कोरोनाको कहर बजार र व्यवसायमा

कोरोनाको कहर बजार र व्यवसायमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण २६, २०७७

हेटाैंडा । कोरोनाबाट सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मकवानपुरको हेटाैंडा बजारमा चहलपहल कम भएको छ । साथै बजार सुनसान छ । यसले व्यापारिक कारोवार समेतमा असर परेको छ । व्यापारिक फर्म, खुद्रा र थोक पसल तथा सहकारी संस्था सञ्चालन भएपनि कारोवार अत्यन्त कम रहेको गुनासो छ । हेटौँडाका व्यवसायी गजेन्द्र चौलागाईंले कोरोनाको त्रास र व्यावसायिक कारोवारको कमीले व्यवसाय चौपट भएको भन्नुभयो । आवश्यक काम नपरेसम्म कोरोनाको त्रासले सर्वसाधारण घरबाहिर जान छोडेका छन् । बजारमा उपभोक्ता तथा स्थानीय सर्वसाधारण सरकारले तोकेको मापदण्डअनुसार मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा जोड दिएको पाइएको छ ।

हेटौँडालगायत आसपासमा कोरोना सङ्क्रमित देखापरेपछि  जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र र बाहिर आवागमनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला जान र अन्य जिल्लाबाट मकवानपुर आउनमा निषेध गरेको छ । सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यस्थापनका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवागमन बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभया । 

जिल्लाभित्रका उद्योग, कलकारखाना तथा व्यवसायमा जिल्ला बाहिरबाट श्रमिक तथा कामदार मगाउन रोक लगाइएको छ । अन्य जिल्लामा काम गर्न जाने र आउने सरकारी कर्मचारीलाई रोक्का गरिएको छ । बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्यूनतम मापदण्ड पूरा भए/नभएको सम्बन्धमा अनुगमन गर्ने काम भइरहेको प्रजिअ नेपालले जानकारी दिनुभयो । 

त्यस्तै होटल र रेष्टुरेन्ट बन्द गरिएको  छ । कोरोना सङ्क्रमितको उपचार र सुरक्षा तथा निगरानीमा जोड दिइएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छिमेकी जिल्ला बारा र पर्सामा कोरोना सङ्क्रमित अत्यधिक फेला परेपछि मकवानपुरलाई जोगाउन बाहिर जिल्लाबाट आउन र जान निषेध गरिएको अनुमान छ । मकवानपुर जिल्लामा हालसम्म ५४ जनामा कोरोना सङ्क्रमण फेला परेको छ ।