प्रदेश एकमा रहेका  प्रचलित लोपोन्मुख लोकबाजासम्बन्धी  संरक्षण,  संवर्धन र प्रवर्धन  गरिने

प्रदेश एकमा रहेका  प्रचलित लोपोन्मुख लोकबाजासम्बन्धी  संरक्षण,  संवर्धन र प्रवर्धन  गरिने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ५, २०७७

काठमाडौँ । विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश एकमा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजाहरूसम्बन्धी अध्ययन–अनुसन्धान गरिने भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यस्तो अध्ययन–अनुसन्धान गर्ने भएको हो । मानव सृष्टिको आरम्भदेखि नै मानिसले आविष्कार गरेर चाडपर्व, मेला, जात्रा आदिमा मनोरञ्जनका माध्यमका रूपमा प्रयोग गर्दै आएका टुङ्ना, मादल, सारङ्गी,  डम्फू, खैँजडी, सहनाई, दमाहा, ट्याम्को, बाँसुरी, ढोल, च्याबु्रङ, सहनाई, झ्याली, ढोलकी, नरसिङ्गा, कर्नाल, मुरली, मुर्चुङ्गा, बिनायो जस्ता मौलिक र परम्परागत मौलिक नेपाली लोकबाजाहरूको समाजमा विशिष्ट स्थान र पहिचान रहेकाले तिनको संरक्षण,  संवर्धन र प्रवर्धन  गर्ने उद्देश्यले प्रतिष्ठानको सङ्गीत विभागको संयोजनमा अध्ययन–अनुसन्धान गर्ने निर्णय गरिएको विभागीय प्रमुख प्राज्ञ अशोक राईले  जानकारी दिनु भएकाे छ । 

प्राज्ञ राईले भन्नु भयाे– 'परम्परागत मौलिक लोकबाजाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि दीर्घकालीन योजना बनाएर युवा पुस्तालाई तिनका बारेमा सचेतना जगाउनु र आर्यआर्जनसँग त्यसलाई जोड्नु आजको आवश्यकता हो । यो अध्ययन–अनुसन्धानको उद्देश्य पनि त्यही नै रहेको छ ।' प्राज्ञ राईका अनुसार अनुसन्धानमा बाजाहरूको इतिहास, परिचय, ऐतिहासिक तथा सांंस्कृतिक पक्ष, बाजा प्रयोग गर्ने जाति, समुदाय र बाजाहरू पाइने क्षेत्रलाई समेटिने छ ।