राखेपले माग्यो बक्सिङ सङ्घका अध्यक्षसित आर्थिक विवरण

राखेपले माग्यो बक्सिङ सङ्घका अध्यक्षसित आर्थिक विवरण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २७, २०७७

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।  राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाउनुभएको हो । 

अध्यक्ष अवालेले बक्सिङ सङ्घलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारणसभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी  सङ्घका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराउनुभएको थियो ।  

महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले सङ्घको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाउनुभएको छ । 

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकार्नुभएको छ ।