कोरोनाको महामारीका कारण ७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै
श्रावण २८, २०७७

दाङ । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटेलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटेल सञ्चालकले बताएका छन् । 
    
घोराहीस्थित होटेल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटेलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन । 'व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छाैँ, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ', सुवेदीले भन्नुभयो । अहिले तत्कालको अवस्था सहज नदेखिएकाले केही समय घरमै बस्न भने पनि समस्या परेकालाई सहयोग गरिएको सुवेदीले बताउनुभयो । होटल व्यवसाय फस्टाउन नसक्दा होटेलमा काम गर्ने श्रमिकको रोजगारी गुमेको छ ।
    
श्रमिकलाई सम्पर्कमै राखेको तर बिदाको तलब दिन नसकिएको घोराहीकै होटेल डोकोका प्रबन्धब वसन्त जिएमले बताउनुभयो । होटेलमा २१  श्रमिक रहेकामा अहिले नौ जनालाई मात्रै काम दिइएको छ । 'घरमै बसेकाहरुलाई समस्या पर्‍यो भने पछि तलबबाट काट्ने गरी रकम सहयोग गरेका छौँ', उहाँले भन्नुभयो । अहिले काममा आएकाहरुलाई पनि होटेल सफा राख्ने र कफी बेच्नेबाहेक अरु केही काम दिन नसकिएको जिएमको भनाइ छ । 

दाङमा सानाठूला गरी करीब एक हजार तीन सय होटल छन् । कोरोनाले निम्त्याएको सङ्कटले ७६ होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ । भाडाका घरमा सञ्चालन भएकाले घरभाडा तिर्न नसक्दा होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताउनुभयो । 'अब हामीले होटेल व्यवसाय सञ्चालन गर्न सक्दैनौँ भनेर दैनिक दुईतीन जना लगत कट्टा गराउन आउनुहुन्छ', उहाँले भन्नुभयो । डाँगीका अनुसार उहाँको होटलमा काम गर्ने श्रमिकमध्ये अहिले २५ प्रतिशत मात्रै छन् । “आफैँ घरपरिवारका सदस्यले चलाएको छु, व्यापार छैन, श्रमिकलाई राख्दा श्रमको पैसा पनि दिनुपर्‍यो, समस्या छु, उहाँले भन्नुभयो । 

जिल्लामा कोरोनाका कारण अहिले करीब ७५ प्रतिशत श्रमिक रोजगारी गुमाउन बाध्य छन् । प्रदेश नं ५ मा करीब ११ हजार होटल व्यवसाय सञ्चालनमा छन् जसमा करीब ८५ अर्ब लगानी रहेको नेपाल होटेल तथा रेष्टुरेन्ट व्यवसाय महासङ्घ प्रदेश नम्बर ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ती होटेलमा ६० हजार श्रमिक  छन् तर अहिले करीब २५ प्रतिशत श्रमिक मात्रै कार्यरत छन् । 

अझै पनि कोरोनाको प्रभाव बढ्दै गएमा  कामदारको पनि रोजीरोटी गुम्ने खतरा रहेको उहाँले बताउनुभयो । होटेल व्यवसाय तत्काल फस्टाउने अवस्था नदेखिएकाले  श्रमिकको रोजीरोटी गुम्न थालेको काफ्लेको भनाइ छ । 'व्यवसायीलाई अहिले बैंकको किस्ता तिर्नेदेखि घरभाडा कसरी बुझाउने भन्ने पिर छ, अर्कातिर श्रमिकको रोजीरोटी कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ', उहाँले भन्नुभयो ।