आईपीएल २०१९ : पहिलो खेलमा चेन्नई र रोयल च्यालेन्जर्स भिड्दै

मुम्बई । इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेले हुनेछ ।

भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले नेतृत्व गरेको दुई टिमबीचको खेल चेन्नईको एमए चिदाम्बरम र‌ंगशालामा आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिमको रुपमा चेन्नेईलाई लिइन्छ । चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् ।

नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।