आइपिएल उद्घाटनको सर्वाधिक झुर खेल, हरभजनको बलिङमा बेंग्लौर पराजित

आइपिएल उद्घाटनको सर्वाधिक झुर खेल, हरभजनको बलिङमा बेंग्लौर पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र १०, २०७५

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

शनिबार राति सम्पन्न उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंग्लौरलाई सात विकेटले पराजित गरेको हो । \

टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लौर १७.१ ओभरमै ७० रनमा अलआउट भयो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान पार्थिव पटेलले सर्वाधिक २९ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान विराट कोहली ६ तथा एबी डिभिलियर्स ९ रनमा आउट भएपछि बेंग्लौरको इनिङ ध्वस्त भएको थियो । 

बेंग्लौरलाई सस्तो योगफलमा समेट्न म्यान अफ दि म्याच हरभजन सिंहले महत्वपूर्ण तीन विकेट लिएका थिए । उनले बेंग्लौरका खम्बा मानिएका ब्याट्सम्यान विराट कोहली, एबी डिभिलियर्स र मोइन अलीको विकेट लिएका थिए । यसपछि बेंग्लौरको इनिङ धरमराएको थियो । 

बेंग्लौरको मध्य तथा तल्लो क्रम इमरान ताहिरले ध्वस्त पारे । दसौं ओभरमा बलिङ गर्न आएका ताहिरले पनि तीन विकेट लिएका थिए । 

यसपछि ब्याटिङ गर्न आएको चेन्नईले १७.४ ओभरमै तीन विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन जोडेका थिए । यस्तै, सुरेश रैनाले १९ रन जोडेका थिए । बेंग्लौरका युजवेन्द्र चहल, मोइन अली र मोहम्मद सिराजले समान एक विकेट लिएका थिए । 

खेलमा धोनीले उत्कृष्ट कप्तानी प्रदर्शन गरे । उनले प्रारम्भिक बलर दीपक चहर र हरभजन दुवैको चार–चार ओभर पहिलो स्पेलमा पूरा गराए । दीपकको पहिलो ओभरमा बलले स्विङ नगरे पनि हरभजनले आफ्नो पहिलो ओभरबाट बललाई मजाले स्विङ गराएका थिए । उनले आफ्नो दोस्रो ओभरमा विराटको विकेट लिएका थिए । यसैगरी आफ्नो तेस्रो ओभरमा उनले मोइन अली र चौथो ओभरमा एबी डिभिलियर्सलाई आउट गरेका थिए । 

बेंग्लौरले पहिले ब्याटिङ गर्दै बनाएको यो दोस्रो सर्वाधिक कम स्कोर हो । यसअघि उसले २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ४९ रनमै सीमित भएको थियो ।  

याे पनि 

आइपिएलमा सुरेश रैनाको कीर्तिमान, पाँच हजार रन बनाउने पहिलो खेलाडी