नाइट भिजन हेलिप्याड निर्माण

नाइट भिजन हेलिप्याड निर्माण

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २७, २०७७

रोल्पा । यहाँ नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ । रोल्पा नगरपलिकाले सदरमुकाम लिबाङ बजारदेखि करीब ५०० मिटर दूरीमा रहेको सो हेलिप्याड मनोरम दृश्यसहित निर्माण गरेको  हो । 

रोल्पा अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । 'अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने भयो', केसीले भन्नुभयो ।

अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड बर्सातसँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको थियो । 'अघिल्लो वर्ष बनाएको हेलिप्याड भत्किएपछि यस वर्ष पिलर तथा सरिया बिछ्याएर ढलानसहित हेलिप्याड निर्माण गरिएको छ', प्रमुख केसीले भन्नुभयो । सो हेलिप्याडका लागि यस वर्ष२० लाख रुपैयाँ थपिएको हो । 'यस वर्ष थपिएको बजेटले हेलिप्याड निर्माणका साथै वरपरका संरचना पनि निर्माण भएको छ', केसीले थप्नुभयो । 

बर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने अधिकारकर्मी श्रीकुमारी रोकाले बताउनुभयो । 

जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको थियो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरेको हो ।