डा. पुष्प प्रसाद शर्मा : मानसिक रोगका तीन पुस्ते डाक्टर
श्रावण ३१, २०७७

उहाँको पिताजी नेपालको प्रथम मानसिक रोग विशेषज्ञ । डा. विष्णु प्रसाद शर्मा । पिताजीको बिँडो खोइ किन थाम्नुभयो उहाँले थाहा छैन । तर, अब त उहाँको छोरो पनि हजुरबा र बाको विरासत थाम्दै आइपुग्नु भएको छ । डा. विष्णु प्रसाद शर्माको  विरासत डा. पुष्प प्रसाद शर्मा हुँदै डा. प्रज्ञान शर्माले मानसिक रोगको डाक्टरको रुपमा आफ्नो भविष्य कोर्दै हुनुहुन्छ । 

यो एउटा अनौठो संयोग पनि हो । मानवीय संवेदनाको यो रोगको उपचारमा समाज र आम मानिसको धारणा राम्रोसँग नफेरिसकेको अवस्थामा शर्मा परिवारका तीन पुस्ताले भने यही पेसालाई माया गर्नुभयो, अंगाल्नुु भयो र यसैमा भविष्य देख्नुभयो  । 

उहाँले होस सम्हाले देखिनै उहाँको घरमा मानसिक रोगीको आउजाउ हुन्थ्यो । यो करिब २०२४र/२५ साल तिरको कुरा हो । 

अहिले त मानसिक रोग र रोगीप्रति समाजको दृष्टिकोण सकारात्मक नदेखिएको बेला त्यो बेला अवस्था कस्तो थियो होला । अनुमान लगाउन पनि कठिन छ । उहाँ विगतमा विचरण गर्नुभयो । 

डोरीले बानेका । नबाने पनि मानसिक रुपमा विक्षिप्त । अरूले समाएर ल्याउने । समाउँदा पनि समाउनेलाई नै कुट्ने पिट्ने गर्थे ती रोगीले । घरमा रातविरात मानसिक रोगी आउने हुँदा हल्लाखल्ला हुन्थ्यो । भोलिपल्ट छिमेकीले सोध्थे, के भएको यिनीहरूलाई ? यिनीहरूको पनि उपचार हुन्छ र ? 

उक्त समयमा खास अहिले जस्तो त्यस्तो धेरै औषधी पनि उपलब्ध थिएन । तर पनि जब ती बिरामी बिस्तारै ठिक हुँदै जान्थे । उहाँ यो दृश्य घरमा मात्र होइन पिताजीले काम गर्ने वीर अस्पतालमा पनि गएर हेर्नुहुन्थ्यो । यसले उहाँमा मानसिक रोग र रोगीप्रति नकारात्मक बनाउनुको साटो जिज्ञासु बनायो । उनीहरूप्रति सम्मान र आत्मीय हुन सिकायो ।

शायद यसले नै उहाँलाई मानसिक रोगीको डाक्टर बन्न बल मिलेको हुनुपर्छ । डा. पुष्प प्रसाद शर्मा बन्न प्रेरणा दिएको हुनुपर्छ ।

बाल्यकाल 

उहाँ काठमाडौँको रैथाने । जन्म २०१८ साल । गैरी धारामा । डाक्टरको परिवार भए पनि उहाँ आफूलाई मध्यम स्तरको भन्न रुचाउनुहुन्छ । सम्पन्न होइन । तर, पिताजी डाक्टर भएका कारण आर्थिक विषमता पनि झेल्नु परेन । छ सन्तानमा उहाँ कान्छो । 

आजभन्दा करिब ६ दशकअघि समाजमा मानसिक रोग र रोगीप्रतिको भावना सहजै अनुमान गर्न सकिन्छ । समाजले उहाँको पिताजीलाई दिएको ‘पागलको डाक्टर’को उपाधिले उहाँलाई नकारात्मक असर गरेन । बरु मानसिक रोग र रोगीप्रति संवेदनशील र जिज्ञासु भने बनायो । 

बिरामी घरमा ल्याउँदाको अवस्था र निको भएर जाँदा उसको परिवार र स्वयं बिरामीले दिने सम्मान र स्याबासीले उहाँलाई यो क्षेत्रमा लाग्न अझ प्रेरित नै गर्‍यो । 

बिरामी ठिक हुँदा पिताजीको मुहारमा देखिने सन्तुष्टि अझ अर्को कारण हो उहाँ मानसिक रोगको विधामा लाग्नुमा । अर्को लोभ पनि थियो । फलानो डाक्टरको छोरा । यस्ता विविध कारण छन् उहाँ यो क्षेत्रमा आउनुमा । 

संयोग भन्नुस वा साइत । भाग्य अध्यात्ममा रुचि राख्नेका लागि ठिक होला । जे होस चाहेर नचाहेर आफूलाई पिताजीबाट विरासतमा प्राप्त भएको मानसिक रोग र रोगीलाई नजिकबाट नियाल्ने वातावरण नै उहाँ दोस्रो पुस्ताको मानसिक रोगको डाक्टर बन्नुको पछाडिको कारण देखिन्छ । अझ यसमा उहाँको छोरा पुस्ताले पनि यही पेसा वा विरासतलाई अँगालेर एउटा नयाँ अध्यायको शुरुवात गर्नुभएको छ ।

उहाँको रुचि खेलप्रति पनि एकदमै थियो । शायद ! उहाँ उच्च शिक्षाका लागि नजानु भएको थियो भने उहाँ क्रिकेटको राष्ट्रिय टिममा पर्नुहुन्थ्यो होला । 

पिताजीले उहाँलाई खेलका लागि पनि उत्प्रेरणा दिइरहनु हुन्थ्यो । ब्याट, बल किनिदिने गर्नुहुन्थ्यो । उहाँ त्यस बेलाको आफ्नो टिमको क्याप्टेन समेत हुनुहुन्थ्यो । 

टिमका लागि साथीहरूलाई परिचालित गर्न सक्ने खुबी । साथीहरूलाई जितका लागि उत्प्रेरित गर्ने कला । टिमका लागि एकताबद्ध गर्ने क्षमता यी सबै थियो, डा. पुष्प प्रसादसँग । स्कुलका किताबबाट भन्दा यस्ता कुराबाट आफूले धेरै सिकेको बताउनुहुन्छ उहाँ । 

बाल्यकालमा उहाँ चङ्गा पनि खुब उडाउनुहुन्थ्यो दसैँ छेकमा । त्यो पनि सबैसँग मिलेर समूहमा । त्यसले बेग्लै प्रकारको मानसिक सन्तुष्टि प्रदान गर्ने गथ्र्यो, उहाँ सम्झनुहुन्छ । 
खेलकुदमा धेरै संलग्न भए पनि कक्षा छोड्ने भने उहाँले गर्नु भएन । 

एक पटक थाई एअरको विमान दुर्घटना भएको हेर्न एयरपोर्ट गएको स्मरण गर्नुहुन्छ उहाँ । बाटोमा पिताजीलाई चिन्ने मान्छेले फलानोको छोरालाई देखेको थिएँ भनेर घरमा खबर पुगिसकेको हुन्थ्यो । घरमा गाली त खाइन्थ्यो । तर पनि यस्ता काम गर्न भने छोडिँदैनथ्यो, उहाँ सम्झनुहुन्छ । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा पद्मोदय हाइस्कूलमा भएको हो । उहाँको परिवारका सबै सदस्यको प्रारम्भिक आधार पनि पद्मोदय स्कुल नै हो । उहाँ त्यस्तो मेधावी छात्र त होइन । तर, समय काल परिस्थिति र अवसर तथा ठक्करले मानसिक रोगको क्षेत्रमा भने एउटा स्थापित नाम बन्न पुगेको छ प्रा.डा. पुष्प प्रसाद शर्मा । 

उच्च शिक्षा 

उहाँ नियमित पढाइ सकेर रुसको भोल्गाग्राद विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि जानुभयो । उहाँ उक्त विश्वविद्यालयमा जाँदा पनि मानसिक रोग विशेषज्ञ बन्छु भन्ने कुनै योजना थिएन । तर, जब मानसिक रोग र रोगीका कुरा आउँथे उहाँका कान भने ठाडा हुन्थे । 

उहाँ कलेजमा थोरै समय भए पनि मानसिक रोगका कक्षाहरू पनि हेरिरहनु भएको थियो । कतिपय त मानसिक रोगको वार्डमा पनि जान डराउँथे । तर, उहाँलाई भने बचपनदेखि घरमा देखेको मानसिक रोगीका कारण त्यस्तो डर, अप्ठ्यारो पटक्कै लाग्दैनथ्यो । 

मानसिक रोगीहरूले कुट्छन्,पिट्छन् भने पनि त्यति कुटपिट आफूले नदेखेको बताउनुहुन्छ उहाँ । जति सडकमा र अन्त मारपिट देखिन्छ त्यसको तुलनामा मानसिक रोगीले गर्ने हुल हुज्जत खास केही होइन, उहाँ भन्नुहुन्छ । 

यति लामो क्यारियरमा आफ्नो बिरामी एक पटक मात्र हिंसामा उत्रेको बताउनुहुन्छ । त्यसको साटो त आफ्ना सहकर्मीहरू कैयौँ पटक बिरामी र बिरामीका आफन्तको कुटपिटमा परेको उहाँ बताउनुहुन्छ । 

आफूले के गर्न हुने ? के नहुने ? भन्ने होस हराएका बिरामीका दाँजोमा होस सम्हालेका मानिसहरूको हिंसा उहाँका सहकर्मीले खेप्नु परेको देख्दा ती मानिसप्रति उहाँलाई दया लागेर आउँछ । 

रुसबाट सन् १९८४ मा नेपाल फर्किएपछि उहाँले यहाँ विभिन्न ठाउँ र विधामा काम गर्नुभयो । त्यसपछि फेरि सन् १९९१ देखि १९९४ सम्म भारतको चण्डीगढमा पोस्ट ग्र्याजुएट गर्न जानुभयो । त्यस बेलामा नेपालमा एमडीको पढाइ आँखामा मात्रै थियो कि उहाँ सम्झनुहुन्छ । अन्य विधामा भने थिएन । 

विवाह 

उहाँको विवाह २०४४ सालमा भएको हो । मागी विवाह । उहाँका एक छोरा र एक छोरी छन् । छोरा पनि मानसिक रोगका डाक्टर । छोरी भने अमेरिकाको बोस्टनमा एमपिएच अध्ययनरत । श्रीमती शर्मा रातो बंगलामा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । 

नेपाल फर्किएपछि 

१९९४ मा नेपाल फर्किएपछि उहाँले निजी क्षेत्रमा काम गर्नुभयो । जब वीर अस्पतालबाट मानसिक रोग अस्पताल छुट्टियो त्यसपछि त्यहाँ कुनै मानसिक रोगको कुनै सेवा थिएन । पिताजीले सुरु गर्नुभएको वीर अस्पतालमा उहाँले दुई वर्ष स्वयंसेवी भएर काम गर्नुभयो । सोमबार र बिहीबार । 

अध्यापनमा रुचि भएका कारण त्यसपछि उहाँ लाग्नु भयो नेपाल मेडिकल कलेजतिर । त्यहाँ ५,६ वर्ष काम गरिसकेपछि फेरि काठमाण्डौं विश्वविद्यालय । त्यहाँ १० वर्ष प्राध्यापन गर्नुभयो उहाँले । 

काठमाडौँ विश्वविद्यालय दूरीका हिसाबले अलि टाढा भएका कारण त्यसपछि उहाँले किष्ट मेडिकल काठमाडौँमा प्राध्यापन गर्नुभयो । 

समुदाय सचेतना 

उहाँले झन्डै सात वर्ष सिन्धुपाल्चोकको बाह्रबिसेमा समुदायमा मानसिक रोग सम्बन्धी सचेतनमा बिताउनुभएको छ । त्यस बेला विभिन्न शिविरहरूको आयोजना गरेर अन्य सहकर्मीहरूलाई समेत उहाँले सेवा गर्ने अवसर जुटाइदिनुभएको थियो । 

त्यस बेला गाउँ गाउँमा गएर त्यहाँका शिक्षक, राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ता, आमा समूह लगायतका अन्यलाई राखेर मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिन थाल्नुभयो । खासमा त्यो बेलामा यस्ता खालका समूह भेला गरेर त्यसमाथि मानसिक रोगको तालिम दिने चलन त्यति चली सकेको थिएन । यसमा कसैको आर्थिक वा अन्य सहायता थिएन । यो उहाँको आफ्नै सोच र लगानीको उपज थियो । 

पत्रकार र धामी झाँक्रीलाइ तालिम 

विभिन्न समूहलाई तालिम दिने सिलसिलामा उहाँले धामी झाँक्री तथा पत्रकारलाई पनि मानसिक रोग सम्बन्धी तालिम दिन थाल्नुभयो । गाउँमा वर्षौँदेखि चलिरहेको धामी झाँक्रीको परम्परालाई एकै पटक अन्त्य गर्न त सकिँदैन थियो । त्यसैले उहाँले धामी झाँक्रीलाई राखेर तपाइकोमा आएका र तपाइले ठिक गर्न नसकेका बिरामीलाई हामीकहाँ पठाइदिनुस् भनेर अनुरोध गर्नुभयो । यसले परिणाम के दियो भने बिस्तारै धामीझाँक्रीले पनि बिरामी पठाउन थाले यसले समुदाय स्तरमा नै एउटा राम्रो सन्देश दियो र काम गर्न सहज भयो । 

पत्रकारहरूलाई पनि मानसिक रोग के हो ? यसका बारेमा कसरी समाचार प्रकाश गर्दा त्यसले समाजमा सकारात्मक सन्देश दिन्छ ? भन्ने खालका तालिम पनि भए बाह्रबिसेमा । 

पछि दोलखामा एफएम र अन्य पत्रकारलाई पनि तालिम दिने काम गर्नुभयो उहाँले । यसले समाजमा पारेका सकारात्मक प्रभावका बारेमा त्यहाँ निकै चर्चा परिचर्चा हुने गरेको उहाँ सम्झनुहुन्छ । अब यत्ति नै भयो र यस्तो भयो भन्ने आधिकारिक तथ्याङ्क त त्यो बेलामा राख्ने काम पनि गरिएन । 
पछि यो कामलाई थुप्रै संस्थाहरूले पनि जारी राखे उहाँ सम्झनुहुन्छ । 

तेस्रो पुस्ताको प्रवेश  

उहाँ सम्झनुहुन्छ न उहाँलाई उहाँको पिताजीले यो पेसामा आउनको लागि आग्रह गर्नु भएको हो । न त कर नै । अब त्यो बेलामा त पिताजीले मलाइ स्वतन्त्र छोडिदिनु भएको थियो भने मैले मेरो छोरोलाई झन् केही भन्ने कुरै भएन, उहाँ भन्नुहुन्छ । 

आफूसँग चिकित्साका अन्य विधामा जाने प्रशस्त सम्भावना हुँदाहुँदै पनि आफूले यो क्षेत्र रोजेको बताउनुहुन्छ उहाँ । उहाँलाई पिताजीले कहिले पनि यो पढ यो नपढ वा मेरो पेसा अँगाल भनेर भन्नुभएन । यो विशुद्ध उहाँको रोजाइ हो । यो स्वतन्त्रता मलाइ थियो, उहाँ भन्नुहुन्छ ।

जब मलाई त त्यो स्वतन्त्रता थियो भने मेरो छोरालाई कति थियो होला, अनुमान गर्नुस् । उहाँले बल अरूको कोर्टमा नै फालिदिनु भयो । 

अब मानिसहरूले यो लुकेको तर स्वास्थ्यको सबैभन्दा महत्त्वपूर्ण पाटो रहेछ भनेर बुझ्न थालेका छन् । त्यसैले पनि यसको आकर्षण बढेको जस्तो लाग्छ उहाँलाई । 

उहाँ आफूलाई पिताजी पछिको दोस्रो पुस्ताको पहिलो मानसिक रोग विशेषज्ञ बताउनुहुन्छ । त्यसपछि यो क्षेत्रमा अरुण कुँवर आउनुभयो । त्यसपछि अहिले अरु आउनु भएको छ । 

अन्य अवसर हुँदाहुँदै हामी यो क्षेत्रमा आएको देखेर अरूहरू पनि यो क्षेत्रतर्फ आकर्षित हुनुभएको छ । बिस्तारै समाजमा मानसिक रोग र रोगीप्रति हेर्ने दृष्टिकोण बदलिएको छ । 

भूकम्प, कोरोना र अन्य प्राकृतिक तथा मानवजन्य विपत्ति पछि आउने अवस्थाले मानसिक स्वास्थ्यको महत्त्व झनै बढाएको छ भने मानसिक रोग प्रतिको सङ्कुचित धारणामा समेत परिवर्तन आएको उहाँ बताउनुहुन्छ । 

उहाँ आफू पनि पहिले देखिनै मानसिक रोगको डाक्टर बन्छु भनेर पढ्नु भएको होइन । विभिन्न विधामा सात वर्ष बिताइ सकेपछि मात्रै यो क्षेत्रमा आउनुभएको हो । उहाँको अरु विधामा जाने स्वतन्त्रता र हैसियत दुबै थियो । तर पनि खै किन हो उहाँ यो क्षेत्रमा नै आकर्षित हुनुभयो ।

उहाँको छोरा प्रज्ञान शर्माले पनि बोस्टन युनिभर्सिटीबाट साइक्याट्रिक सकाउनु भएको हो । हाल उहाँ न्यु मेक्सिको युनिभर्सिटीको एसिस्टेण्ट एसोसिएटका रुपमा कार्यरत हुनुहुन्छ । 

छोरालाई क्लिनिकल र रिसर्च दुबै पक्षमा रुचि रहेको उहाँ बताउनुहुन्छ ।

यहाँ विविध कारणले हुन नसक्ने केही अनुसन्धानमा छोरो लागेको बताउनुहुन्छ उहाँ । साथै यो सबै सकाएपछि नेपाल नै फर्किनेमा पनि उहाँ आशावादी हुनुहुन्छ । 

संसारमै तेस्रो पुस्ता यस्तो खालको डाक्टर एकदमै कम छ । नेपालमा त बिरलै होला उहाँ भन्नुहुन्छ । 

उहाँ र उहाँको पिताजीले मानसिक स्वास्थ्यमा दिएको योगदान नै झन्डै आधा शताब्दीको भैसकेको गौरव उहाँले यो बताइरहँदा उहाँको मुहारमा झल्कन्थ्यो । 

आर्थिक पक्ष

सामान्यतया मानसिक रोगलाई आर्थिक उपार्जनका हिसाबले कमजोर मानिन्छ मेडिकल क्षेत्रमा । तर, यसमा उहाँको भने भिन्न विचार छ । अब सुरुमा र छिट्टै उपार्जन खोज्नेका लागि त्यो हुनसक्छ । तर, लामो समयका हिसाबमा लिने हो भने मानसिक रोगको विधा पनि कमजोर छैन । यसमा सहज जीवन यापनका लागि कुनै समस्या छैन । यो लामो ‘रेस’को घोडा हो । अरु भनेका सय मिटरका दौड हुन, उहाँ भन्नुहुन्छ । जीवनको उत्तरार्धमा तपाईँको क्यारियरसँगै यसले आर्थिक मजबुती पनि प्रदान गर्छ, उहाँको अनुभव हो यो । 

पेसागत रुपमा तपाईँ छिट्टै आर्थिक उर्पाजन चाहनुहुन्छ भने त्यो जुनसुकै विधामा पनि प्रत्युत्पादक हुन्छ उहाँको भनाइ छ । 

यो भनेको एकदमै आकर्षक पेसा हो । यहाँ मानव छ । मानव जीवन छ । मानवीय भावना अनि संवेदना छ । यसमा काम गर्दा जति रमाइलो छ त्यो अरूमा छ जस्तो मलाइ लाग्दैन । डाक्टर भएका नाताले मात्रै मैले यो भनिरहेको हैन । लामो समयको उपचार पछि जब कुनै बिरामी निको भएर घर फर्कन्छ त्यसबाट प्राप्त हुने आत्मसन्तुष्टि कुनै कुराले पनि दिंदैन् । 

त्यो एक जना व्यक्तिका लागि मात्र नभएर देश, समाज र सिङ्गो परिवारका लागि हुन्छ । यो विधाले एक जना व्यक्ति मात्र नहेरेर परिवार, साथीभाइ, समाज सबै हेर्छ । 

आत्महत्याको नदेखिने तथ्याङ्क

हुन त आत्महत्या सदियौँदेखि चल्दै आइरहेको छ । रोक्ने प्रयास हुँदाहुँदै पनि पछि पनि जाला तर, एउटा कुरा के बिर्सनु हुँदैन भने मानसिक रोगका डाक्टरले यो रोक्नमा कतिको योगदान गरे भन्ने कुरा कुनै तथ्याङ्कमा आउने कुरा होइन । 

हामी यतिले आत्महत्या गरे भन्ने तथ्याङ्क पेश गर्न सक्छौँ । तर, कति रोकियो त्यो प्रस्तुत गर्न सक्दैनौँ । फलानोले आत्महत्या गथ्र्यो वा गर्दैनथ्यो भन्ने कुरा कसले भन्न सक्छ र ? तथ्याङ्कका रुपमा यति रोकियो भनेर भन्न नसकिए पनि एउटा इमानदार प्रयासका कारण त्यसमा यति कमी आयो भनेर गर्व गर्न भने सकिन्छ । 

यसको एउटा भाग भने सधैँ उजागर हुने गर्छ तर, यसको रोकथामको पाटो भने सधैँ ओझेल पर्ने गर्छ । 

चिकित्साको अन्य विधामा भने केही हदसम्म चिकित्सकका कारण उसको मृत्यु टर्‍यो भनेर देख्न सकिन्छ । भलै मृत्यु यस्तो शाश्वत सत्य हो जसलाई कसैले टारेर टार्न सक्दैन । तर, मानसिक रोगका सन्दर्भमा भने मृत्यु देख्न सकिने र बचावट देख्न नसकिने हुन्छ । तर, महसुस भने गर्न सकिने कुरा हो । 

यसमा चिकित्सकको सफलता भनेको उसले महसुस गर्ने सन्तुष्टि नै हो । जुन अलौकिक छ । अवर्णनीय छ । 

एउटा पेसागत मर्यादाका कारण आफूले प्राप्त गरेको सफलतामा धेरै नमात्तिने एउटा व्यवहारिक गुण पनि यसले सिकाउँछ । पेसाप्रति इमानदारिता, सम्मान र नम्र पनि हुन सिकाउँछ यसले । 

शनिवार र जेरी  

प्रत्येक हप्ताको शनिवार उहाँको पिताजीले बानेश्वरमा एउटा मानसिक स्वास्थ्य सम्बन्धी निःशुल्क क्लिनिक चलाउनुहुन्थ्यो । उहाँलाई शनिवार कहिले आउला जस्तो लाग्दो रहेछ । एक त पिताजीसँग बानेश्वर जान पाइने । अर्को भनेको त्यहाँ जेरी खान पाइँदो रहेछ । यो जेरी खानका लागि पनि शनिवार विशेष रहेको उहाँ बताउनुहुन्छ । 

उहाँले यसका लागि ‘कण्डिशनिंग’ भन्ने एउटा प्राविधिक शब्दको प्रयोग गर्नुभयो । यसको अर्थ तपाइले धेरै मिठो कुरासँग केही नमिठो कुरा मिसाइ दिनुभयो भने तपाईँलाई त्यो पनि मिठो लाग्छ । 

त्यहाँ हल्ला गरिरहेका, इसिटि लगाइरहेका तथा अन्य बिरामीका कारण उत्पन्न हुने व्यवधान पनि जेरीका अगाडि गौण हुन्थे । उहाँले शनिवारको रमाइलो स्मरण  गराउनु भयो । 
शायद मानसिक रोगीप्रति नकारात्मक धारणा नबन्नुमा यो पनि एउटा कारण हो कि ! उहाँ सम्झनुहुन्छ । 
आत्मविश्वास बाबु/बाजेको विरासत

उहाँको हजुरबा तीन धारा पाठशालाको संस्कृतको शिक्षक । उहाँको पिताजीले पनि संस्कृत पढ्नु भएको हो । पिताजीले त १८ वर्षको उमेरमा मात्र अङ्ग्रेजी पढ्न सुरु गर्नु भएको हो । १८ महिना पश्चात् उहाँ एसएलसी सकाएर पटना पढ्न जानुभयो । त्रिचन्द्र कलेजको सम्बन्धन थियो कि जस्तो लाग्छ लखनउमा उहाँ भन्नुहुन्छ । 
पिताजीमा एक किसिमको आत्मविश्वास थियो आफूप्रति । शायद त्यो मैले पनि सिकेँ हुँला केही उहाँ भन्नुहुन्छ । 

ठुलाप्रति आदर, पेसाप्रति सम्मान र जीवनमा आइपर्ने हरेक उतार चढावलाई सहज ढङ्गले आउँछ जान्छ भनेर सामान्य ढङ्गमा लिन सक्ने खुबी नै वास्तविक पढाइ हो भन्नेमा उहाँ जोड दिनुहुन्छ । 

तत्काल परिणाम 

अहिलेका पुस्तालाई अहिले नै र तत्कालै परिणाम चाहिन्छ । तर, वास्तविक जीवनमा यस्तो हुँदैन । यसले मानिसमा तनाव बढाउँछ । आफ्ना विद्यार्थीलाई उहाँ यस्तै सिकाउनुहुन्छ । उहाँ आफ्नो उदाहरण दिँदै भन्ने गर्नुहुन्छ, म आखिर कस्तो विद्यार्थी थिएँ । अहिले कस्तो भएँ । हरेक व्यक्तिको जीवनमा परिश्रम गर्ने समय आइराखेको हुन्छ । बिस्तारै परिश्रम गरेर अघि बढ्दा अवश्य सफल होइन्छ । त्यसैले धैर्य र इमानदारिता जीवनका नभई नहुने गुण हुन भन्ने कुरामा उहाँ जोड दिनुहुन्छ । 

बिरामीका स्मरण 

सुरुमा जब युवावस्थामा भर्खर पढेर आइन्छ त्यो बेला म सबै जान्दछु र सबै ठिक बनाउन सक्छु भन्ने लाग्छ । र, मैले गर्नैपर्छ भन्ने पनि लाग्छ । त्यस बेला भएका असफलताले धेरै नै मानसिक पीडा दिने गर्छ । 

यो पेसामा सबैभन्दा मानसिक पीडा दिने भनेकै बिरामीले गर्ने आत्महत्या हो । कतिपय अवस्थामा बिरामीले औषधी बन्द गरेर थाहै नदिई आत्महत्या गर्ने गर्छन् । यसमा अब हामीले पनि केही गर्न सक्दैनौँ । 

कतिपय अवस्थामा उपचार गर्दागर्दै पनि आत्महत्या हुने गर्छ । त्यो एकदमै नगण्य छ । सारै कम छ । तर, सबैभन्दा पीडा दिने भनेको चाहिँ यस्तै घटना हो । 

अर्को दुखद अवस्था के भने बिरामीले लामो समयसम्म औषधी सेवन गरेर बिस्तारै ठिक हुँदै गरेको हुन्छ । उ समाज र परिवारमा पनि बिस्तारै घुलमिल हुँदै गरेको हुन्छ । तर, यही

बेला अन्य शारीरिक रोगले उसको जीवन समाप्त हुन्छ । यस्तो केसले पनि पीडा दिने गरेको उहाँ सम्झनुहुन्छ । 

कडा खालको मानसिक रोगमा १५ देखि २० प्रतिशत ठिक गर्न सकिँदैन । त्यसमा चाहिँ प्रयास गर्दागर्दै पनि भएन भनेर चित्त बुझाउन त सकिन्छ । तर, अझै केही गर्न सकिन्थ्यो कि भन्ने चाहिँ लागिरहन्छ । दुःख भने त्यस्ता केसमा पनि अवश्य हुने गर्छ । 

संयोग भन्नुस वा साइत । भाग्य अध्यात्ममा रुचि राख्नेका लागि ठिक होला । जे होस चाहेर नचाहेर आफूलाई पिताजीबाट विरासतमा प्राप्त भएको मानसिक रोग र रोगीलाई नजिकबाट नियाल्ने वातावरण नै उहाँ दोस्रो पुस्ताको मानसिक रोगको डाक्टर बन्नुको पछाडिको कारण देखिन्छ । अझ यसमा उहाँको छोरा पुस्ताले पनि यही पेसा वा विरासतलाई अँगालेर एउटा नयाँ अध्यायको शुरुवात गर्नुभएको छ । यस्तै छ कथा तीन पुस्ते मानसिक रोगका डाक्टरको ।