‘ओह यो हो कीमिया’

विज्ञान कथा भाग- ३

‘ओह यो हो कीमिया’

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र ९, २०७५

हर्ष र विषादको संयुक्त अनुभूति कस्तो हुन्छ ? कुनै धनपति अथवा राजयुवकलाई शायद हुन्छ पनि होला, पिताको निधनमा । तर म जस्ता मध्यमवर्गीय प्राणीका लागि यी दुवै स्पष्ट विभाजनका साथ बेलामौका जीवनमा आउने गर्छन् । तर आज म यी दुवै अनुभूतिले एकै समयमा गुज्रिरहेको थिएँ । 

देवराजसँगको सान्निध्यले जहा हर्षको अन्त थिएन, त्यहीं आज नै उहाँको प्रस्थानको कार्यक्रमले मनलाई विषादको विषद मरुस्थलमा दग्ध गरीरहेको थियो । 

मैले प्रश्न गरें, देवराज नियति यति क्रुर किन छ ? चार दिनको हजूरसँगको सान्निध्य र अब जीवन भरीको विछोड ! मैले चाहेर पनि हजूरलाई भेट्न नसक्ने । हजूरको स्मृतिमा म क्षुद्रको कुनै स्मृतितरंग पनि शेष नरहने.....।

यसै ‘प्वाइन्टमा’ त निराकारले साकारमाथि आफ्नो श्रेष्ठता प्रमाणित गर्छ । तिमी मेरो यस रुपको भ्रान्तिमा अल्झिरहेका छौ । सोच त.. जगतको मूल, तिम्रो पनि मूल ! के जगत र तिमी भन्दा विभक्त भएर कतै जान सक्छ ? 

प्रभू यो ज्ञान चर्चाले अब मन मान्दैन । गोपिनीहरुले कृष्णका दूत उद्धवलाई दिएको जवाफ नै सम्झिन्छ यो त – ‘ऊधौ मन छैनन् दस बीस, एक थियो जुन लग्यो श्यामले को जपी बसोस ईश ।’
यो भक्ति एवम् साकारको उदात्त पराकाष्ठा हो, तर एउटा रहस्य पनि त लुकेको छ यसमा...... त्यो विरह नै गोपिनीको उदात्त हर्ष हो, उनीहरु विछोडमा दुखी होइनन् उनको मन विषादले आपुरित होइन, उनले त जीवनको जे अवस्था छ त्यसलाई सहज स्वीकार गरी सुख र दुखको भेद नछुट्यायी जीवन रुपी प्रक्रिया चन्दा दिएकी छन् । 

  ‘ओह यो हो कीमिया’, हठात् मेरो मुखबाट निक्लियो । 

  ‘यस यू गाट इट’ देवराजले भन्नुभयो, यसलाई स्मरण राख्नु वत्स !

 प्रभू, साकार निराकाररुपी भेदको ‘क्वाण्टम मेकेनिक्स’लाई बुझेर म अज्ञान र कर्म बन्धनबाट मुक्त भएँ । प्रक्रियामा सबै नाटकमा मेरो भूमिका स्पष्ट भयो, ‘म’ भनाउँदो म पनि प्रक्रिया नै हो । म यो प्रक्रियामा सूर्य नहुँदा पनि थिए, सूर्य नहुँदा पनि रहने छु । 

मेरो अभिव्यक्ति सुनीरहँदा देवराज मुसुमुसु हाँसीरहनु भयो । केही क्षण पछि उहाँले महिला मित्रसँग सोध्नु भयो, तिमी जर्मन कहिले फर्किन्छौ ? 

देवराज मसँग ‘ओपन टिकट’ छ । नेपालको कानून अनुसार दुई महिनाको ‘भीसा’ अझै थप हुन सक्छ । 

‘मेरो परामर्श छ तिमी आज बेलुका नै प्रस्थान गर’, देवराजले भन्नुभयो । 

किन र देवराज, के यिनको घरमा केही घटित हुनेवाला छ ? 

होइन, होइन, त्यहाँ केही होइन, मेरो प्रस्थानले नेपालमा ठूलो उथलपुथल हुन सक्छ । राजनीतिक अराजकता फैलिन सक्छ । आउँदा पनि पुष १ गते आएको थियो । 

तर, देवराज मलाई अहिले फर्किने इच्छा छैन, घरमा पनि कसैले मेरो आवश्यकता महसुस गरेका छैनन्, मित्रले भनिन् । 

तिम्रो पतिलाई तिम्रो अभाव खटकिन थालेको छ, बगैंचालाई पनि तिम्रो हेरचाहको आवश्यक भइसकेको छ । अहिले जाउ, आउँदो शिवरात्रिमा आएर भगवान पशुपतिनाथको दर्शन गर्नु । 
होस् प्रभु, त्यो भए म आजलाई नै ‘टिकट कन्फर्म’ गरेर आउँछु भनी, उनी गइन् । 

देवराज यी जर्मन मित्रसँग मेरो साथ कतिञ्जलेलसम्म रहन्छ होला ?

तिमी दुबैले चाहुन्जेल साथ रहन्छ, त्यसमा पनि खास गरी तिमीले चाहुन्जेल । छिट्टै नै तिम्रो जीवनको धारा परिवर्तित हुन्छ, त्यसमा यिनको ठूलो सहयोग रहन्छ । तिमी परिवर्तित भूमिकामा परिपक्व नभएसम्म त यो साथ रहन्छ । 

मित्र फर्केर आइ पुगिन र बस्दै भनिन्, बेलुकी ८ बजेको ‘फ्लाइट’ मा ‘ टिकट कन्फर्म’ भयो । ५ बजे ‘एअरपोर्ट’ पुग्नु पर्छ । मलाई यो ‘एअरपोर्ट’ मा तीन घण्टा पर्खिनु पटक्कै मन पर्दैन । फेरी ‘ब्याग’ पनि मिलाउन बाँकी नै छ । 

देवराजले हाँस्दै भन्नुभयो, तिम्रो यो समस्याको समाधान मसँग छ । तिमी ‘फ्लाइट’ भन्दा दश मिनेट पहिला ‘एअरपोर्ट’ पुगे पनि हुन्छ । 
(मित्र खुशीले उफ्रदै) हो र देवराज, के यो सम्भव छ ? 

किन नहुनु तिम्रो ‘क्लोन’ बनाएर सम्भव छ, देवराजले उत्तर दिनुभयो । 

‘क्लोन’ तुरुन्तै तयार हुन्छ र ? 

तिम्रो प्रविधिमा तुरुन्त हुन्न अहिलेसम्म, तर देवगणका लागि यो सहज विज्ञान हो । तिमी मलाई आफ्नो एउटा केश देऊ, म त्यसबाट तिम्रो ‘क्लोन’ तयार पारी दिन्छु । 

मैले अचरजले सोधें, केशबाट ? 

रगत, मासु, कफ जेबाट पनि ‘क्लोन’ बन्छ । केश दिनु सहज छरितो हुन्छ भनेर केश मागेको हुँ, देवराजले भन्नुभयो । 
क्रमशः

मित्रले उखेलेर एउटा केश देवराजलाई दिइन् । देवराजको केशलाई राम्ररी हेर्नुभयो, मानाैं पूरै, ‘जेनेटिक्स’ पहिल्याउनु भयो । अर्को क्षण हामी माझ मेरो मित्रको ठ्याक्कै प्रतिकृति तयार थियो । 
तिम्रो यो ‘क्लोन’ ९५ प्रतिशत भन्दा बढी तिमी सँग एकरुपता राख्छ । ५ प्रतिशत तिमी भन्दा भिन्न होइन, तिमी मूल भन्दा कम्ति छ । हेर, यस प्रतिकृतिले कसरी काम गर्छ भनी देवराजले प्रतिकृतिलाई ‘गेष्ट हाउस’मा गएर आफ्नो ‘ब्याग प्याक’ गरी ल्याउन अह्राउनु भयो । 

हुन्छ देवराज भनी प्रकृति ‘डिटो’ जर्मन मित्रको शैलीमा उठेर पाइला सार्दै गयो । तिमीले यसबारे केही जिज्ञासा राखेनौ नि ! देवराजले मलाई लक्षित गरी भन्नु भयो । 

प्रभु रक्तबीज, रावण, भगवान कृष्णद्वारा गुरु संदीपनीका छोराको विनिर्माण देखि ‘क्लोनिंग’बारे पढेको हुनाले र आफू स्वयं देवराज समक्ष छु भन्ने भानले कुनै जिज्ञासा पनि उठेनन् र कुनै आश्चर्य पनि लागेन । 

देवराज मेरो सट्टा यही प्रतिकृतिलाई जर्मन पठाउन सकिन्न, मित्रले सोधिन ? 

अवश्य पनि, त्यो तिमी नै हौ, तिम्रो घरमा कसैले शंका सम्म गर्दैन । तर त्यस पछि तिम्रो के हुन्छ ? तिम्रा समस्त ‘आइडेन्टिटी’हरु उसँग हुन्छन्, उसकै पति, उसकै छोरा, उसकै पासपोर्ट ..... सारा पहिचान गुमाएर तिमी बाँच्न सक्छौ ? 

ओह गाड ! ऊ मूल बन्छे म पो प्रतिकृति हुन पुग्छु, ‘सो हरिबल’ ।

हामी सबै हाँस्यौं । 

प्रतिकृति ‘ब्याग’ लिएर आइपुगिन् र कुर्सीमा बस्दै भनिन्, हतारमा मैले पैसा लिएर जान बिर्सेछु, ‘काउन्टर’ मा ‘विल पेमेन्ट’ का लागी भन्यो, मैले मेरो साथीले आएर तिर्छ भनें, धन्य उसले मान्यो । हामी सबै फेरी एकपटक हास्यौं । 

हामीले पुनः ‘कफी’ मगायौं । म ‘केक’ लिएर आउँछु भनि मेरो मूल जर्मन मित्र उठेर गइन् । 

मैले प्रतिकृति मित्रसँग सोधें, जर्मनमा समय के गरी बिताउनु हुन्छ ? 

तिमीलाई थाहै छ, ‘गार्डेनिंग’मा मलाई औधी रुचि छ । छोराहरुले ‘केयर’ त गर्छन बगैंचाको, तर मैले गरे जस्तो गर्न सक्दैनन्, उनीहरुसँग त्यति समय पनि हुन्न । एक पटक ‘पोल्याण्ड’ पनि जान्छु । आफ्नो किताव पनि पूरा गर्ने प्रयत्न गर्छु । 

म भने अब आश्चर्यले भरिएँ, ‘डिटो’ मेरो मूल मित्रको जवाफ थियो, सारा जानकारी दुरुस्त थिए । मूल र प्रतिकृतिमा भेद गर्नु मेरो समस्या थियो, वास्तवमा कुनै भेद नै थिएन । 

मित्र ‘केक’ लिएर आइपुगिन्, हामी केक र कफीको स्वादमा मस्त हुन थाल्यौं । कफि पछि मैले ‘एअरपोर्ट’को समय हुन लागेका भनी जानकारी दिएँ, मूल मित्रले आफूले बोकेको ठूलो ‘लेडीज ब्याग’ बाट अर्को सानो पर्स झिक्दै त्यसमा ‘पासपोर्ट’, टिकट, कलम केही रुपैयाँ राखेर आफ्नो अर्को स्वरुपलाई दिंदै भनिन्, ‘यस भित्र एअरपोर्टमा चाहिने सबै कागजात छन् ।’

 प्रतिकृतिले देवराज तिर हेर्दै सोधिन्, ‘म, थैंक्स टु यू भनाैं यिन्लाई वा थैक्स टू मी भनौं ?’ 

तिमी दुबैजनाको हकमा दुबै ठीक हुन्, संसारका सबै नरनारीहरुका हकमा पनि दुबै ठीक हुन्, ‘थैक्सं टु मी’ झनै ठीक हो । तिम्रो ‘थैंक्स गिंभिंग’ ले जनक अष्टावक्रको प्रसंग पो ताजा गराया, देवराजले हाँस्दै भन्नुभयोे । 

प्रतिकृतिले हिंड्ने तर्खर गरिन्, देवराजलाई प्रणाम गरी विदा मागिन्, मलाई र त्यसपछि आफ्नै स्वरुपलाई आलिंगन गरी विदा भइन् । 

देवराज यो कुनै स्वप्न थियो वा ‘ब्लैक म्याजिक’, जर्मन मित्रले सोधिन् ? 

होइन नीलोत्तमा, यो त विज्ञान हो । म यो त भन्न सक्दिन कि पृथ्वीका मानिसले पनि म जस्तै यति उन्नत किसिमको ‘क्लोनिंग’ बनाउने सफलता पाउने छन किनकि यसका लागि ‘सुपरनोभा’ जतिकै ‘इनर्जी’ आवश्यक हुन्छ । प्राणीलाई त्यति प्रचुर ‘इनर्जी’ जुटाउन मानवीय हिसावमा संभव हुन्न । तर ‘क्लोनिंग’ को प्रारम्भ त पृथ्वीमा भई सकेको छ । जुन कुराको प्रारम्भ भयो त्यसको उत्तरोत्तर विकास नभई रहन सक्छ र ? 

याे पनि 

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म