सत्त्व, सत्वरजः, रजस्तमको उच्च स्थानमा वास र बन्धन

सत्त्व, सत्वरजः, रजस्तमको  उच्च स्थानमा वास र बन्धन

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  श्रावण ३२, २०७७

   यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
    तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ।। ६ ।।

अन्वय र अर्थ – सर्वत्रगः = सबै ठाउँ विचरण गर्ने, महान् = महान्, वायुः = वायु, यथा = जसरी, नित्यं = नित्य, आकाशस्थितः = आकाशमा नै स्थित छ, सर्वाणि = सम्पूर्ण, भूतानि = भूतहरू तथा = त्यसरी नै, मत्स्थानि = निर्लिप्त भावले ममा नै स्थित छन्, इति उपधारय = यस्तो जान ।

भावार्थ – सर्वत्रगामी महान् वायु जुन प्रकारले आकाशमा नित्य अवस्थित छ, समस्त भूत पनि ममा त्यसरी नै अवस्थित छ, यो कुरा जान ।

विशिष्टार्थ – जस्तै आकाश देख्नमा असीम छ, आकाशका साथ वायु ससीम भएर पनि आफ्ना अणु परमाणुमा आकाशलाई मिलाएर असीमको रूप लिएको छ, परन्तु जस्तै आकाशमा उसको कुनै प्रत्यक्षता देखिदैन, त्यसरी नै जति भूत छन् ती सबैका अणु परमाणुमा ओतप्रोत भावले मलाई मिलाएर 'म' रूपमा सबैलाई लुकाएर मेरो स्वरूप देखाउँछु । परन्तु 'म'यी सबैको कुनै कुरामा कुनै प्रकारले लिप्त छैन । अतः म भन्छु – आकाशमा वायु सदृश 'म' मा भूत समूह छ, यो वुझि राख ।

    सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
    कल्पक्षये पुन स्तानि कल्पादौ विसृज्याम्यहम् ।। ७ ।।

अन्वय र अर्थ – कौन्तेय = हे कौन्तेय ! कल्पक्षये = प्रलयकालमा, सर्वभूतानि = सम्पूर्ण प्राणी, मामिकां = मेरो, प्रकृतिं = मायामा, यान्ति = लीन हुन्छन्, कल्पादौ = सृष्टिकालमा, पुनः = पहिले जस्तै, अहं = मैले, तानि = ती प्राणीहरूलाई, विसृजामि = सृजन गर्दछु ।

भावार्थ – हे कौन्तेय ! कल्पक्षय (प्रलयकाल) मा भूत समूह मेरो प्रकृतिमा लीन हुन्छ, कल्पादि (सृष्टिकाल) मा फेरि म ती सबैको सृजन गर्दछु ।

जबसम्म जीवको प्रकृति र प्रकृतिको कार्य देहसंग  'म'  'मेरो' पनको सम्बन्ध छ तबसम्म उसमा  'म गर्छु' 'म बोल्छु' यो मेरो त्यो मेरो, म ठूलो भन्ने भाव रहिरहन्छ । प्रकृतिको परवशताका कारण जीव उसको अधीनमा रहेर उसमा विविध परिवर्तन भइरहन्छ अर्थात् उसको कहीं पनि स्थायी स्थिति हुँदैन, जन्म मरणको चक्रमा फन्का मारिरहन्छ ।

विशिष्टार्थ – समुन्द्र जलको भण्डार हो । वायुको शोषण शक्तिले जल शोषित भएर आकाशमा उड्छ तातो पदार्थको वाफ जस्तै । पृथ्वीका उच्च पर्वत, शिखर, उच्च स्थानका वृक्षका पातहरू किसलय रागले नवीन रसमा रञ्जित भएर दर्शन गर्नेहरूको मन भुलाइदिन्छन् । हेर, त्यसको त्यो रस विन्दु पनि त्यही महासागरको जल हो । वायुद्वारा शोषित जलकण आकाशमा पुगेर वायुको सहायताले मेघरूप धारण गरेर वर्षणद्वारा समस्त पृथ्वीलाई सिञ्चन गरेर नदीरूपले समुद्रमा मिलेर पुनः समुद्र बन्छ । यो  'कल्पादि' र 'कल्पक्षय' भयो । यसरी नै मनले कल्पना परित्याग गरेर जब बुद्धिको आश्रय लिन्छ,  तत्क्षागत् बुद्धिले  अहङ्कारको आश्रय लिन्छ । यो अहंकार नै सानो 'म' अर्थात् जीव हो । जबसम्म साधक चित्तभेद गरेर विवस्वान्को माथि पीठमा पुग्दैन तबसम्म ऊ चित्तको अधीनमा रहनु पर्छ । अतः  क्रियाको परावस्था भोग गरेर पनि साधक पुनः संसार अवस्थामा अर्थात् क्रियाको परावस्थाको परावस्थामा फर्कनु पर्दछ, यो कल्पादि भयो । क्रियाका परावस्थामा ब्रम्हत्व भोग गर्‍यो, फेरि विवश भएर जुन पुनः संसारावृत्ति भयो, फेरि जुन जीवरूप लिएर नाच्न थाल्यो, यो प्रकृतिको वशतापन्नको दृष्टान्त र दैनिक प्रलय तथा जन्म ग्रहणको भोगाभोगको बोधन हो, यो जस्तो अल्पकाल स्थायी छ, मृत्यु  पछि  त्यस्तै केही अधिक कालसम्म रहेर पुनः संसार प्राप्ति वा जन्म हुन्छ । यो भनदा केही अधिककाल परिलीन अवस्थामा रहनुको नाम महाप्रलय हो । परिलीन अवस्थालाई नै कल्पक्षय भन्दछन् । अनि प्राकृतिक स्फुरण अवस्थालाई कल्पको  आदि भन्दछन् । प्रकृति जसरी  'म' मा लागेर विभोर भएर  'मलाई' नलिएर चक्कर खान्छ, विवशको खेल खेल्छ, प्रकृतिगत जे छ ती सबैले पनि सोही प्रकृति सदृश विवश भएर चक्कर खाने खेलमा योग दिएका छन् । यो कल्पक्षय र कल्पादि भनिएको छ ।

    प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
    भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।। ८ ।।

अन्वय र अर्थ – (अहं = म) स्वां = आप्mनो, प्रकृतिं = प्रकृतिलाई, अवष्टभ्य = वशमा लिएर, प्रकृतेर्वशात् = प्रकृतिको वशमा हुनाले, अवशं = स्वतन्त्र नभएको, इमं = यो, कृत्स्नं = सम्पूर्ण, भूतग्रामं = भूत समुदायलाई, पुनः पुनः = बारंबार, विसृजामि = सृजन गर्दछु ।

भावार्थ – म आफ्नो प्रकृतिको आश्रय गरेर, प्रकृतिको वशमा रहन विवश यी समस्त भूतहरूको बारंबार सृजन गर्दछु ।

विशिष्टार्थ – जस्तै ऐनामा मुख छ, गाईको खुरले बनाएको खोविल्टाको पानीमा आकाश छ, त्यस्तै नै  चित्तमा  प्रतिविम्बित  'म' हुँ । यस 'म' मा रहेको मैले बहु 'म' को सृष्टि गर्छु । जस्तै हजार पल युक्त शीशाको दूरविनमा आँखा लगाएर हेर्दा एक वस्तुलाई हजार वस्तुको रूपमा देखिन्छ त्यस्तै मैले आफ्नो मायाको विस्तार गरेर एक 'म' को अनन्त प्रकार वा अनन्त आकारले सृष्टि गरिसकेको छु । शीशाको दूरवीनलाई घुमाउँदा जसरी त्यो एक वस्तु बदलिंदै बदलिंदै प्रत्यक पलमा नयाँ नयाँ आकार लिएर अन्तमा पहिले जस्तै ठीक आकारमा देखिन्छ, त्यसमा त्यो बस्तु जस्तो जड त्यस्तै नै ठीक एक स्थानमा रहन्छ, हलचल गर्दैन । जस्तो दूरबीनलाई वाङ्गो टिङ्गो घुमाउंदा भ्रममा अनेकौं आकारका दृश्यहरू देखिन्छन्, त्यस्तै नै मेरो मायाको चक्करको खेलको गुणले बारंबार मेरो जन्म, बारंबार मेरो संक्षय जस्तो भ्रम देखिन्छ । यो पनि सोही शीशाको बंशीभूत दृश्य जस्तै मायाको वशमा भूतग्राम अर्थात् शरीर समूह इन्द्रजालको क्रियाको दृश्य हो । यसमा कुनै पनि सत्यता छैन ।

    न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय ।
    उदासीनवदासीनमसक्त तेषु कर्मसु ।। ९ ।।

अन्वय र अर्थ – धनञ्जय = हे धनञ्जय ! तेषु = ती (सृष्टि रचनादि), कर्मसु = कर्महरूमा, असत्तंm = फल सम्वन्धी आसक्तिले रहित, उदासीनवत् = उदासीन जस्तो, आसीनं = स्थिर रहेको, मां = मलाई, तानि = ती भूतग्राम विषम रचनानिमित्तक, कर्माणि = कर्महरू, न च निबध्नन्ति = बन्धनमा पार्दैनन् ।

भावार्थ – हे धनञ्जय ! म ती सबै कर्ममा अनासक्त, तथा उदासीन सदृश अवस्थित छु, अतः ती कर्म समूह मलाई आबद्ध गर्न सक्दैनन् ।

विशिष्टार्थ – कर्म-गुरूपदिष्ट मार्गमा प्राण चालन- जबसम्म गर्न सकिन्छ तबसम्म नै रजोगुणको क्रिया हो । जसै जसै रजोगुणको क्रियाको अवसान भैरहन्छ तब तब सत्वगुणको प्रकाशको आरम्भ पनि भइरहन्छ । यो सत्वगुणको प्रकाश जबसम्म भइरहन्छ तबसम्म रजोगुण पनि रहिरहन्छ । जब प्रकाश शेष भएर स्थिर हुन्छ अर्थात् हुनु नहुनु सबै क्रिया मेटिएर प्रकाश नै प्रकाश रहन्छ, यो स्थिति नै (शुद्ध) तमः हो । यस तमलाई नै गुणातीत अवस्था भन्दछन् । यसलाई कर्मले छुन सक्दैन । यो गुणको अतीत अति उच्चपद हो, यहाँ कर्म पुग्न सक्दैन ।'म'उदासीनवत् अर्थात् त्यस उच्च स्थानमा वसिरहेको जस्तो वसेको छु । सत्व, सत्वरजः, रजस्तम यी सबै गुण तलतिर घुमफिर गरिरहन्छन् । मेरो आसक्ति यी सबै माथि नहुनाले नै कुनैले पनि मलाई छुन सक्दैनन् । ममा आसक्ति पनि छैन, मलाई यी सबैले छुन पनि सक्दैनन् । स्पर्शास्पर्श अर्थात् गुणस्पर्श दोष नै बन्धन हो, ममा गुण स्पर्श छैन, अतः बन्धन पनि छैन ।

    मध्याध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
    हेतुनानेन कौन्तेय जगद् विपरिवर्तते ।। १० ।।

अन्वय र अर्थ – कौन्तेय = हे कुन्तीनन्दन ! मया = मेरो, अध्यक्षेण = अध्यक्षतामा, प्रकृतिः = प्रकृतिले, सचराचरं = व्यक्ताव्यक्तात्मक विश्व, सूयते = रचना गर्दछे, अनेन = यस, हेतुना = अध्यक्षत्वका कारणले, जगत् = जगत्, विपरिवर्तते = बारंबार परिवर्तित भैरहन्छ ।

भावार्थ – हे कौन्तेय ! मेरो अध्यक्षतामा प्रकृतिले चराचर जगत्को रचना गर्दछे, यस अध्यक्षता हेतु जगत् बारंबार बदलिन्छ ।

विशिष्टार्थ – अध्यक्ष – यस संसारमा जे जति कार्यहरू भैरहेका छन् ती सबै प्रकृतिद्वारा नै भइरहेका छन्, परन्तु वास्तवमा मेरो अध्यक्षता अर्थात् प्रेरणाबाट नै  भएका हुन् । यहाँ 'म' (अहंकार) अध्यक्ष हो । आकाशमा एक टक लगाएर हेरिरहँदा कुनै लामा, कुनै बाटुला, गिजमिज गिलमिज अनेकौं दृश्यहरू देखिन्छन्, परन्तु ती सबै दृष्टिको विकार मात्र हो, कुनै वस्तु होइनन् । त्यस्तै चित्तपटमा प्रतिबिम्बित चिच्छायाका साथ मिलेर प्रकृतिले अनेक प्रकारको सृष्टि गर्दछ, त्यो सबै सृष्टि चर अचर, जड–चेतन हो । यो सबै पनि त्यस दृक् शक्तिको विकारद्वारा उत्पन्न आकाशमा देखिएका स्वरूप जस्तै परिवर्तनशील उत्पत्ति–स्थिति–लय धर्मी छ । परन्तु द्रष्टाको दृक् शक्ति र मायाको संयोग नै त्यसको हेतु हो । जबसम्म जीवको प्रकृति र प्रकृतिको कार्य देहसंग  'म'  'मेरो' पनको सम्बन्ध छ तबसम्म उसमा  'म गर्छु' 'म बोल्छु' यो मेरो त्यो मेरो, म ठूलो भन्ने भाव रहिरहन्छ । प्रकृतिको परवशताका कारण जीव उसको अधीनमा रहेर उसमा विविध परिवर्तन भइरहन्छ अर्थात् उसको कहीं पनि स्थायी स्थिति हुँदैन, जन्म मरणको चक्रमा फन्का मारिरहन्छ ।

    अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
    परं भावमजानन्तो मम भूतमहेश्वरम् ।। ११ ।।
    
    मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।
    राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः ।। १२ ।।

क्रमश:

याे पनि 

वेदको अर्थ हो ज्ञान : वेदविद् कसलाई भन्ने ?

सूर्यकोष भित्रका चाैध भुवनवासीले पुनर्जन्म लिन नपर्ने अवस्था

परिवर्तन र विनाशकाे तुलना : पानी र समय जस्तै हाे जन्म-मृत्यु पनि !

शरीर त्याग तथा काल के हो ? पुनरावृत्ति अर्थात् पुनर्जन्म बारेमा उपदेश !

भूतहरूको उत्पत्तिकर्ता र ससीमकी आमा