दिप्रुङ चुईचुम्मालीको अभियान जारी : सुबेदी र तामाङलाई ८५ र ३४ हजार सहयोग जुट्यो

दिप्रुङ चुईचुम्मालीको अभियान जारी : सुबेदी र तामाङलाई ८५ र ३४ हजार सहयोग जुट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २८, २०७७

काठमाडौँ ।  खोटाङ स्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका स्थायी बसोबास भई काठमाडौँमा  विभिन्न पेसा व्यवसायमा रहेकाहरूका पालिका बासीको  साझा स‌ंस्था  दिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठमाडौँले एक साथ आर्थिक अभावमा उपचार गर्न गाह्रो भइरहेका दुई जना  बिरामीको सहयोगका लागि  आर्थिक सङ्कलन अभियान सञ्चालन गरिरहेको समाजले जनाएको छ । 

'रोगी, गरिब, असहाय तथा दिन दुःखीको सहारा, दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको अभिभारा' भन्ने नाराका साथ  दिप्रुङ चुईचुम्मा गाउँपालिका -३  कि ३७  वर्षीय  सरिता तामाङ  र दिप्रुङ चुईचुम्मा गाउँपालिका- १ महेन्द्रोदय आधारभूत विद्यालय याम्खाका शिक्षक जय प्रकाश सुबेदीको उपचारको लागि एक साथ अभियान सञ्चालनमा ल्यइएकाे  समाजका सचिव नवराज रोकाले जानकारी दिनु भएको छ ।  सचिव रोकाका अनुसार यो अभियान मार्फत २०७७ साउन २७ गते मङ्गलवारका दिनसम्म  शिक्षक सुवेदीका लागि  करिब ८५ हजार ५ सय ८४ र सरिता तामाङको लागि करिब ३४ हजार ५ सय एक रुपैयाँ  सङ्कलन भइसकेको छ । खोटाङे र गाउँपालिका बासीहरूमाझ यो अभियान सञ्चालन गरिएका संस्थाले बिरामीलाई सहयोग गर्ने सबै सहयोगी दाताहरूलाई सम्मान पत्र  तथा सहयोग  रसिद उपलब्ध गराउने समेत तयारी गरिरहेको समाजले जानकारी  दिएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिका- ३ छोरोम्बु निवासी बुद्धिमान तामाङको  बर्ष ३७ वर्षीय छोरी   सरिता तामाङ लामो समय देखि दुबै मिर्गौलामा समस्या भई काठमाडौँ स्थित टिचिङ हस्पिटलमा उपचार गराई रहनु भएको  र उहाँको दुबै मिर्गौलाले काम गर्न  छोडिसकेको छ । मिर्गौला दाता हुँदा हुँदै समेत आर्थिक अभावको कारण मिर्गौला फेर्न समस्या भएकोले 'सरिता तामाङ बचाउ अभियान' सुरु  गर्नु परेको  पनि दिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठमाडौँका सचिव नवराज रोकाले जानकारी  दिनु भएको छ । 

त्यसैगरी संस्थाले दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ महेन्द्रोदय आधारभूत विद्यालय याम्खाका शिक्षक जय प्रकाश सुवेदी गत ५ महिना अधि देखि उक्त रक्तचापको कारण टिचिङ अस्पतालमा उपचार गराइरहनु भएको र बारम्बार स्वास्थ्यमा समस्या देखिएकोले अप्रेसनको लागि उपचार खर्च अभाव भएको कारण  समाजले यस अभियानलाई निरन्तरता दिएको कोषाध्यक्ष एलिना राईले जानकारी  दिनु भएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिका बासी काठमाडौँ उपत्यका भित्र र देशको विभिन्न ठाउँमा छरिएर रहेका आम दाजु भाइ दिदी बहिनिलाई एउटै छाना मुनी गोलबद्ध बनाई दिप्रुङ चुईचुम्मा बासीलाई दुःख आपत् बिपतमा साथ सहयोग गर्ने उद्देश्यको साथ २०७६ सालमा यस स‌ंस्था स्थापना गरिएको समाजले जनाएको छ । 

समाजले दिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठमाडौँ नाममा  प्रभु बैङ्क हात्तीगौ‌ंडा शाखा काठमाडौँ खाता नम्बर १०००१५०३१६७०००१५ मा सहयोग उपलब्ध गराई दुबै जनाकाे उपचारमा सहयोग उपलब्ध गराई  दिन समेत आव्हान समेत गरेको छ ।