घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण २८, २०७७

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो ।

वागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार  जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६  प्रहरी कर्मचारी निलम्बित छन् । 

उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटाँैंडामा झिकाइएकामा  थप छानबिन गर्न हाललाई मङ्गलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार  निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार  प्रहरी जवान छन् । 

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र  डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र  रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको  इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत  थिए ।  निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको उहाँले जानकारी दिनुभयो । आफ्नो ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वागमती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताइएको छ ।

सुचना समन्वय अधिकृत थापाले भन्नुभयो, ‘वागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ ।’ उहाँका अनुसार सेवाग्राहीसँंग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित ११ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५  प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।