त न्यौपानेले श्रमप्रतिको सम्मान उच्च रूपमा अभिव्यक्त गरेका छन् । उनको यस साइनोमा पहिलो लहरको सात अक्षरले नेपाली माटोमा हुने श्रमजीवीको विषय प्रस्तुत गरेको छ । दोस्रो आठ अक्षरको लहरमा हावापानी र श्रमसिप एकअर्कामा सहकार्य गर्छन् भन्ने विषय प्रस्तुत गरेको छ भने तेस्रो नौ अक्षरको लहरमा उर्भरभूमिमा आफ्नै श्रमसिप खर्चिँदा आफ्नै खुट्टामा उभिन सक्ने विषय प्रस्तुत भएको छ । यसरी यस साइनोमा आफ्नै नेपाली माटो, हावापानी र उर्भरभूमिमा श्रमसिप खर्चिन सके स्वतन्त्र ढङ्गले जीवन निर्वाह गर्न सकिने समग्र भाव प्रदान गरेकाले श्रमसिपप्रतिको सम्मानलाई उचित तरिकाले अभिव्यक्त गरिएको छ ।

ज. व्यङ्ग्य

साइनोमा प्रस्तुत हुने मूल स्वरूप व्यङ्ग्य नै हो । छायादत्त न्यौपानेका प्रायः साइनोमा कहीँ न कहीँ व्यङ्ग्य प्रहार भएकै हुन्छ । सभ्यता र शिष्टताप्रतिको व्यङ्ग्यले साइनोको गरिमा बढाएको छ ।

अझै बलेन चुलो
आगो ताप्ने मतियार
अँध्यारो मै झोपडीहरू ।

यस गद्य कवितात्मक साइनोमा सशक्त व्यङ्ग्य प्रहार छ । साइनोको पहिलो पङ्क्तिमा गरिबको चुलो बल्न नसकेको कुरा छ । दोस्रो पङ्क्तिमा खराब काम गर्न प्रेरित गर्ने प्रवृत्तिप्रति कटाक्ष छ भने तेस्रो पङ्क्तिमा गरिबको झोपडीमा कुनै उन्नति हुन नसकेकोप्रति व्यङ्ग्य गरिएको छ । समग्रमा चोटिलो व्यङ्ग्य प्रस्तुत भएको यस साइनोबाटै न्यौपानेका साइनोमा व्यङ्ग्य प्रहार भएको प्रष्ट हुन्छ ।

 निष्कर्ष र प्राप्ति
छायादत्त न्यौपानेद्वारा रचित गद्य कवितात्मक साइनोहरूमा सूत्रात्मक ढङ्गले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनीतिक, मानवता, देशप्रेम, प्रकृतिप्रेम, व्यङ्ग्य, श्रमप्रति सम्मान र प्रेमिल भाव प्रकट भएको छ ।  साइनोमा हुने तीन स्वतन्त्र लहरमा आउने स्वतन्त्र भाव अभिव्यक्त भएको छ । साइनोको समग्र भावले विषयलाई सशक्त र चोटिलो बनाएका छन् । उहाँका साइनोमा सात, आठ, नौ को त्रिपदीय संरचना पूर्ण रूपले पालना गरिएको छ ।

साइनोले अभिव्यक्त गर्ने भाव वा विचार सशक्त तरिकाले आएको छ । प्रत्यक्ष भावभन्दा अप्रत्यक्ष भाव सबल रहेको छ । मानवताका विषयलाई जोड दिई त्यसप्रति लाग्न अभिप्रेरित गरिएको छ । राष्ट्रियताका विषयमा चासो दिई राज्यसत्ताबाट पारेको प्रभावलाई कसिलो ढङ्गले प्रस्तुत गरिएको छ । साइनोले बोकेको रसास्वादन उपयुक्त तवरले प्रस्तुत भएको छ । प्रकृतिको चित्रण गरी प्रकृति र मानवबिचको सम्बन्धलाई उपयुक्त ढङ्गले प्रतिस्थापित गरिएको छ ।

श्रमप्रतिको सम्मानलाई जोड दिई श्रमजीवी वर्गको उत्थानका लागि आवाज उठाइएको छ । चिह्न प्रयोगमा कतै विचलन देखिए पनि साइनोमा सशक्त व्यङ्ग्य प्रहार गरी चोटिलो सन्देश प्रदान गरेको छ । यसरी न्यौपानेका साइनोलाई हेर्दा संरचना, भाव, मानवता, राष्ट्रियता, रसनिष्पत्ति, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान र व्यङ्ग्यका आधारमा सफल अनि पठनीय रहेका देखिन्छन् ।