हिमपहिरामा ज्यान गुमाएका परिवारलाई बीमावापतको  १० लाख प्रदान

हिमपहिरामा ज्यान गुमाएका  परिवारलाई बीमावापतको  १० लाख प्रदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७७

काठमाडौँ । गत वर्ष माघ ३ गतेको हिमपहिरामा परेर ज्यान गुमाएका पथप्रदर्शक सरोज परियारको परिवारलाई ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले बीमावापतको १० लाख २०७७ साउन २६  सोमबार हस्तान्तरण गरेको छ ।

मृतकका बुबा ससे परियारलाई टान अध्यक्ष हरि भुजेल र बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय निर्देशक कविराज पौडेलले बीमावापत सो बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष भुजेलले पदयात्रा मजदूरले पदप्रदर्शकका रुपमा सधैँ देशको रहनसहन, संस्कृति र भूगोललाई विश्वभरि चिनाउन अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै राज्यले तिनको सुरक्षाका बारेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

टानका निवर्तमान अध्यक्ष एवम् खोज तथा उद्धार टोलीका संयोजक दीपक अधिकारीले टानले संस्थागत दायित्व पूरा गर्दै मजदूरको बीमा गराएको उल्लेख गर्नुभयो । किनोको टेक्स एण्ड एक्सिपिडिशन प्रालि कम्पनीबाट चिनियाँ पर्यटक लिएर पदयात्रा गएका परियार अन्नपूर्ण आधार शिविर हिङ्कु केभ देउरालीमा हिउँपहिरामा परेका थिए । माघ १६ गते टानका प्रतिनिधि र मृतकका दाजु सन्दीपसहितको उद्धार टोलीले परियारले प्रयोग गरेको नीलो रङको टोपी र स्लीपिङ ब्याग घटनास्थलमा फेला पारेको थियो । सो घटनामा चार कोरियाली र तीन नेपालीको मृत्यु भएको थियो ।

दुई नेपाली काठमाडौँको कम्पनीबाट गएका थिए भने परियार पोखराको कम्पनीबाट गएका थिए । परियारसँग गएका चिनियाँ पर्यटकलाई भने सकुशल उद्धार गरिएको थियो । मृतक २१ वर्षीय सरोज चितवन, भरतपुर -१३ का बासिन्दा थिए । संस्थाका सचिव जीवनराज सापकोटाले कमाएर खाने मान्छेकै मृत्युपछि परिवारमा भोग्नुपर्ने समस्यालाई ध्यान दिएर थोरै भए पनि संस्थाले बीमा गराउँदै आएको जानकारी दिनुभयो । सापकोटाका अनुसार टानले हरेक वर्ष सामूहिक रुपमा २५ पथप्रदर्शक र ५० सहयोगीको १० लाख बराबरको बीमा गराउँदै आएको छ ।