आइपिएल शान चियरलिडर्स

आइपिएल शान चियरलिडर्स

आशिष पौडेल  |  खेलकुद  |  चैत्र ९, २०७५

जब टि ट्वान्टी क्रिकेटको प्रारम्भ भयो त्यसबखत यसले भलाद्मीको खेलको रुपमा परिचित क्रिकेटको इतिहास र इज्जत दुबै समाप्त हुने भयो भन्ने चिन्ता व्यक्त गरेको पाइन्थ्यो क्रिकेट समर्थकहरुले । पहिले ५० ओभरको खेल शुरु हुँदा पनि यसले टेष्ट क्रिकेटलाई समाप्त गर्ने भयो भन्ने यस्तै खाले चिन्ता व्यक्त नभएका होइनन् । तर यो ५० ओभरको खेलले क्रिकेटको लोकप्रियतालाई घटाउने काम गरेन् बरु बढाउन नै मद्दत गर्‍यो । त्यस्तै ट्वान्टी–२० क्रिेकटले पनि क्रिकेटको लोकप्रियतालाई बेग्लै उचाइमा पुर्‍याउने काम गर्‍यो । आइपिएल यसका लागि बलियो माध्यम बनेर देखापर्‍यो । 

बेग्लै स्वरुपको खेल, अत्यधिक पुरस्कार राशी, मिडियाहरुमा हुने गरेको चर्चा र प्रचारले आइपिएलले बेग्लै उचाई ग्रहण गर्‍यो । झन यसमा प्रयोग हुने चियरलिडर्सहरुले यसलाई अर्कै रमाइलो संसारमा पुर्‍याई दिए । 

यो लेखमा यिनै चियरलिडर्सहरुको बारेमा केही तथ्यहरु प्रस्तुत गरिनेछ । 

पछिल्लो आइपिएलमा रहेका ८ टिम मध्ये ६ वटा टिममा विदेशी चियरलिडर्सहरुको प्रयोग भएको थियो भने राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले भने स्वदेशी चियरलिडर्सहरुको प्रयोग गरेका थिए । 

पहिले नृत्य विधामा रहेकाहरु नै पछि चियरलिडर्स बन्ने गरेको देखिएको छ । खेलाडी आउट हुँदा, छक्का, चौका वा खेलमा यस्तै अन्य रोमांचित घटना घट्दा नृत्य र विभिन्न भावभंगिमाद्वारा यसलाई चियरलिडर्सहरुले अझ रोमांचकता थप्ने गरेका छन् । नृत्य तथा अन्य शारीरिक सन्तुलन आवश्यक पर्ने हुँदा नृत्य विधामा पारंगतहरु यसतर्फ आकर्षित भएको पाइन्छ । 

आइपिएलमा प्रयोग भएका धेरै चियरलिडर्सहरु युरोपका हुने गरेको पाइएको छ । त्यसका अलावा रुस तथा अन्य देशका चियरलिर्डसहरुको पनि उपस्थिति रहने गरेको छ । 

चियरलिडर्सको इतिहास हेर्ने हो भने यसको शुरुवात अमेरीकाबाट भएको पाइन्छ । अमेरीकाको मिनिसोटा विश्वविद्यालयमा सर्वप्रथम यसको प्रयोग भएको थियो । 

चियरलिर्डसको रुपमा त्यसबखत पुरुषहरुको प्रयोग हुन्थ्यो । चियरलिडर्सको नाम लिनुपर्दा सर्वप्रथम जोन केंपबेलको नाम आउँछ । त्यसबखत उनले बनाएको चियर स्क्वाडमा सबै पुरुषहरुनै सहभागी थिए । 

युरोपमा पनि पछि यसको प्रयोग हुन थाल्यो । त्यसका लागि पनि अमेरिकाबाट नै चियरलिर्डसहरुको आपूर्ति गर्ने गरिन्थ्यो । सन् १९४० पछि जब दोस्रो विश्वयुद्धमा पुरुषहरुले युद्धमा भाग लिन जानु पर्ने भयो त्यसपछि चियरलिडर्सको रुपमा महिलाहरुको प्रयोग हुन थालेको हो । 

आइपिएलमा प्रयोग हुने चियरलिडर्सहरु एजेन्सी मार्फत आउने र प्राय उनीहरुको कमाई महिनाको १५०० देखि २००० पाउण्ड सम्म हुने गरेको पाइएको छ । यसमा पनि युरोप र अन्य देशका चियरलिडर्सको कमाईमा अन्तर हुने गरेको देखिन्छ । 

जसरी अरु कामलाई सम्मानित पेशाको रुपमा लिइन्छ यसलाई पनि त्यस्तै सम्मानित पेशाका रुपमा लिनुपर्ने महिला चियरलिडर्सहरु बताउँछन् । यसलाई पेशाको रुपमा नलिई महिलालाई भोग विलासको सामग्रीको रुपमा लिइदिंदा भने दुख लाग्ने गरेको उनीहरुले बताए । 

एउटा चियरलिडरका लागि नृत्य, शरीरको लचकता र भावभंगिमा सबै आवश्यक पर्ने हुँदा खेलाडीले जत्तिकै शारीरिक व्यायाम तथा नृत्यमा समेत पोख्त हुन पनि जरुरी देखिन्छ चियरलिडर बन्नका लागि । यसलाई सजिलो र सहज पेशाको रुपमा नलिन र महिलाको शरीरलाई लिएर हल्का टिप्पणी नगर्न समेत चियरलिडर्सहरुको अनुरोध छ ।  

याे पनि

आइपिएल: कुन खेलाडीले कति कमाए ?

आईपीएल २०१९ : पहिलो खेलमा चेन्नई र रोयल च्यालेन्जर्स भिड्दै

चेन्नई र बेंग्लौरमा को बलियो ?