प्रकाशोन्मुख लघुकथा माथिको विश्लेषण : शेखरकुमार श्रेष्ठ र 'बुबाको खुसी'

प्रकाशोन्मुख लघुकथा माथिको विश्लेषण : शेखरकुमार श्रेष्ठ र 'बुबाको खुसी'

शेखर अर्याल  |  साहित्य  |  भदौ ५, २०७७

विषय प्रवेश

शेखरकुमार श्रेष्ठ नेपाली साहित्यका एक मूर्धन्य सर्जक हुनुहुन्छ । उहाँ सफल समालोचक, कवि, निबन्धकार, बालकथाकार, बाल कवि, अनुसन्धान धाताका साथै वर्तमान जल्दा बल्दा लघुकथाकार मानिनु हुन्छ । २०३१ साल माघ २९ गते पिता नारायणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका ज्येष्ठ पुत्रका रूपमा काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ३ सोखले (साबिक सेतीदेवी गा.वि.स वडा नं ४) सोखेलमा उहाँको जन्म भएको हो ।

सर्वप्रथम २०६० सालमा सगरपुर कथा सङ्ग्रह प्रकाशन गरी साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएका श्रेष्ठले कथा, कविता, निबन्ध, समालोचना, एकाङ्की विधामा कलम चलाए पनि उहाँको मुख्य रुचिको विधा लघुकथा रहेको देखिन्छ । लघुकथाका क्षेत्रमा श्रेष्ठ बढी सिद्धहस्त देखिनुहुन्छ । हालसम्म उहाँका सगरपुर कथा सङ्ग्रह (२०६०), भाषा विज्ञानका प्रमुख सिद्धान्त (२०६१, सह लेखन), हाम्रो नेपाली व्याकरण (२०६२, सह लेखन), नेपाली आख्यान र नाटक (२०६७, सह लेखन), नेपाली कथा र उपन्यास (२०६८, सह लेखन), हाम्रो निबन्ध माला (२०६९, सह लेखन), हाम्रो निम्न माध्यमिक निबन्ध माला (२०६९, सह लेखन), सिद्धिचरणका खण्डकाव्यमा क्रान्ति चेत (२०६९), पूर्णिमाको राति बाल कविता सङ्ग्रह (२०६९), सेतो हिमाल मुन्तिर बाल कविता सङ्ग्रह (२०७६), कमिलाको जन्ती बालकथा सङ्ग्रह (२०७६) लगायत विभिन्न पत्रपत्रिकामा समालोचनात्मक लेख रचना प्रकाशित भएका छन् ।  ‘बुबाको खुसी’ उनको प्रकाशोन्मुख लघुकथा हो । यस कथालाई विभिन्न कोणबाट अध्ययन गरिएको छ ।
कथावस्तु
'बुबाको खुसी' लघुकथाको विषयवस्तु सामाजिक शैक्षिक तथा मनोवैज्ञानिक विषयमा अन्तर घुलन भएको छ । कथाको विषय शैक्षिक तथा मनोविज्ञानमा आधारित रही बडो गहन ढङ्गले प्रस्तुत गरिएको छ । 

अफिसबाट फर्कने बित्तिकै छोरी रमाले आफ्ना बुबालाई ढोकामा रोक्दै जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएर नगद एक हजार र प्रमाणपत्र प्राप्त गरेको प्रसङ्गबाट कथा आरम्भ भएको छ । रमा प्रसन्न भएर बुबासँग प्रमाणपत्र र नगद देखाउँदा आलस्य स्वरमा जाऊ आफ्नो कोठामा राख भन्ने मनोविज्ञानले रमा निराश भएकी छन् । रमाकी आमाले छोरीको खुसीमा हौसला दिनुपर्छ भन्दै रमाकान्तले छोरी दोस्रो हुँदा लड्डु बाँडेको प्रसङ्ग ल्याएकी छन् । कविता आमाको हुनाले आफ्नै मिहिनेत नभएकाले स्याबासी नदिएको कुराले रमाकी आमाले अबदेखि म छोरीलाई आफै सिक्न उत्प्रेरित गर्छु भन्ने प्रतिबद्धता जनाएकी छन् । नगर स्तरीय प्रतियोगितामा दोस्रो भई प्रमाणपत्र र आठ सय नगद ल्याउँदा ठिकै छ हरेसचाहिँ नखाऊ, मिहिनेत गर भन्ने बुबाको बोलीले रमामा खुसी र उत्साह बढेको छ ।  हप्ता दिनपछि विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको दौडमा भाग लिएकी रमाले जित्न सकेकी छैनन् । सहभागिताको प्रमाणपत्र देखाएकी रमालाई बुबाले स्याबासी दिएका छन् । सहभागी प्रमाणपत्र आफ्नो कोठामा राख्न भन्दै पुरस्कार स्वरूप लड्डु दिन्छु भन्दा रमाले अचम्म मानेकी छन् । बुबाको यो खुसी किन ? भन्ने जबाफमा जित्ने तरिका सिक्यौ ? भन्ने बुबाको कथनले रमाको मनोविज्ञानमा प्रतिस्पर्धी र सकारात्मक सोच सिर्जना भई कथा अन्त्य भएको छ ।

कथामा बालबालिकाको मनोविज्ञान सिकाइबाट कसरी प्रभावित हुन्छ भन्ने कुरालाई गहन ढङ्गले प्रस्तुत गरिएको छ । कथाकारले छोरी प्रथम हुँदा कारण नखोली बुबा खुसी नभएको देखाउनु अस्वाभाविक देखिए पनि प्रमाणपत्र कोठामा राख भन्ने कुराले सही मोडमा ल्याएको छ । दोस्रो हुँदा ठिकै ठान्ने कारण रमाको आफ्नै मिहिनेत हो । असफल हुँदा सफलताको सिँढी बनाउने ज्ञान प्रदान गरिएकाले विद्यालय स्तरीय मनोभावलाई कथाको मूल विषय बनाइएको छ । सही र तथ्य ज्ञानले बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन हुन्छ भने गलत तथा प्रेरणाविहीन ज्ञानले नकारात्मक प्रभाव पार्छ भन्ने कुरालाई बडो मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

पात्र र चरित्र

'बुबाको खुसी' लघुकथामा प्रमुख, सहायक र गौण गरी जम्मा पाँच पात्र रहेका छन् । कथामा सलबलाउने प्रमुख पात्र रमा हुन् । उनको चरित्र अध्ययन गर्ने, अतिरिक्त क्रियाकलापमा भाग लिने, प्रतिस्पर्धा गर्ने चरित्र रहेको छ । आफ्नो खुसी बाँड्न बुबा आमासँग आउने, स्याबासी र प्रशंसा नपाउँदा निराश हुने अनि स्याबासी र तथ्य कुरा बुझ्दा हर्षित हुने चरित्र रमामा रहेको छ । कारण खोज्न सक्ने, तर्क गर्ने अनि बुबाको प्रेरणामूलक प्रतिक्रियाले मन परिवर्तन गराउने  चरित्र उनमा देखिन्छ । 

बुबाको चरित्र एक प्रेरणामूलक सन्देश दिने खालको छ । जित्नु र हार्नु भन्दा पनि तरिका वा उपाय सिक्दा त्यो सधैँका लागि हुने ज्ञान प्रदान गर्ने सहायक पात्र हुन् । कथामा रमाकी आमा, रमाकान्त र रमाकान्तकी छोरी गौण पात्रका रूपमा आएका छन् । कथामा पात्र चयन उपयुक्त ढङ्गले गरिएको छ । पात्र ज्यूँदा र जल्दा बल्दा छन् । यी पात्र आफ्नै समाज, विद्यालय, घरपरिवारका हुन् । पात्रले कथावस्तुलाई गति प्रदान गर्नुका साथै कथावस्तुलाई सही बाटोमा हिँडाइ  कथाको उद्देश्य प्राप्तितर्फ लगेका छन् । 

शिक्षामा सकारात्मक मनोविज्ञान, प्रतिस्पर्धा, हौसला, प्रेरणा र उत्साहले सकारात्मक प्रभाव पार्दछ । सही कुरालाई तथ्यपरक तरिकाले देखाउन सके छोराछोरी वा विद्यार्थीमा सकारात्मक मनोभाव पैदा भई हौसला प्रदान गराउन सकिन्छ भन्ने कुरा देखाउनु लघुकथाको उद्देश्य हो । असफलता नै सफलताको चिन्ह हो, असफलताबाटै सही प्रेरणा मिल्छ जसले प्रतिस्पर्धी भाव जागृत गराई टिकाउ ज्ञान प्रदान गर्छ भन्ने भाव देखाउनु पनि कथाको उद्देश्य हो ।

परिवेश

यस लघुकथाको परिवेश मूलतः नेपाली समाजको शैक्षिक क्षेत्रमा आधारित छ । विशेष गरी स्थानगत परिवेशमा जिल्ला, नगर, विद्यालय अनि घरपरिवार रहेको छ । समयगत परिवेशलाई हेर्दा कथा मूलतः लगभग चालिस दिनको सेरोफेरोमा समेटिएको छ । एक महिनापछि भएको नगर नृत्य प्रतियोगिता, एक हप्तापछि भएको दौड प्रतियोगिता अनि अगाडि भएको जिल्ला स्तरीय कविता प्रतियोगिताले यसलाई सङ्केत गरेको छ । कथामा प्रयोग गरिएको छिटोछरितो परिवेश र भाषा शैलीले शैक्षिक तथा मनोवैज्ञानिक परिवेशलाई इङ्गित गरेको छ ।

भाषा शैली
 ‘बुबाको खुसी' लघुकथा रैखिक ढाँचामा आबद्ध छ । यसको भाषा शैली सरल, सहज र स्वाभाविक छ । एघार अनुच्छेद दुई सय तेइस शब्दमा संरचित यस कथामा शैक्षिक  सिकाइको ज्ञान प्रदान भएको छ । तत्सम, तद्भव र आगन्तुक शब्दका साथै उचित चिन्ह प्रयोगले कथा जिज्ञासु बनेको छ । बुबाको भनाइ किनकि 'यसपालि तिमीले जित्ने तरिका सिक्यौ'ले शैक्षिक सिकाइमा मनोविज्ञानको सटिक प्रस्तुति भएको छ । छोटो संवाद शैली अँगालिएको यस लघुकथाको भाषा शैली छिटोछरितो सरल सहज र स्वाभाविक छ ।

संवाद

यस लघुकथाको संवाद छिटोछरितो छ । पात्रबिच भएको संवाद स्तरीय छ । बुबा र छोरीबिचको संवादमा बढी शैक्षिक, ज्ञानमूलक र सन्देश रहेको छ । यिनका संवादमा प्रेरणा, हौसला, निराशा र उत्साह देखिन्छ । बुबा र आमाबिच भएको संवाद सटिक र सचेतता प्रदान गर्ने खालको छ । संवादका वाक्य गठन छोटा अनि छरिता छन् । यसरी संवादात्मक शैलीका आधारमा हेर्दा कथा सफल छ । 

उद्देश्य

यस लघुकथाको उद्देश्य बाल मनोविज्ञानमा सिकाइले पार्ने प्रभाव कस्तो हुन्छ भन्ने कुरा देखाउनु हो । जिल्ला, नगर, विद्यालय स्तरीय विविध प्रतियोगितालाई कुशल तरिकाले देखाउन सक्नु पनि कथाको मुख्य उद्देश्य हो । शिक्षामा सकारात्मक मनोविज्ञान, प्रतिस्पर्धा, हौसला, प्रेरणा र उत्साहले सकारात्मक प्रभाव पार्दछ । सही कुरालाई तथ्यपरक तरिकाले देखाउन सके छोराछोरी वा विद्यार्थीमा सकारात्मक मनोभाव पैदा भई हौसला प्रदान गराउन सकिन्छ भन्ने कुरा देखाउनु लघुकथाको उद्देश्य हो । असफलता नै सफलताको चिन्ह हो, असफलताबाटै सही प्रेरणा मिल्छ जसले प्रतिस्पर्धी भाव जागृत गराई टिकाउ ज्ञान प्रदान गर्छ भन्ने भाव देखाउनु पनि कथाको उद्देश्य हो । यसरी उद्देश्य प्राप्तिका हिसाबले हेर्दा यो लघुकथा सार्थक छ ।

दृष्टि विन्दु

यस लघुकथामा तृतीय पुरुषीय दृष्टिविन्दुको प्रयोग गरिएको छ । प्रथम पुरुषीय पात्रको प्रयोग गरिएको छैन । तृतीय पुरुषीय पात्र रमा, बुबा, आमा, रमाकान्तको प्रयोग गरिएकाले यस कथाको दृष्टि विन्दु बाह्य सीमित दृष्टि विन्दु रहेको छ । कथाको आदिदेखि अन्त्यसम्म रमाकै आधिक्यता रहेकाले सर्वाधिक महत्त्वपूर्ण पात्रका रूपमा रहेको देखिन्छ ।

निष्कर्ष

लघुकथाकार शेखरकुमार श्रेष्ठले ‘बुबाको खुसी’ लघुकथामार्फत आजको शैक्षिक अवस्था, सिकाइको प्रभाव र त्यसबाट पार्ने मनोविज्ञानलाई सटिक ढङ्गले प्रस्तुत गरेका छन् । लघुकथा छोटो, शिक्षामूलक, सन्देशात्मक, सिकाइमा आधारित भई मार्मिक बनेको छ । यथार्थपरक ढङ्गबाट समेटेर लेखिएको यस लघुकथाले सिकाइ मनोविज्ञानको वास्तविकता देखाएको छ । लघुकथाले विद्यार्थी जीवनको प्रत्यक्ष प्रस्तुति, शैक्षिक सुधारको सन्देश, उत्साह, प्रेरणा र हौसलाले सकारात्मक तथा प्रतिस्पर्धी सिकाइलाई गहन ढङ्गले प्रस्तुत गरेको छ ।