सुन प्रतितोला चौबीस सयले बढ्यो

सुन प्रतितोला चौबीस सयले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २९, २०७७

काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला  दुई हजार ४०० ले बढेको छ ।
 
बुधबार प्रतितोला  ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला  ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला  ९४ हजार ९०० बाट बढेर  ९७ हजार ३०० पुगेको छ ।
 
तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला  एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला  एक लाख तीन हजार पुगेको थियो ।
 
चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला  एक हजार २९५ तोकेको छ ।