अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए धोनीले सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए धोनीले सन्यास

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ३२, २०७७

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

भारतीय समाचार संस्था पीटिआईले धोनीले सन्यास लिएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन् । भारतले सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवशीय विश्वकपको उपाधि जितेको थियो ।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले व्यवसायीक क्रिकेटबारे भने कुनै निर्णय नगरेको जनाइएको छ ।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। धोनीले अन्तिमपटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए जसमा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदा धोनीले ५० रन बनाएका थिए ।

धोनीले तीन सय ५० एकदिवशीय अन्तर्राष्ट्रिय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यसबीचमा १५ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका धोनीले विकेटकिपरका रुपमा ८ सय बढीपटक ब्याट्सम्यानलाई आउट गरेका थिए ।