प्रकोपमा पूर्वसूचनाको उपयोग र अनपेक्षित धनजनको क्षति न्यूनीकरणका कार्यभार

प्रकोपमा पूर्वसूचनाको उपयोग र अनपेक्षित धनजनको क्षति न्यूनीकरणका कार्यभार

दीनानाथ भण्डारी  |  दृष्टिकोण  |  श्रावण २७, २०७७

विज्ञान र प्रविधिले ल्याएको परिवर्तन

हाम्रो गाउँमा वसन्त ऋतुमा माल चरा (कर्‍याङकुरुङ) उत्तर लागेपछि मलखादको डिलमा, आँगनको डिलमुनि घिरौँला, चिचिन्डा, काँक्रा आदिका बिउ रोप्ने चलन थियो । यस्ता प्रचलन हाम्रो गाउँमा मात्रै होइन अन्यत्र पनि हुन्थे र अहिले पनि कतैकतै जीवितै रहेको पाइन्छन् । माल चराको बाटो नपर्ने ठाउँमा अरु कुनै प्राणीले ऋतुसम्बन्धी सङ्केत दिँदा हुन् । 
मानिसहरूले मौसमसम्बन्धी ज्ञान पुस्तौंपुस्ताको प्रयोग र अनुभवबाट हासिल गरेका थिए । ऋतु परिवर्तनमा कुन प्राणीले के गर्छन् भनेर बर्षौंसम्म हेक्का राखेर सबैभन्दा बढी सही ठहरेको कुरालाई चलनमा ल्याए होलान् । प्रचलनहरू नाता सम्बन्ध हुँदै एक ठाउँबाट अर्को ठाउँमा बिस्तार भए होलान् साथै एक पुस्ताबाट अर्को पुस्तामा सरे होलान् । 

चक्रवात, आँधी हुरी, अतिवृष्टि वा हिमपात असिना पानी, भूकम्प आदिका बारेमा पहिल्यै थाहा पाउने कुनै सूचक भएनन् होला । यी घटनाको कुनै सङ्केत वा सुइँको समेत नपाउँदा बनावटका कुनै उपाय गर्ने अवसर नपाएर धेरै विनाश भए होलान् । त्यसैले 'हुने हार, दैव नटार'  भन्ने उक्ति चलेको हुनुपर्छ ।

प्रविधिले गर्दा अहिले नियन्त्रित वातावरणमा खेती गर्न सकिन्छ, सिँचाइ सुविधा, उन्नत बिउ र खेती प्रविधि आदिले गर्दा बर्सभरि जुनसुकै दिन बिउ रोप्न र फलाउन सकिने भएको छ । त्यस्तै, धेरै प्रकोपका बारेमा तिनीहरू आउनुभन्दा पहिल्यै थाहा पाउन सकिन्छ र विपत्तिजन्य घटना घट्नु अगावै बनावटका उपाय गर्न सकिन्छ । समुदायमा भएका कतिपय प्रचलनहरूमा प्रविधिगत सुधार गरी विपत्तिमा कमी ल्याउन सकिन्छ ।

बाढी पूर्वसूचना : मचानदेखि मोबाइलसम्म

मकवानपुरबाट चितवन राष्ट्रिय निकुञ्जको सीमा हुँदै नारायणी नदीमा मिसिने राप्ती नदीका सीमावर्ती समुदायमा जङ्गली जनावर र बाढीले दुःख दिइरहन्छन् । ती समुदायमा मचानमा बसेर खेती खान आउने जङ्गली जनावरको निगरानी गर्ने र धपाउने पुरानो अभ्यास छ । यसैमा आधारित भएर विक्रम सम्बत् २०५९ देखि चितवनमा बाढी पूर्वसूचना प्रणालीको विकास गरिएको थियो । असारदेखि बर्षाऋतुका करिब एक सय दिन आलोपालो गरी मचानमा बसेर नदीको निगरानी गर्ने र नदी बढेर गाउँ पस्ला जस्तो भो भने गाउँलेलाई खबर गर्ने अभ्यास सुरु गरियो । 

काम गर्दै जाँदा दुई वटा चुनौती आए । मचानबाट राती बाढी देख्न गाह्रो भो, साथै घरघर पुगेर सूचना दिँदा समय बढी लाग्यो । समाधानका रूपमा शक्तिशाली फ्लासलाइट र चर्को बज्ने विद्युतीय साइरन ल्याइयो । फेरि, बिजुली गएर लाइट बाल्न र साइरन बजाउन सकिएन । चार्ज गर्न मिल्ने एसिड ब्याट्री ल्याइयो । भारतको महाराष्ट्रबाट हातले घुमाएर बजाउन मिल्ने साइरन ल्याइयो, हाते माइक पनि प्रयोग गरियो । 

गाउँमा टेलिफोन आएपछि नदीको माथिल्लो भेगबाट तल्लो तटीय क्षेत्रका समुदायमा पनि खबर गर्ने व्यवस्था मिलाइयो । मकवानपुरको रजैया स्टेसनमा काम गर्ने जल तथा मौसम विज्ञान विभागका गज रिडरले बाढीको सूचना दिएर सहयोग गर्न सहमत भए । यसपछि मकवानपुरतिरबाट आउने बाढीको बारेमा कम्तीमा दुई घण्टा अगावै थाहा हुने भयो । स्थानीय कार्यदलले समुदायमा खबर गरी सबै सुरक्षित ठाउँमा विधि अपनाइयो । समुदाय केन्द्रित बाढी पूर्व सूचनामा प्रणालीमा हाते साइरन र माइकको प्रयोग गर्ने चलन अहिले पनि छँदै छ ।

खबर पाएपछि समयमै प्रकोपबाट जनधनको सुरक्षा गर्ने उपायहरू गरिएन भने पूर्व सूचनाको कुनै अर्थ हुँदैन । प्रकोप पूर्वसूचनाको क्रियात्मक लक्ष्य कम्तीमा पनि जोखिममा भएका मानिसहरू र सार्न सकिने सम्पत्तिलाई समयमै सुरक्षित ठाउँमा पुर्‍याउनु हो । पूर्व सूचनाबाट अलि धेरै समय उपलब्ध भयो भने समुदायमा अन्य बनावटका काम पनि गर्न सकिन्छ । 

पछि, स्टेसनहरू स्वचालित बनाएर बाढीको तह चितवनको जिल्ला प्रशासन कार्यालयमा पढ्न सकिने बनाइयो । यसबाट रजैयामा राप्ती र देवघाटमा नारायणी नदीमा बाढीको अवस्था के छ भन्ने तत्क्षण थाहा हुने भयो । निश्चित स्तरभन्दा ठुलो बाढी भएपछि 'डिस्प्ले'मा साइरन बज्ने बनाइयो ता कि बाढी बढेमा दिउसो वा राति प्रशासनमा तत्कालै थाहा होस् र समुदायमा खबर गर्न सकियोस् । यसरी बाढी अनुगमन र सञ्चारमा उपलब्ध भएका आधुनिक प्रविधिहरूको मद्दतबाट बाढी पूर्वसूचना प्रणालीमा सुधार हुँदै गएको छ । 

अहिले केही दिन पहिले नै बाढीको सम्भावना थाहा पाउन सकिन्छ र बाढीको थप निगरानी गर्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागले जोखिम क्षेत्रमा रहेका समुदायलाई मोबाइलमा सन्देश पठाउँछ । पैसा नलाग्ने नं. ११५५ मा फोन गरेर सोध्न पनि सकिन्छ । समुदायसँगको सहकार्यले यी परिवर्तन ल्याएको हो । 

प्रकोपको पूर्वानुमान

विभिन्न देश साथै अन्तर सरकारी निकायहरूको सहयोगमा जल तथा मौसम विज्ञान विभागले केही वर्षदेखि तीन दिनसम्मको वर्षाको पूर्वानुमान  गर्दै आइरहेकाे छ । ठुलो पानी पर्ने सम्भावना भएमा विभागले विशेष सूचना पनि जारी गर्छ र बाढी पहिरोको जोखिमका बारेमा सतर्क हुन सचेत गराउँछ । वर्षाका साथसाथै विभिन्न नदीमा रहेका बाढी मापन केन्द्रको तथ्याङ्कका आधारमा बाढीको जोखिमसम्बन्धी पूर्व सूचना उपलब्ध गराउँछ । 

पूर्वसूचनाका आधारमा बाढीको जोखिममा रहेका धेरै नदी तटका समुदायले बनावटका उपाय अपनाउने अभ्यास गरेपछि थाहै नपाई बाढी पसेर हुने जनधनको नोक्सानी उल्लेख्य रूपमा कम भएको छ । केही वर्ष यता पूर्वानुमानहरूको विश्वसनीयता बढ्दै पनि गएको छ । तथापि पूर्वानुमान शतप्रतिशत सही हुने सम्भावना कमै हुन्छ । यसर्थ, नदी किनारामा गेज गाडेर पानीको सतह नाप्‍ने, बाढीको स्तर अनुसार साइरन बजाउने, पहेँलो र रातो झन्डा देखाएर सूचना दिने साथै समुदायका स्वयंसेवी कार्यदलले जोखिममा रहेकाहरूलाई उद्धार गर्ने परिपाटीलाई थप सुदृढ गर्दै लैजानुपर्छ ।

विगत केही वर्षदेखि वर्षा ऋतुभरमा के कति पानी पर्न सक्ला भन्ने अनुमान चैत-वैशाखतिर सार्वजनिक गर्ने चलन छ । यसबाट विपद् व्यवस्थापन अधिकारीहरूलाई उपयोगी जानकारी प्राप्त हुन्छ । विश्व मौसम सङ्गठनको समन्वयमा यी प्रयत्नहरूले मौसमजन्य प्रकोपको पूर्वानुमान र अनुगमन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गरिरहेका छन् । क्षेत्रीय एवं राष्ट्रिय स्तरमा आगामी २४ घण्टा देखि ३ सम्मको वर्षा पूर्वानुमान साथै ७ दिन, १० दिन, १५ दिनसम्मको वर्षाको परिदृश्य पूर्वानुमान गर्ने अभ्यासहरू हुँदै छन् । लामो अवधिको पूर्वानुमान मिल्ने सम्भावना कम हुन्छ । त्यसैले प्रायः ७ दिन सम्मका मौसमी प्रक्षेपणहरू मात्र अलि बढी चासो दिएर सार्वजनिक गरिन्छ । तीन दिनसम्मका वर्षाका पूर्वानुमानहरू नियमित रूपमा प्रकाशन हुन थालेका छन् ।

निश्चित समयमा परेको मात्राका आधारमा जस्तै- एक, तीन, छ, बाह्र वा चौवस घण्टामा कति पानी पर्‍यो भन्ने हिसाबले वर्षा नापिन्छ । जल तथा मौसम विज्ञान विभागले नेपालमा १ घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा १०० मिलिमिटर, बाह्र घण्टामा १२० मिलिमिटर वा चौबिस घण्टामा १४० मिलिमिटर भन्दा बढी वर्षा भए पहिरो, बाढी जस्ता प्रकोप हुन सक्ने भनी सँघार निर्धारण गरेको छ । यदि यी अवधिमा उल्लेखित भन्दा बढी पानी पर्‍यो भने बाढी पहिरो जान सक्छ भनेर सूचना गरिन्छ ।

तापनि, स्थानीय जलाधारको परिस्थिति अनुसार वर्षाले यी सँघार नकाट्दै पनि प्रकोप हुन सक्छ । पहिरो, बाढीको लागि वर्षाको साथसाथै जमिनको पानी सोस्ने क्षमता, भिरालोपना, भू-बनावट र भू-उपयोग जस्ता जलाधारका परिस्थितिहरू कारक हुने हुनाले वर्षाको आधारमा मात्रै गरिने बाढी पूर्वानुमान वास्तविक घटनासँग सबै नमिल्न सक्छ । त्यसैले सामुदायिक विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले आफ्नो र आसपासको परिस्थितिको गहन लेखाजोखा गर्नु वाञ्छनीय हुन्छ ।

विपद्‌ जोखिमको ज्ञान र व्यवस्थापकीय अनुभव

विस्तृत सर्वे र कम्प्युटर मोडेल प्रयोग गरी बाढीको मात्रा अनुसार विभिन्न समुदायलाई हुन सक्ने सम्भावित असरको नक्शाङ्कन गरिन्छ । यसको आधारमा समुदायमा सम्भावित खतरा पूर्वानुमान गर्न सकिन्छ । बाढी नाप्ने केन्द्रमा नदीको पिँधदेखि माथि कुनै उचाइसम्मको बाढीलाई सामान्य तह र बाढी बढेर त्यो पार गरी माथि पुगेपछि क्रमशः सतर्कता तह, चेतावनी तह र खतरा तह निर्धारण गरिन्छ । नदीपिच्छे यी तहहरू फरक हुन्छन् । एउटै नदीमा पनि विभिन्न समुदायका लागि यो फरक पर्न सक्छ । जस्तो कि कर्णाली नदीको चिसापानीमा रहेको बाढी मापन केन्द्रमा नदीको जलस्तर पिँधबाट बाढी तह नौ मिटर पुग्दा कुनै समुदायलाई सतर्कता तह हुन्छ भने कुनै समुदायलाई चेतावनी । त्यस्तै १० मिटर पुगेपछि कसैलाई चेतावनी र कसैलाई खतरा तह हुन्छ । समुदायको अवस्थिति अनुसार कतै सानो बाढी आउँदा पनि गाउँमा पस्ने खतरा हुन्छ भने कुनैमा अलि ठुलो बाढी मात्र पस्ने खतरा हुन्छ । 

समुदायमा स्वयंसेवकहरूले बाढीको स्तर अनुसार साइरन बजाएर, माइकबाट भनेर, असक्त भएका घरमै गएर, पहेँलो र रातो झन्डा देखाएर सूचना सङ्केत दिने गर्नुपर्छ । सतर्कता तहमा समुदायले सजग हुने, बाढी र वर्षाको निगरानी गर्ने, सामान सुरक्षित ठाउँमा राख्ने, आफू सुरक्षित ठाउँमा जाँदा सँगै लैजाने सामान ठिक्क पारेर राख्ने आदि तयारीका काम गर्नुपर्छ । चेतावनी तहमा अपाङ्गता भएका, बिरामी लगायतका सुरक्षित ठाउँमा जान अरूको सहयोग चाहिने मानिसहरूलाई सावधानीपूर्वक सुरक्षित आश्रय स्थलमा लैजाने, बस्तुभाउ सुरक्षित ठाउँमा सार्ने आदि कामहरू गर्नुपर्छ । खतरा तहमा बाढी पुगेपछि आफूसँग लैजाने सामान लिई सबै सुरक्षित ठाउँमा जानुपर्छ । 

विक्रम सम्वत् २०७१ मा बबई नदीमा बाढी आयो । जिल्लाका अधिकारीहरूले पहिल्यै सूचना पाउँदा पनि बेवास्ता गरेको हुँदा अनपेक्षित रूपमा बढी धनजनको क्षति भयो । अधिकारीहरूले पूर्वसूचना प्रणालीले नै काम नगरेको भनेर विभिन्न बहाना बनाउन परेको थियो । कति मात्राको वा कुन विन्दुसम्मको बाढी आफ्नो लागि सजग, चेतावनी वा खतरा हो र पूर्वसूचना पाएपछि आफूले के गर्ने भन्ने सम्बन्धित समुदाय र विपद् व्यवस्थापन गर्न जिम्मेवार सबै अधिकारीहरूलाई जानकारी हुनुपर्छ । उनीहरूले इमानदारीपूर्वक विपद्‌ प्रतिकार्य विधिको पालन गर्नु गराउनु पर्छ ।

पहिले सञ्चारका साधनहरू कम थिए र तिनमा सबैको पहुँच पनि थिएन । हिजोआज वर्षा वा बाढीको जोखिमका सूचना रेडियो, टेलिभिजन, मोवाइलफोनमा सन्देश, इन्टरनेटमा आधारित सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर आदि), टेलिफोनबाट सकेसम्म छिट्टै सम्बन्धित समुदायमा पठाइन्छ । यिनै सन्देशहरूलाई जनबोलीमा पूर्वसूचना भनिन्छ । पूर्वसूचना प्रणालीमा मौसमको अनुगमन, बर्षामापन, बाढी जस्ता प्रकोपको पूर्वानुमान र निगरानी देखि समुदायले सुरक्षित हुन र क्षति कम गर्न गरिने वचावटका कामहरू समेत समेटिएका हुन्छन् । 

विज्ञान प्रविधि, साथसाथै अभ्यास पनि

मौसम विज्ञानमा भएको प्रगति र प्रविधिको विकासले वायुमण्डलमा भइरहेका गतिविधिहरू नियाल्न सकिने भएको छ । वायुमण्डलमा भइरहेका गतिविधिको अनुगमनबाट कतै प्रतिकूल मौसमी अवस्था वा कुनै प्रकोपजन्य घटनाको विकास हुन थाल्यो भने त्यसको बारेमा तत्कालै थाहा पाउन सकिन्छ । मानिसका गतिविधिका कारण वायुमण्डलमा भएको हावाको संरचनामा परिवर्तन भएको, त्यसका कारण वायुमण्डलमा रहेको ताप शक्ति बढेर जलवायु परिवर्तन भइरहेको थाहा हुन सकेको छ । जलवायु परिवर्तनबाट भविष्यमा झन् ठुला प्रकोपका साथै अन्य गम्भीर प्रभावले जीवन र जगतमा अनपेक्षित सङ्कटहरू ल्याउन सक्ने पूर्वानुमानहरू भएका छन् । 

अहिले समुद्रमाथि चक्रवात उत्पन्न भई कुन दिशामा बढिरहेको छ भनी तत्कालै अनुगमन गर्न सकिन्छ । त्यसले कति शक्तिशाली आँधी सिर्जना गर्न सक्छ, त्यो आँधी कुन क्षेत्रमा कहिले झर्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । भू-उपग्रह एवं दूरसंवेदन प्रविधिबाट यस्ता प्रक्रियामा हरदम निगरानी गरिन्छन् । निगरानीबाट पाएका जानकारीको विश्लेषण गरी त्यसको नतिजा तत्कालै सम्बन्धित विपद्‌ व्यवस्थापन अधिकारीहरू र आम मानिसहरूलाई खबर गर्न सकिन्छ । त्यसैले अब प्रकोप हुन सक्ने भेउ समयमै पाउन र प्रकोपबाट हुने विनाश कम गर्न सकिने सम्भावना बढ्दै गएको छ ।

विश्वका विभिन्न देशमा गरिएका अभ्यासहरूबाट पूर्वानुमानका आधारमा प्रकोप नआइपुग्दै गरिएका तयारी र बनावटका उपायहरू निकै प्रभावकारी भएका देखिएका छन् । घटनापछि गरिने उद्धार र राहतमा लाग्ने भन्दा कैयौँ गुणा कम खर्च र कम मिहिनेतमा जनधन जोगाउन सकिने उदाहरणहरू छन् । भारतको उडिसा राज्यमा विक्रम संवत् २०५६ मा 'सुपर साइक्लोन' नामको आँधीमा दसौँ हजार मानिसको ज्यान गएको थियो । विक्रम संवत् २०७१ आएको उस्तै खतरनाक हुडहुड नामको आँधीमा त्यहाँ निकै कम मानवीय क्षति ‍(२५ जनाको मृत्यु) भयो । भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले गरेको समीक्षा अनुसार पूर्वसूचनाको आधारमा यथेष्ट तयारी गरेकाले उडीसामा मृत्यु घटाउन सकिएको थियो । नेपालमा पूर्वसूचनाको प्रभावकारी अभ्यास हुन नसकेकोले हुडहुड आँधीले अन्नपूर्ण हिमाली भेगमा ल्याएको हिमपात र पहिरोका कारण ५९ मृत्यू भएकाे , कम्तीमा ४० जना हराएका र १७५ जना घाइते भएका थिए । 

खबर पाएपछि समयमै प्रकोपबाट जनधनको सुरक्षा गर्ने उपायहरू गरिएन भने पूर्वसूचनाको कुनै अर्थ हुँदैन । प्रकोप पूर्व सूचनाको क्रियात्मक लक्ष्य कम्तीमा पनि जोखिममा भएका मानिसहरू र सार्न सकिने सम्पत्तिलाई समयमै सुरक्षित ठाउँमा पुर्‍याउनु हो । पूर्वसूचनाबाट अलि धेरै समय उपलब्ध भयो भने समुदायमा अन्य बनावटका काम पनि गर्न सकिन्छ । 

निगरानी गरेको ठाउँबाट प्रकोपलाई समुदायसम्म पुग्न लाग्ने समय (अग्रिम समय) र खबर पाएपछि समुदायलाई आफू भएको ठाउँबाट पूर्वनिर्धारित सुरक्षित ठाउँमा पुग्न लाग्ने समय (अवसर) एकदमै महत्त्वपूर्ण हुन्छन् । आँधी वा बाढीको खबर पाएपछि त्यो आइ नपुग्दै सुरक्षित हुन सकियो भने मात्र पूर्वसूचनाको लक्ष्य पुरा हुन्छ । त्यसैले अग्रिम समय जति धेरै भयो, उति नै राम्रो । अनि जति छिट्टै सुरक्षित ठाउँमा पुग्न सक्यो त्यति नै राम्रो । भूकम्प, चट्याङ, पहिरो जस्ता प्रकोपहरू तत्कालै हुने हुनाले चाहिने जति अग्रिम समय पाइँदैन, पूर्वसूचना उपयोगी नहुने सम्भावना बढी हुन्छ । चक्रवात र वर्षाको पूर्वानुमान एक देखि तीन दिन अगावै गर्न सकिने भएकाले तिनको पूर्वानुमानमा आधारित भएर सुरक्षित हुन र धनमालको क्षति कम गर्न मनग्गे समय हुन्छ ।  

समुदायमा सबै मानिसहरू एकै किसिमको अवस्था र क्षमता भएका हुँदैनन् । भाषा, संस्कार, उमेर अवस्था, अपाङ्गता आदि कारणले मानिसहरूलाई पूर्वसूचना थाहा पाउन, थाहा पाएपछि अब के गर्ने ? भनेर निर्णय गर्न र सुरक्षित हुन विभिन्न कठिनाइ हुन्छन् । उनीहरूलाई तत्कालै बाहिरी सहायता चाहिन सक्छ । खास गरी आर्थिक, सामाजिक र व्यक्तिगत कारणले कमजोर क्षमता र बढी संवेदनशील परिवारहरू नै जोखिम धेरै भएका क्षेत्रमा बसोबास गर्न बाध्य हुन्छन् । 

जल तथा मौसम विज्ञान विभाग र समुदायका जस्तै अरु सङ्घ संस्थाका पनि आ-आफ्ना भूमिका र जिम्मेवारी हुन्छन् । विपद्‌ व्यवस्थापन गर्न जिम्मेवार निकाय र अधिकारीले प्रकोपको प्रकृति, मात्रा र सम्भावित खतराका साथै समुदायका विभिन्न पुलहहरूलाई ध्यान दिनुपर्छ । जोखिममा रहेका समुदायको जिउधनको रक्षा गर्ने सामूहिक लक्ष्य हासिल गर्न परस्परमा समन्वय गरी विधिपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । पूर्वसूचनाको उपलब्धता र समुदायसँग मिलेर काम गरी प्रकोपबाट हुने विनाश कम गर्नु सबैभन्दा महत्त्वपूर्ण कडी हो ।

तैपनि, हिजोआज सबैजसो निकायहरूले जल तथा मौसम विज्ञान विभागबाट पाएका सूचना पुनःप्रशारण गर्ने गरेको पाइन्छ । विभागले उत्पादन  गरी प्राप्त पूर्वसूचनालाई देउसी भैलोको तालमा दोहर्‍याएर विपद्‌ व्यवस्थापनको कार्यभार पुरा हुँदैन । केवल प्रकोपको खबर पठाएर मात्र जिम्मेवारीबाट पन्छिन मिल्दैन । विपद्‌को जोखिममा रहेका समुदायहरूको परिस्थिति कस्तो छ ? उनीहरूलाई के सहायता चाहिएको छ ? उनीहरूले पूर्वसूचना प्रणालीको उपयोग गर्ने उपयुक्त तौर तरिका के हुन सक्छन् ? र, कसरी सफलतापूर्वक विपत्तिको सामना गर्ने  ?  भन्ने बुझेर  पूर्व सूचनाको  उपयाेग गर्न सक्नु पर्छ ।