तीज र पञ्चमीकाे ब्रत : ७-८  घरमा पूजा गराउँदै हिँड्ने पण्डितबाट कोरोना नसर्ला भन्ने के छ र ?

तीज र पञ्चमीकाे ब्रत : ७-८  घरमा पूजा गराउँदै हिँड्ने पण्डितबाट कोरोना नसर्ला भन्ने के छ र ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  भदौ २, २०७७

गत सालको तुलनामा यस पटक तीजको रमझम कम देखिएको छ । होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा जम्मा भएर दर खाने कार्यक्रमहरू एकदमै कम भए । कत्तिले गत वर्षको तीजमा खिचिएका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरेर मन बुझाइरहेका छन् । कोभिड-१९ समुदायमै देखिइसकेकोले मानिसका मनमा डरको त्रास छदै छ । त्यसैले बाँचिएछ भने अर्को साल मनाइएला तीज भनेर चित्त बुझाउनेको सङ्ख्या धेरै छ । हुन पनि आफू रहयो भने र बाँचियो भने त मनले चाहेका अरु धेरै कुराहरू गर्न सक्छौँ । आफू नै नरहे त सबै सक्किगो नि !  

 गठेमङ्गल सुरु भएदेखि नै नेपालीहरूको चाडपर्व सुरु हुन्छ । अझ काठमाण्डौं उपत्यकाको कुरा गर्ने हो भने त यहाँ चाडपर्वसँगै जात्रा पनि धेरै हुने गरेको छ । कोरोना त्रासका कारण जात्रा नमनाए पनि हामीले मनाउने चाडपर्वहरू नमनाई बस्न  नसकिरहेको अवस्था छ ।  अब यदि कोभिड–१९ बाट बच्ने हो भने घरमै भेला हुँदा पनि ठुलो जमातमा भेटघाट नगर्नु नै राम्रो हुने देखिएको छ । 

तीज पछि पञ्चमी । पञ्चमीमा  सप्तक्रषिहरुको पूजा आज गर्ने चलन छ । सप्तक्रषिहरुको पूजा गर्ने चलन भएको हुँदा क्रृषिहरुको प्रतिमा स्थापना गरिएका ठाउँहरूमा भीड लाग्ने गर्छ । पञ्चमीका दिन पनि महिलाहरू सामूहिक पूजा गर्छन् । यसपालिको तीज र पञ्चमीमा महिलाहरू घरमै बसेर पूजा आज गर्दा राम्रो हुन्छ । बाँचियो भने अर्को साल मन्दिरमा गएर पूजा गरे भइहाल्यो नि !  यसै गरी यसपालिको तीजमा महिलाहरू  छमछमी नाच्न पनि पाएनन् । के भयो त ? यसमा चित्त दुखाउनु पर्ने कारण नै छैन ।

हिन्दु महिलाहरूको महान् चाड यस तीजमा पनि यदि स्थिति सामान्य हुँदो हो त एक महिना अगाडि देखि नै दर खाने र खुवाउने कार्यक्रममा हुने गर्थे । घरको चुला चौको छाडेर बाहिर निस्कन नपाउने महिलाहरूका लागि तीजको दर खाने कार्यक्रमले एकै छिनको लागि भए पनि घरको संसार भुलेर बाहिरी संसारमा रमाउने मौका मिल्थ्यो । अहिले यो मौका कोभिड–१९ ले गर्दा दिएको छैन । अहिलेको अवस्थामा रमाइलो गर्नु भन्दा सबभन्दा ठुलो कुरा ज्यान जोगाउनु महत्त्वको विषय बनेको  छ । 

कतिपयले सामाजिक सञ्जालमा पोस्ट पनि गरेका छन्, म तपाईँको घरमा आउँदिन तपाई पनि मेरो घरमा आउने कष्ट नगर्नु होला । पाहुनालाई मनदेखि स्वागत र आदर गर्ने हाम्रो परम्परा, अहिले आएर मेरो घरमा नआउनुस् भन्न हामीलाई कोभिड–१९ ले बाध्य पारिरहेको छ । कोही घरमा आउँछु भन्यो भने कतै कोरोना भाइरस पो आउने हो कि ! भन्ने डर हाम्रो मनमा पसेको छ । कत्तिले त घरको कम्पाउन्डलाई नै मिटिङ रुम बनाउन थाली सकेको देखिन्छ । यो सब कोरोनाबाट नै बच्नको लाग गरिएको न हो । 

तीजमा धेरैले पण्डित बोलाएर घरमा तीजको पूजा आज  गर्ने चलन रहेको छ ।  एकनाले पण्डितले कम्तीमा  ६-७ जनाको घरमा पुग्नु पर्ने बाध्यता छ ।  कत्ति पण्डित त एकनाले नै १०-१२ ठाउँ नै भ्याउने चलन छ । सामूहिक पूजा गर्दा  १२-१५ जनाको भीड पनि हुने गर्छ । पञ्चमीमा पनि माइत आएका सबै चेली जम्मा भएर सामूहिक पूजा गर्ने चलन छ । जो महिला कोभिड–१९ को प्रभाव नपरोस् भन्ने मामलामा सचेत छन्  ती महिलाहरू तीजको व्रतमा पण्डित बोलाएर पूजा गर्ने कि नगर्ने भन्ने द्धिवधामा रहेको पाउँछौ । 

 सामाजिक दुरी कायम गर्नु, भिडभाडमा नजानु अनि मास्क प्रयोग नै कोरानाबाट बच्ने उपाय हो भन्ने जान्दाजान्दै यसलाई नजर अन्दाज गरेर सामूहिक पूजा र सामाजिक दुरी कायम नगरी पूजा आजामा सामेल हुँदा कसरी कोरोनाबाट बच्न सकिएला र ? फेरी ७-८ जनाको घरमा पूजा गराउँदै हिँड्ने पण्डितबाट नै कोरोना नसर्ला भन्ने के छ र ? आफ्नो मान्छे, चिनेको मान्छे, आफ्नै अफिसको मान्छे, अनि आफ्नै घरपरिवारको मान्छे भन्दैमा कोरोना नर्सर्ने र नहुने पनि होइन । त्यसैले यस्तो जटिल अवस्थामा घरमै बसेर आफै भगवान्को पूजाआजा गर्नु राम्रो हुन्छ । आफैँ पूजा आज गर्दा, पण्डितलाई बोलाएर किन पूजा गरिनस् भन्दै भगवान् रिसाउँदैनन् है । शुद्ध मनले भगवान् सम्झिनु पर्छ, भगवान् आफैँ प्रसन्न हुन्छन् । 

तीज पछि पञ्चमी । पञ्चमीमा  सप्तक्रषिहरुको पूजा आज गर्ने चलन छ । सप्तक्रषिहरुको पूजा गर्ने चलन भएको हुँदा क्रृषिहरुको प्रतिमा स्थापना गरिएका ठाउँहरूमा भीड लाग्ने गर्छ । पञ्चमीका दिन पनि महिलाहरू सामूहिक पूजा गर्छन् । यसपालिको तीज र पञ्चमीमा महिलाहरू घरमै बसेर पूजा आज गर्दा राम्रो हुन्छ । बाँचियो भने अर्को साल मन्दिरमा गएर पूजा गरे भइहाल्यो नि !  यसै गरी यसपालिको तीजमा महिलाहरू  छमछमी नाच्न पनि पाएनन् । के भयो त ? यसमा चित्त दुखाउनु पर्ने कारण नै छैन । घरमै घरका सदस्यहरू मिलेर नाच्यो भने यत्तिकै तर्सिएर भाग्ने गर्दछ । मन्दिरमा गएर नाचगान नगर्नु नै उत्तम हुनेछ । यदि कोभिड–१९ बाट बच्ने हो भने लगातार आइरहेको चाडपर्व घरमै बसेर मनाउनु बाहेक हामीसँग अर्को विकल्प पनि छैन । बैलैमै सचेत होऔँ । त्यसैले घरघरमै मनाउ है यस पालीको तीज ।