मानिसकाे मूल्यांकन : गाडी चढ्दैमा सभ्य होइन्छ र ?

मानिसकाे मूल्यांकन : गाडी चढ्दैमा  सभ्य होइन्छ र ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  श्रावण २७, २०७७

गाडी चढेर हिँड्ने मानिस सभ्य, असल, नैतिकवान्, इमानदार र जिम्मेवार होलान् भन्ने हामी मध्ये धेरैलाई लाग्ने गर्छ । तर सोचे जस्तो नहुने रहेछ । ‘मर्निङ वाक’ जाँदा घरमा पालिएको कुकुरलाईसँगै डोर्‍याउँदै जाने अनि सडकमा नै कुकुरलाई दिसा पिसाब गराउनेहरूको लर्को नै लागेका हुन्छन् । दिनभरि गाडी चढेर हिँड्ने व्यक्ति, अर्काको घरको गेट अगाडि आफ्नो कुकुरलाई दिसा पिसाब गराउनुलाई सामान्य मान्दछन् । यस्ता आचरण भएकाहरूले जति नै महँगा गाडी चढेर हिंडेपनि त्यस्ता व्यक्तिहरू मनैदेखि धिक्कार्ने व्यवहार गरिरहेका हुन्छन् ।  

एक जना चिने जानेका मानिस गाडी चढेर हिँड्ने गर्छन्, बाहिरबाट हेर्दा राम्रै देखिन्छन् । गाडीमा हिँडेको भन्दै बाहिर लगाएको जुत्ता सहित घरका सबै ठाउँमा पुग्दा रहेछन् । घर त यति अस्तव्यस्त छ, कुरा गरी साध्य छैन । आफ्नो घर व्यवस्थित गर्न नजान्नेले गाडी चढेर आफूलाई सम्पन्नता देखाउन खोज्नु भनेको ढोङ बाहेक केही होइन । गाडी चढेर  आफूलाई सभ्य मानिसको चिनारी दिन खोजे झैँ आफू बस्ने घर, वरपरको वातावरण पनि उत्तिकै सफा र राम्रो भयो भने मात्र मानिस सभ्य हुन्छ भनेर कसले सम्झाइ दिने हो कुन्नि !  

गाडी चढ्दा मलाई सभ्य देखिन्छ भनेर गाडी चढ्नेहरू अन्य कुरामा रत्तिभर ख्याल राखेको भने पाइँदैन ।  यसले गर्दा गाडी चढेर हिड्नेलाई भन्दा अरूलाई नै अप्रत्यक्ष रुपमा दुःख दिइरहेको हुन्छ । आफू सरर गाडीमा हुइँकिँदा अरूलाई हिलोले नछ्यापी हुँइकयाउनु नै उत्तम हो  भनेर कसले सम्झाई दिने हो कुन्नि ! 

गाडी चढ्नु भनेको सम्पन्नताको प्रतीक मानिएला । आफू राम्रो घर परिवारको हो भन्ने दर्साउँछ भनेर मानिसहरू घर बनाउँदैन तर गाडी चढेर हिँड्छन् । दुइपांग्रे सवारी साधन चढेर हिँड्नु भन्दा गाडी चढेर हिँड्दा धेरै आरामदायी हुन्छ । यसमा कुनै शङ्का छैन । गाडी चढेर हिँड्दा इज्जत नै बेग्लै हुन्छ भन्ने भ्रम पालेर महिनाको ३० हजार आम्दानी हुनेले पनि बैङ्कबाट ‘लोन’ गरेर गाडी किन्छन् र सरर हुइँकिन्छन् । गाडी चढ्दा मलाई सजिलो हुन्छ भनेर गाडी चढ्नेहरू भन्दा देखाउनैकै लागि गाडी चढ्नेहरूको पनि  हाम्रो समाजमा कमी छैन । गाडी चढ्दा मलाई सभ्य देखिन्छ भनेर गाडी चढ्नेहरू अन्य कुरामा रत्तिभर ख्याल राखेको भने पाइँदैन ।  यसले गर्दा गाडी चढेर हिड्नेलाई भन्दा अरूलाई नै अप्रत्यक्ष रुपमा दुःख दिइरहेको हुन्छ । आफू सरर गाडीमा हुइँकिँदा अरूलाई हिलोले नछ्यापी हुँइकयाउनु नै उत्तम हो  भनेर कसले सम्झाई दिने हो कुन्नि ! 

गाडी चढ्दैमा मानिस सभ्य हुने होइन । राम्रो व्यक्तित्वको रुपमा गनिने पनि होइन । आफ्नो व्यक्तित्व, असल र राम्रो बनाउनका लागि त्यही अनुरूपको काम व्यवहार गर्नु आवश्यक हुन्छ ।  पहिलो चोटि भेटघाट भएपछि मानिसको मूल्याङ्कन गर्नु पर्दा गाडी चढेर आएको थियो । राम्रै परिवारको होला ? अनि कमाइ धमाइ भएको मानिस होला ? भनी हामी अड्कल काट्न सकिएला  । कहिलेकाहीँ मात्र यो अडकलले मेल खान सक्छ कहिले काहीँ मेल खाँदैन पनि । त्यसैले गाडी चढेर हिँड्ने मानिस देख्ने बित्तिकै राम्रो र असल मानिस भनेर मूल्याङ्कन गर्नु भनेको आफ्नै मुर्ख्याइँ हो । 

 मानिसको व्यवहार र आनीबानी व्यक्ति पिच्छे फरक फरक हुने गर्छ । मानिस आफूले गरेको लगनशीलता र परिश्रम अनुसार नै  जीवन व्यतीत गर्ने हो । कोही मानिस भौतिक विलासिताको चाहाना नै राख्दैन ।  कोही मानिस देखावटी स्वभावका हुन्छन् । आफू सुत्ने बिछ्यौना राम्रो हुँदैन, आफू बस्ने घर अस्तव्यस्त हुन्छ, आफ्नो खानपान राम्रो हुँदैन तर पनि गाडी चढेर हिढ्ने गर्छन् । यी सबै मानिसको चाहाना अनुरूप नै हुने कुरा हुन् । गाडी चढेर हिँड्ने मानिस देख्दा सुन्दर लागे झैँ उ बस्ने घर उत्तिकै सफा हुन्छ, घर व्यवस्थित हुन्छ, उसको भान्छा कोठा उत्तिकै सफा हुन्छ भन्ने हामी सोच्ने गछौं । तर गाडी त चढेर हिँडिन्छ भन्दै आफूले लगाएको जुत्ता बिछ्यौनामा गएर फुकाल्ने कतिपय मानिस देख्दा कठै कसले भनिदिने हो कुन्नि !

हाम्रो देशमा गाडी चढेर हिँड्ने मानिसहरू धनीमा गनिन्छन् । गाडीको मूल्य नै महँगो हुने हुँदा गाडी चढेर हिँड्ने मानिस धनीमा गनिएको हो । तर इच्छा र चाहाना हुनेले ५ लाख देखि ५० करोड सम्मका गाडी चढ्न सक्छन् । बैङ्कले गाडी किन्नका लागि ‘लोन’ उपलब्ध गराउने भएका कारण पनि गाडी किन्न सजिलो छ । सेकेन्ड ह्याण्ड चलाउँछु भन्नेका लागि त झनै सजिलो हुने नै भयो । यस्का लागि नियमित दह्रो आम्दानी हुनु जरुरी छ । महिनाको १५ हजार कमाई गर्नेले भने गाडी किन्न मुस्किल नै पर्छ । 

अन्य देशको कुरा गर्ने हो भने प्रधानमन्त्री नै साइकल चढेर सरर हिँड्छन् । उनीहरूलाई सभ्य र सम्पन्नता भनेर देखाउनु नै जरुरी हुँदैन । बाटो बाटोमा फोहोर पार्ने, घर फोहोर पार्ने र जुत्ता खोलेर मात्र घरमा प्रवेश गर्नु पर्छ भनेर जरुरी नठान्नेहरू तथा अस्तव्यस्त अवस्थामा रहने यस्ता मानिस करौंडौंको गाडी चढ्दैमा सभ्य कहिल्यै हुँदैन भन्ने कुरा कसले बुझाइदिने होला ?