दुई प्रहरी निलम्बित

दुई प्रहरी निलम्बित

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ १, २०७७

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

उनीहरुले बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ । निलम्बित प्रहरीलाई सोधपुछ गर्दा  रकम लिएको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुमाथि थप छानबिन गर्न समिति गठन गरेको  जनाइएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत (प्रहरी निरीक्षक) रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी  घुस लिएपछि निलम्बनमा परेका थिए । सेवाग्राहीसंँग आर्थिक प्रलोभनमा पर्ने एक  प्रहरी निरीक्षकसहित १३ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५  प्रहरी कर्मचारी पुरस्कृत भइसकेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।