वरिष्ट फिजिसियनले पुर्‍याउन नसकेकाे सेवा
कथा
चैत्र ९, २०७५

‘के कुरा सुन्दैछु आज !?’

‘.....................’

‘त्यस्ता गुणवेत्ता बाबु सँग रिसाउने ?’

‘हो नि ! यस्तो पनि हुँदो रै‘छ, कैले–कैले !’

‘हत् ! यति ठूलो गल्ती कहिल्यै नगर्नु !’

‘के को गल्ती न सल्ती नि ? बाबुले रीस उठाएपछि कोसँग रिसाउने त ?’

अलि झर्केर ब्यङ्गय गर्दै –‘तिमीसँग रिसाउनु भएन क्या रे ?’ 

‘अँ दुनियाँको भलो गर्दै हिड्ने, सबैले भलाद्मी र सज्जन मानेको तिम्रा बुवाले काम नपा‘र तिम्लाई रीस उठाउलान् ! कसैले नपत्याउने बाइयात कुरा पनि गर्ने ?’

‘हो भन्या, नपत्याउने खोलाले यसपाली बगायो क्या । उहाँले उठाएको रीस उहाँलाई नपोखी कोसंग पोख्ने त ? राजनीतिमा जस्तो ‘चोरलाई चौतारी सोझालाई सुली’ गर्न जान्या छैन मैले ।’ 

‘मसँग रिसाउने ? मैले के बिरा’छु र ? बरू तिम्लाई कुनै पेसेन्टले रीस उठायो होला । बिमार ठीक भएन भनेर खूब स्वाभिमानी भै खा’की मै’सा’बलाई ठेस पुग्ने गरी कच्–कच् गर्‍यो होला । सधैँको दिनभरिको कामको बोझले थिचेर टेनसन भा’को हुनु पर्छ । हो कि हैन लौ भन त ?’ आँखा झिम्क्याएर मुसुक्क हासी ठट्टा गर्दै पीताम्बरले अन्दाजको तीर हान्यो ।

‘लाडप्यारमा हुर्केकी एक्ली सन्तान भएकीले बाबा मामुसंग रिसाउनु, दङ्गयाउनु, घुक्र्याउनु त तिम्रालागि खाना खानुजस्तै हो । वाल्यकालदेखि लागेको बानी मौका आउनासाथ थाहै नपाइ प्रकट हुने गर्छ, कसै–कसैलाई । अन्यत्र रीस पोख्न नपाएर आफ्नो बाबासंग रीस उठ्या हुनुपर्छ, ?’ एकछिन रोकिएर सोचेपछि अधिकांश दन्त देखिने गरी हासेर पीताम्बरले पुनः आफ्नो तर्कलाई पुष्टि गर्ने प्रयाश गर्‍यो । 

‘सबैले जानेको कुरा, उहाँ रिसाउने मान्छे नै होइन ।’ टिफिन खान छाडेर आफूलाई रिसालु नजरले पिङ्कीले हेरेको वास्तै नगरी ऊ फेरि उपदेश दिन थाल्यो–‘त्यसै त कसैसँग पनि रिसाउनु हुन्न के यति राम्री मान्छेले । 

‘के को राम्री र नराम्री नि ? तिम्रो मुड चल्दाको राम्री त हुँ नि ! मुड बदलिनासाथ तिम्ँलाई म जस्ती नराम्री, काली, कोप्ची, अनुहार मास्सिएकी डल्ली, कैली अरू हुँदैनन् क्यारे, लौ होइन भन त ?’ 
‘रीस खा आफू, बुद्धि खान्छ अरू’ त्यसै यो उखान चल्या हैन के ? रीसले अरूलाई हैन आफैँलाई हानी गर्छ –यो उहिल्यै विज्ञानले प्रमाणित गरेको कुरा हो ।’ 

छड्के नजरमा पीताम्बरलाई कटाक्ष गरेपछि पिङ्की अझ च्याँट्ठिई । 

‘वरिष्ट फिजिसियन भएर के नापेँ त मैले ? समय जति अरूको उपचार र पैसा सोहर्नमै पुगेन मेरो । आफ्नो बाबुलाई समेत पूरा आयु बचाउन सकिन । मेरै वेवास्ताको कारणले बुवा जानु भयो ।’ निक्कै पछिसम्म पिङ्कीको मनमा यस्ता कुराले बास गर्‍यो । 

‘भो चाहिदैन तिम्रो यो फोस्रो लोलोपोतो ।’.....आज त टिफिन हैन फोस्रो उपदेशले मनपेट भरियो आफ्नो त । ठिकै छ ऐले सासूको पालो आ’रै’छ, बुहारीको पालो पनि आउला नि, कुनै दिन ।’ चम्चामा हालेर खान ठिक्क परेको गाँस छाडेर पिङ्गीले प्रतिवाद गरी ।

पिङ्कीको बाबुको वारेमा बहसमा उत्रेका श्रीमान पीताम्बर र श्रीमती पिङ्की रीसको पातालो पर्दा ओडेर आपसमा वेलावेलामा व्यङग्यात्मक छेडखान गर्दै खानै छाडेर कुरा गर्न थाले । 
पिङ्की ठूलो स्वरमा कड्किएकीले पीताम्बर ननिको मान्दै अलि नरम भएर सम्झाउन थाल्यो । पिङ्की भने झन् भात छड्के जसरी फत्फताई । 

‘वाह ऽ श्रीमानजी ! बाबु मेरो, वकिल तपाईँ !’ 

रिसाउदा पिङ्की मुख बङ्गयाएर छेडखान गर्ने गर्थी । त्यस दिन पनि त्यसै गर्न थालेकी हुनाले ‘यो रीसको भकारीले कतै मैलाई तारो बना’की त होइन ?’ पिङ्कीको बढिरहेको झोक आफैमा खनिन वेर नलाग्ने देखी पिताम्बर अलि डरायो । ऊ होसियार भएर बोल्यो ।

‘खाजा पनि खादै कुरा पनि गर्दै गरम् न ! ल खाउ ।’ आफूले खान चम्चामा ठिक्क पारेको खाना प्रेमपूर्वक पिङ्कीलाई खुवाउन खोज्दै पीताम्बरले कुरा अघि बढायो । 

‘तिम्रा बाबु मेरा पनि बाबु नै हुन् । लौ होइन भन त ! आफ्नो त बाबाले नला’को गुन ब्हाँले ला’उनु भा’ छ । अनि वकालत गर्नु परेन त ?’ ती दुई बीचको सवाल जवाफको वक्तृत्वकला जारी रह्यो ।

‘उहाँ पैलाको जस्तो सरल, सहज र ज्ञानी हुनुहुन्न । मामु गएपछि उहाँमा परिवर्तन आएको छ । त्यो परिवर्तन झन् पछि झन् बाक्लिदै गएको छ । त्यो यहाँलाई था’ नहुनसक्छ । क्यैलै ससुराल जाने भा’ पो था’ हुनु ।’ पिङ्कीको यो प्रहार शाब्दिक भए पनि पीताम्बरलाई भने बाण लागेझैँ भयो । ‘कैलेकाही दुई पाइला अघि सर्दा एक पाइला पछि सर्नु पर्छ भनिन्छ । भै गो व्यर्थमा विवादको रडाको किन गर्नु ?’ उसले प्रेमपूर्वक खुवाउन खोजेको खानासमेत पिङ्गीले बायाँ हातले छेकी नखाएकी हुनाले ऊ सतर्क भयो । पिङ्की बोल्दै गई ।

‘नरिसाएसम्म कानमा बतास नलाग्ने हुनु भएको छ आजकल बुवा । चढ्दो उमेरको पर्दाले छोपिएको उहाँको सुन्ने क्षमतालाई सक्रिय पार्न रीस गर्नैपर्ने भयो ।’ लोग्ने ठण्डा हुँदै गएको ठानेर पिङ्की अरू अग्रसर भई । 

‘रीसलाई छेउमा पर्नै नदिने बाबुसँग के खटपट पर्‍यो यसको ? बाबुसँग निकै तातिई जस्तो छ ? तातेपछि सितिमिति सेलाउन नजान्ने यसको रीस कसरी झार्ने ?’ बेचैनीलाई च्यापेर आफ्नै मनसँग कुरा गरिरहेको पीताम्बरले जवर्जस्त अनुहार हँसिलो पारेर श्रीमतीतिर आफ्नो वैसालुवेलाको मायाको मोहनी अस्त्र छाड्यो । औँसी पूर्णिमा नभइ नदेखिने आफ्नो प्रिय मान्छेको अनुहारमा चन्द्रमा उदाउन लागेको देखी पिङ्कीको रीसको पारो ओरालो लाग्यो । ऊ  अलि तटस्थ भई ।   

भुइँमा खस्न नपाउदै कुरा बुझ्ने र काम गर्ने बानी भएका एक भलाद्मीमा गनिएका ससुरालाई सम्झेर पीताम्बरलाई झन् खस खस लाग्यो । उसले कुरा रोक्नै सकेन । 
‘ए मेडम् ! उहाँ त त्यस्तो मान्छे हुँदै हैन ? तिम्रो कुरा कसोरी पत्याउँ म । उमेरले प्रौढतालाई घचेटेर बुढेसकालमा हुत्याउन थालेपछि कतिपय वृध्दहरूको व्यवहार परिवर्तन हुन्छ भनौं भने त्यस्तो

खासै उमेर पनि भा’छैन ब्हाँको ।’ 

‘हेत्तेरिका, तिमी मारी हत्ते ल ! कस्तो नपत्या’को होला ?’ 

‘बिरामी त पर्नु भएन कतै ?!’ पिङ्कीले कडा प्रतिउत्तर दिए पनि पीताम्बरले उत्सुकता ओछ्याउन छोडेन ।

‘खै के भन्नु मैले ? सोध्दा क्यै भा’छैन । सब ठीक छ भन्नु भयो । फेरि सोधेँ । कति करा’को ? नबिक्ने पत्रु माललाई बिकाउन बारम्बार झुट्टा विज्ञापन गरेझैँ एकोहोरो भट्टयाइरा‘को मलाई मन पर्दैन ? भनेर डाइलग दिनु भो’ अनि अनुहार रातो बनाइ ठूलो स्वरमा झर्केर ‘तँ बिजी छेस् जा आफ्नो काममा‘ भन्नु भयो ।’ 

‘के रे झर्केर भन्नु भो रे ।’  टिफिन खानै छाडेर पीताम्बरले तर्क गर्‍यो । ‘रक्तचाप बढ्यो भनौँ भने ९० वाइ १३० रहेछ भन्यौ । प्रभात भ्रमणमा निस्कनु हुन्छ भन्छ्यौ । अनि माइलोड–५ सेवन गर्न छुट्यो कि ? प्रेसरको औषधि खान नमानेर बडो मुस्किलले खान थाल्नु भा’थ्यो । कहीँ नभा’का छिमेकीहरू छन् नि ऐलेदेखुन् प्रेसरको औषधि लिनु हुन्न भन्दे होलान् । मुखबारे ठीक भै हाल्छ । खै त गुच्चाटोले फत्तेमान दा, गल्कुपाखाको टावरघरे रामकृष्ण, ...ले मुख वारेरै प्रेसर ठीक पारेकै छन् त ! तपाईँलाई मात्र किन खानु पर्‍यो ? छोड्नुस् औषधि । रामदेवको योगले प्रेसर सेसर दोहोलो भैहाल्छ भनेर प्रचारको डङ्का पिटिएकै छ । अरूको कुरामा सजिलै लटपटिने सोझो स्वभावको हुनुहुन्छ । त्यसैले औषधि खान छाड्नु भएको हुनुपर्छ ।’ 

पीताम्बर वहसमा खरो रूपमा उत्रेको देखी पिङ्की झर्की । 

‘आऽ कति कच् कच् गर्‍या ? जे कुरालाई पनि सिरेस्ली लिने यो तिम्रो अनुसन्धानी दिमागले मलाई बोर गर्‍यो । भो छाड्दयौ यो टेन्सन ।’ श्रीमानले आफ्नो बाबुको वारेमा ज्यादा चिन्ता गरेका हुनाले पिङ्की दिक्क भई ।

‘प्लिज त्यसो नभन । अनि उहाँको सामान्य स्वभावसँग अलि नमिल्ने वोली व्यवहार अरू क्यै देखियो कि ?’ 

‘मलाई था’ छैन । त्यस्तो कुरा म छुट्टयाउन सक्दिन । तिमी रिसर्चको विषय नबनाउ प्लीज । मेरो बाबालाई केही भएको छैन । कैल्येकाइ हाइपर टेन्स हुन्छ त्यति हो ।’ गलफतिमै टिफिन ट्याम सकियो । पीताम्बर र पिङ्की कुरा बिसाएर आ–आफ्ना काममा लागे । 

यसै पनि काठमाडौंमा व्यस्त रहने वुध्दिजीवीमा पर्दथे–प्रा.डा. पिताम्वर शर्मा र वरिष्ट फिजिसियन पिङ्की वर्मा । सधैँ अहोरात्र व्यस्त । बल्लतल्ल हप्ताको एक दिन आउने बिदाको दिनमा पनि व्यस्तताको चक्करमा पिसिएर समय बित्थ्यो यिनीहरूको । अन्तर्मुखी स्वभाव र लज्जाको धनी पीताम्बर ससुराली जान भनेपछि संकोचले मरेतुल्य हुन्थ्यो र सकेसम्म अनेक बहाना गरी टार्दथ्यो । एक्ली छोरी भएकीले मामू  बितेपछि न्यास्रो मेटन र बाबुको हेरविचार गर्न सल्लैले पिङ्की बाबुसंग माइतीघर लगनखेलमा बस्न थालेकी थिई । टिफिनट्यामपछि सधैँझैँ एकचित्त भै काममा लाग्दा समेत पीताम्बरको दिमागले पिङ्कीले भनेको एक–एक कुरालाई निफनी रह्यो ।

‘क्यैले देखुन् झर्कन थाल्नु भा’होला ? दसा बाजागाजा सहित जन्ती आएझैँ आउदैन भन्थे हाम्रा बा । जागिरबाट अवकाश भएको छटपटि मेटिन नपाउदै श्रीमती गुमाउनु पर्‍यो । उहाँको एक्लो सन्तान, छोरी पिङ्की तातो रगत भएकी छे । थाकेर वा टेन्सन बोकेर राति अवेला पुगी होला । थकाइले एकोरिएर गफगाफ र सरसल्लाहमा रमाउने बाबुको स्वभावको उसले ख्याल गरिन होला । वेलुकी कुराकानी गर्न खोज्दा सोधखोज गर्नुको सट्टा त्यो एकोरीले झर्कोफर्को पो गरी कि ! यो मुड्डीको के ठेगान ? पिङ्की बाहेक सहारा कोही नभएको हुनाले श्रीमतीको माया, ममता, छ्यानविचार, सेबासुश्रुषाको अभाव भएको वेलामा पिङ्कीको व्यवहार रुखो लाग्यो कि ? छोरीले वास्ता गरिन, उपेक्षा गरी, हेलाँ गरी भन्ने पर्‍यो होला । पक्कै पनि बूढाको मनमा यस्तै चिसो पसेको हुनु पर्छ । निराशाले छोपेको हुनाले दिक्क भएर प्रेसरको औषधि लिनु भएन कि ? वा बिर्सन पो भयो कि ?  धेरै मान्छेको उमेर छिप्पे’र जति उकालो लाग्छ त्यति स्मरण शक्ति भने ओरालो झर्ने हुन्छ । प्रभात भ्रमण नगरिकन कतै अरूको मिठो गफमा भुलेर वा आफैँले गफ चुटेर समय बितेपछि घर फर्केका हुन् कि ! के ठेगान ? बुढेसकालले छुनु, कामबाट रिटायर हुनु, श्रीमती अघि लाग्नु जस्ता घटनाहरू एकैपटक भएपछि मान्छेको मन भक्कानिएर मख्खनभन्दा नि कमलो हुन सक्छ । मन कमलो भए पछि उर्लदो बाढीको पानीझैँ कता–कता बग्न थाल्छ । त्यस्तो मन थामिन मुस्किल हुन्छ । लाइन लागेर आएको विपत्तीले थिल्थिलिएको मान्छेमा निराशाले बास गर्न कतिवेर लाग्छ र ! अनि स्मरणको सट्टा विस्मृति, बुध्दिको ठाउँमा रीस, सुजवुजको सट्टा वेहोसी देखापर्न सक्छ । कहिले डिप्रेशनले घेर्दछ त कहिले हाइपरटेन्सनले अँठ्याउछ । यस्तै केही न केही गडवड भएको हुनुपर्छ । उनको बुवा मेरो बुवा, मेरो बुवालाई पिङ्कीले आफ्नै बुवालाई भन्दा ज्यादा माया गरिन् । सानैदेखि आफ्नो बाबासँग झर्किने, फन्किने, च्याठ्ठिने पिङ्कीको बानी हो । आफ्नो बाबुलाई चाहिँ नजिकको तीर्थ हेलाँ गरेकी पनि हुनसक्छ । मेरो बुवा हुनुहुन्न । आफै गइ ससुराबालाई बोलाउछु । पिङ्कीले भनेर हुन्छ र ! उहाँको हेर विचार गर्नु मेरो झन् ठूलो कर्तव्य हो । उहाँको अध्ययन नगरी भएन । जति सङकोच लागे पनि एक्ल्यै जान्छु र उहाँलाई आश्चर्यको चास्नीमा डुबाउछु आज ।

‘हामी चिकित्सकहरू के के न गर्‍यौँ भन्छाैँ । त्यसै त्यसै पोक्किन्छौँ । मख्ख परेर सोडा हालेको सेल फुलेझैँ फुल्छौँ । तर आफन्तको समेत अकालमा ज्यान गइरहेको छ । हामीले केही गर्न सक्दा रहेनछौँ परेकावेलामा !’ नराम्रोसंग आफ्नो पेशाप्रति पिङ्कीको चित्त कुँडियो ।

त्यस दिन पिङ्कीको घर फर्कने समयभन्दा १ घन्टा अघि रातको ८ वजे पीताम्बर ससुराल गयो । सितिमिति नआउने, वाध्य पर्दा जनाउ दिएर मात्र छोरीसँग आउने, एक्लै कहिल्यै नआउने ज्वाइँलाई अकस्मात राति एक्लै आएको देखी बूढा सुधीर बर्मा हर्षविभोर भए । ‘कस्तो अचम्म भो’ ! साक्षात इशवरको दर्शन पाए जस्तै भयो । म धन्य भएँ । देवी पनि संगै भएको भए भगवान विष्णु र देवी लक्ष्मीको एकैसाथ दर्शन पाउने थेँ ।’ अकस्मात ज्वाइँ एक्लै आएको हुनाले आश्चर्यचकित भइ अति खुसी प्रकट गरी बूढा हासे । हास्दा हास्दै खोक्न थाले । बूढालाई खोकीले अप्ठ्यारो पार्‍यो । सास रोकियो । घ्यार घ्यार गर्दै आखाबाट आशु बगे बूढाको । आखिर ‘हुनेहार दैव नटार’ बूढाको रक्तचापले हृदयमा हान्यो । हृदयघात भइ छाड्यो । त्यसरी अकस्मात अप्रत्यासितरूपमा पिङ्कीका बुवा सुधीर बर्मा बित्नु भयो । तै त्यस दिन पिङ्की पनि पौनेघन्टा छिट्टै घर फर्केकी हुनाले बाबुको मुखसम्म देख्न भ्याई । 
पिङ्की र पीताम्बर दुबैलाई असह्य भयो यो घटना । दुबै जना हतप्रभ भए ।

‘थुइक्क जिन्दगी ! ख्याल–ख्यालमै सकिने जिन्दगी के जिन्दगी ? ‘एकवारको जिन्दगानी भर नभएको कर्कलाको पानी’ बाबुले बेलाबेलामा भन्ने गरेको यो थेगो सम्झेर पिङ्की पितृवियोगमा छटपटाइरही । घरि–घरि उनलाई आफ्नी मामुको वियोगले पिरोलिएका वृद्धावस्थाको डीलमा पुगेका एक्ला बाबुलाई समयोचित ध्यान दिन नसकेकोमा पश्चातापको भट्टिमा ऊ पिल्सिरही । 

‘वरिष्ट फिजिसियन भएर के नापेँ त मैले ? समय जति अरूको उपचार र पैसा सोहर्नमै पुगेन मेरो । आफ्नो बाबुलाई समेत पूरा आयु बचाउन सकिन । मेरै वेवास्ताको कारणले बुवा जानु भयो ।’ निक्कै पछिसम्म पिङ्कीको मनमा यस्ता कुराले बास गर्‍यो । 

‘हामी चिकित्सकहरू के के न गर्‍यौँ भन्छाैँ । त्यसै त्यसै पोक्किन्छौँ । मख्ख परेर सोडा हालेको सेल फुलेझैँ फुल्छौँ । तर आफन्तको समेत अकालमा ज्यान गइरहेको छ । हामीले केही गर्न सक्दा रहेनछौँ परेकावेलामा !’ नराम्रोसंग आफ्नो पेशाप्रति पिङ्कीको चित्त कुँडियो ।

उता पीताम्बरको कथा ब्यथा कम् दर्दनाक थिएन । चिन्ताले ऊ झण्डै अन्तिम अबस्थाको क्यान्सरग्रस्त बिरामी जस्तै खङ्ग्रङ्ग सुक्दै गयो । 

‘खबरै नगरी अकस्मात एक्लै उहाँलाई भेटन किन गएँ म । कतै मेरो अप्रत्यासित उपस्थितिले उहाँलाई लगेको त होइन ?’ यही चिन्ताले पीताम्बरलाई भत्भती पोलिरह्यो । ‘अहो ऽ यो कस्तो अकस्मातको अकल्पनीय बज्र प्रहार ! कसरी सहनु यो असह्य वियोगको चोट ? मेरो जन्म दिने बाबु बित्दा यति धेरै दुखेन मलाई । यतिबिग्न घायल भइन म । मेरो मन यति विव्हल भा’ थेन । तर पिङ्कीको पिता बित्दा मेरो मुटु चुँडिएझैँ भयो । किन किन मलाई आफू पनि उहाँसंगै जौँ जस्तो लाग्यो । किनकि मेरो प्रकाशको ज्योति गुम्यो । मेरो स्वत्व नै गयो । म सून्यमा सून्यसरी बिलाएँ । उमेर छिप्पिएपछि फेरि टुहुरो भएँ म, फेरि टुहुरो । कैयौँ दिनसम्म पीताम्बर शोकमा डुबेर अलाप–बिलाप गरिरह्यो । यो घटनाको प्रतिक्रियामा उसको मस्तिष्कभित्र लुकेको उसको विगतका व्यथा बाहिर निस्केर छताछुल्ल भयो ।

‘ओ भौतिक अस्तित्व नभएको गड ! अनुहार नचिन्दै मम्को काख खोस्यौँ मेरो, नावालक थेँ, सहेँ । सौतेनी टोकसो र भेदभाव झेलेँ, तैपनि चित्त बुझाएँ । म जस्तो असहायको जीवनलाई निराशाबाट आशातिर, अन्धकारबाट उज्यालोतिर बाटो देखाउने, वेसहारालाई सहारा दिएर पथप्रदर्शन गर्ने समाज सेवक, असल अभिभावक पिङ्कीका पितालाई यतिचाँडै किन खोस्यौ ? ए यमराज ! के तिम्ले असल मान्छे यस धर्तीमा देख्नै हुन्न ? बेला न कुबेला टपक्क टिपेर लग्नै पर्छ ? के तिम्रो स्वर्गमा पनि असल मान्छेको खडेरी पर्‍यो ? किन यति चाँडै खोस्यौँ मेरा जन्म नदिने पितालाई.....!’ 

पिङ्की र पीताम्बार विचलित भइरहे । त्यस दुःखदायी घटनाले उनीहरूको पेशाप्रतिको लगावमै धमिरा लगाउने काम गर्‍यो । वाल्यकालदेखि नै आर्जित खूब लगनशील भै मेहनत गर्ने स्वभावप्रति, एक पछि अर्को सफलताको उचाइ चुम्ने आफ्नो कामप्रति, आफ्नो गोल्डमेडलिष्ट उच्च डिग्रीप्रति, सामाजिक प्रतिष्ठा, मान सम्मानप्रति उनीहरूको मोहमङ्ग भयो । एकाएक कामबाट हात झिके ती दुबैले । हेर्दा–हेर्दै विरक्तिए ती दुबै बुद्धिजीवी । 

‘अध्ययन गरौँ, विचार उच्च बनाउ । चिन्तन गरौँ, सादा जीवन जिउ । प्रकृतिलाई मनन गरौँ । लोभमोह त्यागौँ, शान्ति रोजौ ।’ 

यो आदर्शमा हिडे तिनीहरू । झ्वाट्ट हेर्दा अकल्पनीय बाटो समाए तिनले । भोगविलासबाट सादगीतिर, सुखबाट दुःखतिर, सहरबाट गाउँतिर, अत्याधुनिकताबाट प्राकृतिकतिर, भौतिक सुविधाबाट अध्यात्मिक शान्तितिर, आर्जनबाट त्यागतिर कदम चाले तिनले । यसरी बाँकी जीवन तपस्या र ध्यान गरेर दर्शनशास्त्रको अध्ययन, चिन्तन मनन् गरेर दिन बिताउने बाटो रोजे तिनले । 

पिङ्कीका पिता सुधीर बर्माको वार्षिकीको दिन आयो । काठमाडौँका बासिन्दा भए पनि बागमती जस्तो पूण्यभूमि छाडेर पाल्पाको रिढीमा परम्पराभन्दा बेग्लैढङ्गले पूण्यतिथि मनाउने भए तिनले । पहिले कहिल्यै नभएको भव्य समारोह गरियो । राष्ट्रपति, मन्त्रीहरू, गन्यमान्य वुद्धिजीवीहरू, सबै ठूला दलका नेताहरू, सहरका लब्धप्रतिष्ठित पूँजिपतिहरू –त्यस अघि कहिल्यै नदेखिएका मान्छेहरूको ठूलो जमघट भएको थियो । 

‘सम्मानित राष्ट्रप्रमुख, माननीय मन्त्रीगण, आदरणीय लब्धप्रतिष्ठित मान्यजनहरू, उपस्थित सम्पूर्ण महानुभावहरू ! यहाँहरू सबलाई गुरु–पुरेत मानेर, साक्षी राखेर हामी एकैसाथ एकै स्वरमा सगौरव यो घोषणा गर्दछौँ–हाम्रा सम्आदरणीय पिताको स्मरणलाई चिरस्थायी बनाउन चाहन्छौँ हामी । हामी दुबैले स्वआर्जन गरेको संचित धनराशी, हामीले परम्परा अनुसार प्राप्त गरेका चलअचल पैत्रिक सम्पत्ति, सबै गरी एकअर्ब रुपैयाँको ‘सुधीर बर्मा स्मृति अक्षय कोष’ खडा भएको घोषणा गर्दछौँ । यो कार्यक्रम रिढीजस्तो पूण्य भूमिमा गर्न पाउदा हाम्रो आत्मालाई शान्ति मिलेको हामीलाई महशुश भयो ।’ 

पीताम्बर र पिङ्कीले संकल्पपछि समारोहका अध्यक्षलाई चेक हस्तान्तरण गरे । उक्त आयोजनामा सरकारबाट पाँच अर्ब, दाताहरूबाट एक अर्ब, केही संघसंस्थाबाट दश अर्ब जम्मा गर्ने अठोट भयो । कार्यक्रम संचालकबाट सबै दाता महानुभाव एवं संघसंस्थालाई मुरी–मुरी धन्यवाद दिदै नेपालको सबैभन्दा ठूलो, भव्य, आधुनिक वृद्धाश्रम बनाउने गुरु योजना सुनाइयो । असहाय एवं सन्तानले ध्यान पुर्‍याउन नसकेका वृद्धवृद्धाको बाँकी जीवन सुखमय बनाउन, स्वास्थ्यकर खानपिनको उचित प्रवन्ध गर्ने, चिकित्सक, स्वास्थ्यकर्मीको सुव्यवस्था, प्रत्येक कोठामा इन्टरनेट जडित टि.भि, सोलार सिस्टमयुक्त तातो–चिसो पानी प्रसस्त भएको अत्याधुनिक बाथरुम सहितको सफा सुग्घर फराकिला ९९वटा कोठाहरू बन्नेछन् । विद्युतीय करेन्ट जडित लिफ्ट र स्क्यालेटरबाट प्रत्येक तल्लामा आवत जावत गर्ने सुविधा हुने छ । हरेक तल्लामा एक–एकवटा अत्याधुनिक हल हुनेछन् । सबै कोठाबाट रिडी महादेव–मन्दिर दर्शन गर्न मिल्ने छ । भवन र मन्दिर परिसर वरपर फैलिएको कालीगण्डकी र रिडी खोलाको दोभान–बगरमा नेपालभरिको ठूलो, भव्य एवं चित्ताकर्षक आधुनिक बगैचा बनाइने छ । उक्त बगैचा अशक्त वृद्धहरूले बिछ्यौनामा बसी–बसी हेर्न सकिने छ । । यसरी कालीगण्डकीको मनोरम् किनारलाई अझ शोभायमान बनाइनेछ । ...अस्तु !

याे पनि

फाँटवालाको दैनिकी

जनता जगाउने काइदा