सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ३२, २०७७

इलाम । जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।
 
फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई खोततलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत इलामबाट विसं २०७० फागुन ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकिएको थियो । पक्राउ परेका मगरलाई जिल्ला अदालतमार्फत कारागार पठाइने बताइएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट कैद भुक्तानी तोकिए पनि फरार रहेकाहरुलाई नियन्त्रणमा लिइरहेको छ । यसअघि २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।