मोटरसाइकलमा आगजनी

मोटरसाइकलमा आगजनी

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ३०, २०७७

तम्घास । गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ  । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । 

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताउनुभयो । पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिनुभयो । 

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताउनुभयो । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।  यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो भने त्यसको एक हप्तापछि उहाँको बारीको तरकारीको बिरुवामा क्षति पुर्‍याइएको थियो ।