लेखक संघमा दलका कार्यकताको हालीमुहाली

लेखक संघमा दलका कार्यकताको हालीमुहाली

उपासना संकल्प  |  समाज  |  चैत्र ९, २०७५

भनिन्छ– लेखकको जात, धर्म, लिंग, वर्ण वा पार्टी हुँदैन । तर, नेपालमा योभन्दा फरक छ । यसको ज्वलन्त उदाहरण हेरे हुन्छ, वामपन्थी लेखकको संगठन प्रतितिशील लेखक संघ (प्रलेस) र नेपाली कांग्रेससँग निकट रहेको नेपाली लेखक संघलाई । यी दुवै संगठनमा रहेका व्यक्तिको एउटै उदेश्य प्रज्ञाप्रतिष्ठान नामको सत्ता कसरी हत्याउने भन्ने नै छ । विगतमा यी संस्थाको भूमिका हेर्दा यही पुष्टि गर्छ । 

यी दुवै संगठनमध्ये अहिले प्रगितिशील लेखक संघ ११ औं सम्मेलन सम्मुखमा छ । सम्मेलनको सम्मुखमा रहेका यो संगठनले देशव्यापी आफ्नो जिल्ला सम्मेलन सम्पन्न गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने तय गरेको छ । 

२००९ असोज ५ गते वीरगन्जमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्ति सम्मिलित भेलाद्वारा श्यामप्रसाद शर्माको अध्यक्षतामा महासचिव रत्नदास वैद्य, कोषाध्यक्ष देवीप्रसाद किसान आदिलाई समितिमा राखी प्रलेसको स्थापना गरिएको थियो  । सो समयदेखि मुखपत्र ‘प्रगति’ प्रकाशित भयो र त्यसका केही अंक नियमित प्रकाशित पनि भए । यस अवधिमा प्रगतिशील÷प्रगतिवादी साहित्यकार संगठित हुँदै गए । कुनै बेला यो संस्थाको सदस्य निकै आकर्षणको विषय थियो । पछिल्लो समयमा  यस संगठनमा आकर्षण घट्न थालेको छ । यसको मुख्य कारण हो– थोरै लेखक÷सहित्यकार धेरै कार्यकर्ता हावीमा मात्र होइन, निर्णायक हुनु । वामपन्थी जतिवटा टुक्रामा विभाजित भएका छन् त्यति नै भागवण्डा नेतृत्वमा गरिँदै आएको इतिहास छ । यो विगतले विस्तारै संगठनमा भागवण्डामा गर्दा नेताको आसेपासे लेखकलाई पाखा लगाउँदै कार्यकर्ता भर्ती केन्द्रमा परिणत हुँदै गएको छ । 

संघको नयाँ विधानअनुसार प्रादेशिक संगठन विस्तार गर्ने क्रममा हालसम्म चार प्रदेशमा पुगिसकेकोे छ । गण्डकी प्रदेशमा लोकबहादुर थापा, सुदूरपश्चिम प्रदेशमा जनक रसिक र प्रदेश नं ५ मा केशव थापाको नेतृत्वमा प्रदेश कमिटी गठन समेत भइसेकोे छ । प्रदेश नं १ र प्रदेश नं ३ को यही चैत ९ गते प्रदेश सम्मेलनको तयरी भइरहेकोे छ भने कर्णाली र प्रदेश नं २ को सम्मेलन हालसम्म तोकिएको छैन ।

यस प्रदेशअन्तर्गत काठमाडौँमा प्रकाश थापा मगर, ललितपुरमा शेखर अर्याल, धादिङमा रमेश अधिकारी, नुवाकोटमा राजकुमार पुत्ला, चितवनमा विपीन पाठक, रसुवामा उद्धव रिजाल, सिन्धुलीमा टंकध्वज थापा, रामेछापमा धनलाल योञ्जन, मकवानपुरमा शान्ति प्रियवन्दनाको नेतृत्वमा हालै नयाँ कमिटी निर्माण भइसकेकोे छ । यी कमिटिका अध्यक्ष लेखक कम कार्यकर्ता बढी रहेको गुनासो मिश्रित चर्चाले प्रगितिशील लेखक संघभित्र आकार ग्रहण गर्न थालेको छ । अन्य जिल्लाको अवस्था पनि खासै फरक छैन । त्यसकारण लेखकहरू अर्को संस्थाको आवश्यकताबारे छलफल गर्न थालेका छन् ।

संघका उपाध्यक्ष एवं प्रदेश नं ३ का इञ्चार्ज खेम प्रतिबन्धित पार्टी निकट रहेका लेखक भएकाले उनको उपस्थितिलाई संघभित्र निकै महत्वका साथ हेरिएको छ । काठमाडौँ उपत्यकासमेत यसै प्रदेश नं ३ मा चैत ९ आज  हुने प्रदेश सम्मेलनमा अरु प्रदेशमा भन्दा धेरै प्रतिनिधि र अग्रजको सहभागिता हुने भएकाले पनि यसले राष्ट्रिय सम्मेलन जतिकै महत्व पाउने थालेको छ । 

यस प्रदेशअन्तर्गत काठमाडौँमा प्रकाश थापा मगर, ललितपुरमा शेखर अर्याल, धादिङमा रमेश अधिकारी, नुवाकोटमा राजकुमार पुत्ला, चितवनमा विपीन पाठक, रसुवामा उद्धव रिजाल, सिन्धुलीमा टंकध्वज थापा, रामेछापमा धनलाल योञ्जन, मकवानपुरमा शान्ति प्रियवन्दनाको नेतृत्वमा हालै नयाँ कमिटी निर्माण भइसकेकोे छ । यी कमिटिका अध्यक्ष लेखक कम कार्यकर्ता बढी रहेको गुनासो मिश्रित चर्चाले प्रगितिशील लेखक संघभित्र आकार ग्रहण गर्न थालेको छ । अन्य जिल्लाको अवस्था पनि खासै फरक छैन । त्यसकारण लेखकहरू अर्को संस्थाको आवश्यकताबारे छलफल गर्न थालेका छन् । संघभन्दा बाहिर हाल पनि ठूलै लेखकको पंक्ति रहेको र उनीहरूसमेत अटाउने बृहत्तर संगठन निर्माणको बहस प्रारम्भ भएको छ । संघमा रहेका पदाधिकारीहरूले उनीहरूलाई सदस्यता नवीकरणको सूचना समयमा  नदिएका कारण सदस्यता नवीकरण नगर्ने धेरै छन् । 

वामपन्थी राजनीतिमा भइरहने पार्टी विभाजनका कारण साहित्यको विकासका निम्ति भनी बनेका साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रलेसलगायतका साहित्यिक संस्थाको नेतृत्व र प्रतिनिधित्वमा स्वतन्त्र रूपमा प्रगतिवादी लेखन गरिरहेका योग्य, इमानदार र दक्ष लेखकले ठाउँ पाइरहेका छैनन् । राजनीतिक पार्टीहरूले योग्यता, दक्षता र प्रतिभालाई भन्दा पार्टी सदस्यलाई नियुक्ति गर्ने अत्यन्त गलत राजनीतिक परम्पराको विकास गरेका छन् । र, पद, प्रतिष्ठा र पैसाको लाभको लोभमा प्रगतिवादी साहित्यकारहरूको ठूलो समूह राजनीतिक पार्टीको पिछलग्गु बन्न उद्यत भएको देखिन्छ ।
प्रलेस यस्तै पिछलग्गुहरूको संस्था बन्ने खतरातर्फ उन्मुख भएको गुनासो स्वयं पदाधिकारीले गर्न थालेका छन् । यसले गर्दा पार्टीका पिछलग्गु साहित्यकारमा साहित्य साधनामा समर्पित हुनुभन्दा पार्टी र पार्टीका शक्तिशाली नेता रिझाउने समय खर्चने र आफूलाई यस्ता संस्थाका लाभदायक र शक्तिशाली पदहरूमा नियुक्ति गर्न दबाब बढाइरहेका छन् ।

जसका कारण पनि प्रगतिवादी साहित्य साधना दुर्बल बन्दै गएको छ । नेपालका प्रगतिशील साहित्यकारलाई लाग्न गरेको आरोप नारा मात्रै लेख्छन्, साहित्य लेख्न सक्दैनन् भन्ने कुरालाई पुष्टि गरिरहेको छ । अहिलेको प्रलेस सम्मेलनको सम्मुखमा साहित्यकारहरूलाई भागबन्डा लगाएर यो र त्यो राजनीति पार्टीको कोटामा राखेर घाँटी निमोठ्ने क्रम घट्नुको सट्टा बढ्दै गएको छ ।

यसले गर्दा प्रगतिवादी साहित्यलाई सच्चा मनले समृद्ध पार्ने दिशामा साधना गरिरहेका इमानदार प्रगतिवादी साहित्यकारहरू निराश बनिरहेका छन् । त्यसैले राजनीतिक पार्टीको सदस्य नभएकै कारण र पार्टीमा भए पनि शक्तिशाली गुटको मतियार नभएकै कारण असल, इमानदार र प्रतिभाशाली प्रतिभाहरू नेतृत्वको उचित अवसर तथा नेतृत्वबाट वञ्चित हुँदै गएका छन् । यसलाई नै प्रगतिवादी नेपाली साहित्य लेखनको एक चुनौती रूपमा लिन थालिएको छ ।  

यसको ज्वलन्त उदाहरण अहिलेको प्रज्ञाप्रतिष्ठान गठनको क्रमलाई नियाल्दा स्पष्ट हुन्छ । प्रलेसमा सबैभन्दा बढी देखिनुपर्ने चिन्तन, सिद्धान्त र सांस्कृतिक बहस हो । तर, त्यो हुन छोडेको छ । प्रगतिवाद सामूहिकतामा जोड दिने साहित्यक चिन्तन हो भन्ने कुरालाई बिर्सन थालिएको छ । यसले सामूहिक चेतना, सामूहिक हित, सामूहिक श्रम, सामूहिक संघर्ष, सामूहिक उत्थान, सामूहिक सहकार्य लगायतका सामूहिक उद्देश्य र तदनुकूलका क्रियाकलाप तथा अत्यधिक जनताका पक्षमा सिर्जनात्मक भूमिका खोज्छ भने मुख्य उत्पादक शक्तिका रूपमा रहेको श्रमजीवी जन समूहको उच्च मूल्यांकनमा जोड दिन्छ । तर, नेपालका प्रगतिवादी केही साहित्यकार (स्रष्टा र द्रष्टा)हरू यो लागू हुँदैन । उनीहरू चिन्तनमा त सामूहिकतावाद प्रस्तुत गरिरहन्छन् । तर, चरित्रमा व्यक्तिवादी देखिन्छन् । चिन्तनमा सामूहिकताको र व्यवहारमा व्यक्तिवादको यस्तो विरोधाभासले प्रगतिवादमाथि संशय बढाएको छ । अहिलको सम्मेलन व्यक्तिवादी चिन्तनबाट मुक्त हुन सकेको देखिँदैन ।