फन्को मारिरहन्छ मृत्यु !

फन्को मारिरहन्छ मृत्यु !

विष्णु भोजपुरे  |  साहित्य  |  श्रावण ३०, २०७७

जिन्दगीका घुम्ती अनि मोडहरूमा
उकाली अनि ओरालीहरूमा
भञ्ज्याङ अनि चौतारीहरूमा
मेरै पिछा किन गरिरहन्छ मृत्युु !

कहिले कुन रूपमा
कहिले कुन भेषमा
बर्सात्को उर्लिंदो भेलसङ्गै
खसिरहेको पहिरो सङ्गै
हिउँदको चिसो ठिहीसँगै
किन नजिकिन्छ मृत्युु !

मेरै सुन्दर सपनाहरूको
निर्मम हत्या गर्दै
मेरै इच्छा र चाहनाको जुत्ता लगाएर
गरप गरप परेड खेल्दै
अट्टहास गर्छ- निस्फिक्री, निर्भय
मेरै छातीमा
आतङ्कको गाडी हाँकिरहन्छ
हुँ...हुँ.... हुँ.....
टि......टि....टि.....
हर्न बजाउँदै खतराको
मेरै वरिपरि फन्को मारिरहन्छ मृत्यु !!