सिम गाउँका २० परिवार विस्थापित

सिम गाउँका २० परिवार विस्थापित

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ३०, २०७७

बाजुरा । साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो । 

गाउँमा बसोबास गर्ने २० वटै परिवारका घर, पहिरोले बगाएर क्षति पुर्‍याएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । २० परिवार बसोबास गर्ने सिङ्गो गाउँ नै सार्नु पर्ने गरी विस्थापित बनेको थापाको भनाइ छ । उपाध्यक्ष थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । 

अधिकांश घर भत्किसकेको र केही पहिरोले पुरिएको अवस्थामा रहेका छन् । २० वटै परिवार अहिले गाउँ नजिकैको खुला चौर र गोठखरकमा बास बसिरहेको अवस्था रहेको छ । नजिकै बस्नलाई सुरक्षित जमिन पनि नभएको र सोही स्थानमा बस्न पहिरोको डर भएकाले नयाँ विकल्प खोजी गर्न जरुरी रहेको उपाध्यक्ष थापाको भनाइ छ । 

तत्कालका स्थान्तरण गर्न जरुरी देखिए पनि दीर्घकालीन समाधानका लागि बस्ती नै सारेर अर्को विकल्प तय गर्नुपर्ने गाउँपालिकाको तयारी छ । घर पहिरोमा पुरिएर क्षति भए पनि स्थानीयलाई खान बस्नसँगै लगाउने कपडाको समेत समस्या देखिएको छ । 

गाउँको बीचको पुल बगाएर आवतजावत समस्या भएपनि स्थानीय सुरक्षित अवस्थामा रहेको पाइएको छ । सिमजस्तो उठिबास नै अजय टोट्की गाउँमा नभएको बताइएको छ । सिमका २० परिवारका लागि खान बस्नमात्र समस्या देखिएको छ । 

पालसहित खाद्यान्न र लत्ताकपडासहित आवश्यक छ । सिममा १२३ जनाको बसोबास छ । उनीहरु सबै घर बाहिर खुला आकाशमा बस्न बाध्य छन् । सिङ्गो बस्ती नै उठिबास भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भपती तथा सुत्केरीका लागि बढी समस्या भएको छ ।