तामसिक दर, पश्चिमा गीत र उत्ताउला गतिविधिले तीजको मौलिक अस्तित्व सङ्कटमा

तामसिक दर, पश्चिमा गीत र उत्ताउला गतिविधिले तीजको मौलिक अस्तित्व सङ्कटमा

सेबिका सुवेदी  |  दृष्टिकोण  |  श्रावण २९, २०७७

नेपालमा विभिन्न जातजाति भाषा धर्म संस्कार र संस्कृति मान्ने मानिसहरूको बसोबास रहेको छ । जाति र धर्म अनुसार रीतिथिति रहन सहन र चाड पर्वहरूमा पनि विविधता  रहेको पाइन्छ । मौलिक संस्कार र संस्कृतिले नै फरक जात धर्म, क्षेत्र र वर्गको पहिचान गराउँछ । हरेक चाड पर्वले व्यक्तिगत, पारिवारिक, सामाजिक सद्भाव वृद्धि समेत गर्दछ । 

विभिन्न चाड पर्वहरू मध्ये नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पनि छुट्टै महत्त्व रहँदै आएको छ । विगतका वर्षमा सहरी क्षेत्रहरूमा दुई तीन महिना अगाडी देखि नै तीजको रौनकता बढेको हुन्थ्यो तर यस वर्ष कोरोना महामारीले विश्वलाई नै आतङ्कित बनाई रहेको बेला नेपालमा पनि पछिल्ला दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेकाले खासै तीजको कुनै रमझम र रौनकता दैखिदैन । अघिल्ला वर्षहरूमा महिनौँ अगाडि देखि भिडभाड देखिने चुरा पोते पसल, ब्युटी पार्लर, साडी पसल, गहना पसल खुल्ला भए पनि सुनसान प्राय छन् । शनिवार वा अन्य बिदाको दिन पार्टी प्यालेस, होटेल तथा टोल टोलमा समूह बनाई नाच गान गर्दै दर खाने कार्यक्रम आयोजना गरिन्थ्यो ।  रातो साडी र गहनामा सजिएका महिलाहरूको तामझाम निकै रमाइलो देखिन्थ्यो । यस वर्ष सहर बजार पनि गाउँ घर जस्तै सुनसान देखिएको छ ।

तीज पर्व विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक काल देखिनै चली आएको पर्व हो । तीज भारतमा भन्दा पनि नेपालमा बढी र विशेष मान्यता दिएको पर्व हो । यसलाई विशुद्ध नेपाली हिन्दु नारीको पर्वका रुपमा लिने र मनाउँदै आइएको । तथापि समय क्रमसङै अन्य धर्म र संस्कार मान्ने नारीहरूले पनि तीजमा समावेश भई उत्तिकै मनोरञ्जन र महत्त्वका साथ मनाउन थालेका छन् ।

चाड पर्व मान्नु आफ्नो संस्कार संस्कृति जोगाएर राख्नु आजको पुस्ताको कर्तव्य हो तर चाड पर्वको नाम लिएर मौलिकतालाई मास्नु, आफू अनुकूल परिवर्तन गर्नु, देखावटी र देखासिकी गर्दै भड्किलो ,खर्चिलो संस्कार निम्त्याउनु हुँदैन ।चाड पर्व लाई सभ्य तरिकाले मनाउँदै सदियौँ देखिको परम्परा र मान्यता लाई जीवन्तता दिनु पर्दछ ।तीज लाई परम्परागत मान्यता र संस्कार नमर्ने गरी उल्लासमय र संस्कारयुक्त बनाउनु आधुनिक नारीहरूको कर्तव्य हो ।

हरेक वर्ष भाद्र शुल्क तृतीयाका दिन तीज पर्व  मनाउने गरिन्छ । तीजको अघिल्लो रात दुतीयाका दिन दर खाने चलन छ । धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई स्मरण गर्दै हिन्दु नारीहरूले हरितालिका तीजका रुपमा मनाउँदै आएको विश्वास गरिंंदै आएको छ ।

यही मान्यता अनुसरण गर्दै विवाहित महिलाले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै र अविवाहित नारीले सुयोग्य बर पाउँ भनी तीजको व्रत बस्ने चलनका रुपमा रही आएको छ । निर्जला निराहार उपवास बस्नाले मनोकामना पूर्ण हुने विश्वास रहिआएको छ । भोलि पल्ट चौथीका दिन व्रत पूर्ण गरी भोजन गरिन्छ । तेस्रो दिन अर्थात् ऋषि पञ्चमीको दिन व्रत बसी महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्दछन् । रजस्वलाका समयमा छुन नहुने वा देवीदेवतालाई भुल बस छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गरिँदै आएको छ । रजस्वला भएपछि मात्र नारीहरूले यो व्रत गर्ने गर्दछन् । यस दिन सप्त ऋषिको पूजा आराधना गरिन्छ गरी व्रत पुरा गरिन्छ उक्त दिन हलोले जोतेको अन्न खानु हुँदैन भन्ने मान्यता रही आएको छ । 

समयसँगै चाड पर्व मनाउने तरिका र संस्कारमा पनि परिवर्तन हुँदै गएको छ प्राय सबै जाती र धर्मले सबैका चाडलाई उत्तिकै महत्त्वका साथ मनाउने चलन विकास हुँदै आएको छ । जसका कारण सामाजिक सद्भाव वृद्धि हुँदै गएको पाइन्छ । चाड पर्वले पारिवारिक जमघट, सद्भाव, प्रेमका साथ आत्मीयता वृद्धि गराउँदछ । हरेक चाड पर्वका दिनहरू विशेष संयोगले जुरेको हुन्छ  । जसको कारण यस्ता दिनहरूमा सकारात्मक ऊर्जा प्रवाह भएको हुन्छ, वातावरणमा चलेको सकारात्मक तरङ्गले मानव मन र शरीरमा स्फूर्ति,जोस जाँगरका साथ उमङ्ग पैदा हुन्छ सकारात्मक विचार भावको सिर्जना हुने हुँदा प्रेम भाव जागृत भई एक आपसमा भावनात्मक रुपमा बलियो सम्बन्ध निर्माण गर्दछ ।

तीजमा महिलाहरूले लगाउने गहना र पहिरनको पनि विशेष महत्त्व रहेको पाइन्छ । रातो रङ्गलाई प्रेम, सुख,समृद्धि र साहासको प्रतीकको रुपमा मानिन्छ । चुरा,पोते र रातो टिका लाई नारीको सौभाग्यको प्रतीक मानिन्छ ।

यो पर्व विवाह भएर छुट्टिएका दिदी, बहिनी, आमासँग भेटघाट गर्ने, दुःख सुखका कुरा साटासाट गर्ने, विभिन्न परिकार बनाएर दर खाने चलन छ । रातो साडी र गहनामा सजिएर समूहमा जम्मा भई पुरानो भाका र शैलीका गीत गाएर छमछमी नाच्ने प्रचलन छ । महिलाहरू विवाह पश्चात् आ–आफ्नो पतिको साथमा बस्नु पर्ने, आफू जन्मेको हुर्केको घर, आमा बाबा,दाजु भाइ, दिदी बहिनी,इस्ट मित्र र समाजबाट टाढा हुनु पर्ने पूर्वीय मान्यता अनुरूप, माइतीको यादलाई कमी गर्ने, भेटघाट गर्ने अवसरको रुपमा तीज पर्वको ठुलो महत्त्व नेपाली समाजमा रहिआएको छ ।

पहिला पहिला टेलिफोन, इन्टरनेट र यातायातको सुविधा नहुँदा माइती तर्फबाट दाजुभाइ दिदी बहिनीलाई  लीन उनकै घर जाने चलन थियो । अझै पनि कतै कतै गाउँ घर तिर यस्तो चलन जीवितै  छ वा निरन्तरता पाइरहेको छ । जुन समयमा महिलाहरू चुलो चौकामा मात्र सीमित हुनुपर्ने अवस्था   थियो । मन लागेको खान र लगाउन सहज उपलब्धता थिएन । सासूको नियन्त्रणमा बुहारीहरू बस्नुपर्ने अवस्था थियो । त्यस बेला मिठो खाने राम्रो लाउने स्वतन्त्र पूर्वक नाच्ने गाउने, मनभरिका दुःख पिडा साथिसंगी र दिदी बहिनीसँंग पोख्ने राम्रो मौका समेत पाउँदैनथे । यस्तो मौकाको रुपमा तीजलाई उपयोग गर्दै आएको अवस्था छ। 

तर अब बिस्तारै  महिलाहरूको लागि त्यस्तो अवस्था छैन । अधिकांश महिलाहरू स्वतन्त्र छन् आत्मनिर्भर छन् र हुँदै छन्  । तीजलाई वर्ष भरिका दुःख पिडा बिर्सेर उमङ्गका साथ रमाउने स्वतन्त्र पर्वको रुपमा लिन सकिन्छ । तर पहिला पहिलाका तीजमा महिलाहरूले आफ्नै भोगाई र मनका वेदना मिश्रित गीत समूहमा भेला भएर गाउने गर्दथे । यसले मनका पिडा पखालेर हलुङ्गो भएको महसुस हुने पर्वका रुपमा लिइयो र सोही अनुसार यो पर्व मनाउँदै आएको अवस्था छ । 

यति धेरै महत्त्व बोकेको तीज पर्वमा पछिल्लो समय पुरानो सोच र कुसंस्कारको संज्ञा दिएर गरिने भड्किला कार्यक्रमले तीजको मौलिक अस्तित्व र महत्वलाई धुमिल पारिरहेको छ । दरको नाम दिएर गरिने मांस र मदिरा सहितको खानपान, देखासिकी र प्रतिस्पर्धा गर्दै लगाइने महँगा गहना र पहिरनले आर्थिक भार तथा नहुनेका लागि बाध्यता थपिदिएको छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले नै अन्धविश्वास चिर्ने नाममा परम्परा र संस्कारलाई गलत तरिकाले प्रयोग गर्दा मौलिक संस्कार र संस्कृति सङ्कटमा पर्दै गएको छ ।

तीजको नाममा होटेलमा पार्टी गर्ने, पश्चिमा शैलीका गीतमा रमाउने, उत्ताउला गतिविधि देखाउने प्रवृत्तिले तीजको मौलिक अस्तित्वलाई कति पनि समेट्न सकेको देखिँदैन । विशेष पर्वका लागि तोकिएको दिनको छुट्टै महत्त्व रहेको हुन्छ ।  तर महिनौँ अघि देखि भेला हुने, दरको नाम दिएर गरिने तामसिक भोजन र उत्सृङखल गतिविधिले अनावश्यक खर्च, स्वास्थ्यमा हानीका साथै समयको समेत बरबादी भइरहेको छ ।

अघिल्लो रात दर खाएर भोलि पल्ट अर्थात् भाद्र शुक्ल तृतीयाको दिन तीजको व्रत बस्ने गरिन्छ । व्रत अर्थात् उपवासको अर्थ ईश्वरको नजिक बस्नु वा ईश्वरको शरण पर्नु भन्ने हुन्छ । विशेष गरी हरितालिका तीजको व्रतमा भगवान् शिवको उपासना गरिन्छ । भगवान् देवीदेवता अति पवित्र,चैतन्य शक्ति हुन जो प्रकाश/ऊर्जा वा ज्योतिको रुपमा विद्यमान छन् । यदि हामी उनको शरणमा जान्छौ, नजिक हुन्छौ भने हामी पनि त्यति नै शुद्ध र पवित्र हुनु जरुरी हुन्छ । अशुद्ध अपवित्र स्थानमा देवीदेवताको कदापि बास हुँदैन । हामीमा त्यो शुद्धता छैन भने घण्टौँ लाइन बसेर मन्दिर जानु र व्रत बस्नु प्राय निष्फल हुन्छ । तर आजभोलि हामीले खाने दर पनि तामसिक बन्दै गएको छ । मांस र मदिरा सहितको भोजनले लामो समयसम्म हाम्रो शरीर दूषित हुन्छ । शरीर अशुद्ध भयसँगै मन, विचार भाव पनि अशुद्ध बन्दछ । विकृत भाव सहित गरिएको भगवान् उपासनाको कुनै अर्थ रहँदैन । तसर्थ शरीर,मन, भाव विचार लाई हमेसा पवित्र राखेर सरल र सात्त्विक खानपानको साथ उपवास गर्नु अति फाइदाजनक  पनि हुन्छ । 

चाड पर्व मान्नु आफ्नो संस्कार संस्कृति जोगाएर राख्नु आजको पुस्ताको कर्तव्य हो तर चाड पर्वको नाम लिएर मौलिकतालाई मास्नु, आफू अनुकूल परिवर्तन गर्नु, देखावटी र देखासिकी गर्दै भड्किलो ,खर्चिलो संस्कार निम्त्याउनु हुँदैन ।चाड पर्व लाई सभ्य तरिकाले मनाउँदै सदियौँ देखिको परम्परा र मान्यता लाई जीवन्तता दिनु पर्दछ ।तीज लाई परम्परागत मान्यता र संस्कार नमर्ने गरी उल्लासमय र संस्कारयुक्त बनाउनु आधुनिक नारीहरूको कर्तव्य हो ।इज्जत र संस्कारयुक्त नारी बाहिरी सिँगारले भन्दा कयौँ गुणा बढी सुन्दर देखिन्छन् त्यसैले बाहिरी देखावटी असभ्य व्यवहारहरू लाई हटाउँदै मौलिक संस्कृतिको जर्गेना गर्नु पर्दछ ।

यस पटक हामी जो जहाँ छौ त्यहीँ रहेर आफ्नो क्षमता अनुसार सभ्य तरीकाले तीज मनाऊँ ।प्रेम,आत्मीयता र सद्भाव बोकेको नेपाली नारीहरूको महान् पर्व तीजको पौराणिक र सांस्कृतिक महत्त्व कहिल्यै ओझेलमा नपरोस् ।