क्रिकेट खेलाडीको कोरोना बीमा गरिने

क्रिकेट खेलाडीको कोरोना बीमा गरिने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ५, २०७७

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । 

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । 'अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ', उहाँले भन्नुभयो, 'हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।' सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बीमा गर्ने क्यानको योजना छ । 

अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । 'सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुन्छ', प्याकुरेलले भन्नुभयो । क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ ।