आइपिएलमा सुरेश रैनाको कीर्तिमान, पाँच हजार रन बनाउने पहिलो खेलाडी

आइपिएलमा सुरेश रैनाको कीर्तिमान, पाँच हजार रन बनाउने पहिलो खेलाडी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १०, २०७५

काठमाडौं । चेन्नई सुपर किंग्सका सुरेश रैना इन्डियन प्रिमियर लिग (आइपिएल)मा पाँच हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । 

उनले शनिबार रोयल च्यालेन्जर्स बेंग्लौरविरुद्धको खेलमा आफ्नो पाँच हजार रन पूरा गरेका हुन् । उक्त खेलमा उनले १९ रन बनाएका थिए । यससँगै उनले  आइपिएलमा पाँच हजार चार रन बनाइसकेका छन् । आइपिएलमा उनको औसत ३४.७१ छ । 

आइपिएलमा सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा बेंग्लौरका कप्तान विराट कोइली छन् । विराटले १६४ म्याचमा चार हजार ९ सय ५४ रन बनाएका छन् । शनिबार चेन्नईविरुद्धको खेलमा उनी ६ रनमा आउट भएका थिए । आइपिएलको ११ औं संस्करणसम्म उनले १६३ म्याचमा चार हजार ९ सय ४८ रन बनाएका थिए । 
यस्तै, सर्वाधिक रन बनाउनेको तेस्रो स्थानमा मुम्बईका कप्तान रोहित शर्मा छन् । उनले अहिलेसम्म १७३ म्याचमा ४४९३ रन बनाएका छन् । उनलाई पाँच हजार रन बनाउन पाँच सय सात रन आवश्यक छ ।